रास्वपाको नीतिः राष्ट्र बैंक, सेबोन र बीमा प्राधिकरण सहितका सबै नियामक निकायलाई शक्तिशाली बनाइने

२०८३ असार १०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको अर्थतन्त्रलाई पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाउन सबै नियामक निकायलाई थप बलियो, स्वायत्त र व्यावसायिक बनाउने नीति सार्वजनिक गरेको छ।

चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावनामा बलियो नियामक निकाय बिना स्वस्थ बजार अर्थतन्त्र सम्भव नहुने उल्लेख गरिएको छ।

रास्वपाले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणलाई राजनीतिक प्रभावबाट मुक्त गरी पूर्ण रूपमा व्यावसायिक र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। साथै नागरिक उड्डयन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, विद्युत नियमन आयोग, नगर विकास प्राधिकरण र सहकारी प्राधिकरणलाई पनि थप स्वायत्त र प्रभावकारी बनाइने बताइएको छ।

प्रस्तावनाअनुसार कमजोर नियामक निकायका कारण बजारमा कार्टेलिङ, एकाधिकार र बिचौलियाको प्रभाव बढ्ने भएकाले त्यस्ता विकृति नियन्त्रण गर्न नियामक संस्थाहरूलाई सशक्त बनाउनु आवश्यक छ।

रास्वपाले वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर विभाग, वैदेशिक रोजगार विभाग र यातायात व्यवस्था विभागलाई पनि थप जिम्मेवार र प्रभावकारी बनाउने जनाएको छ। बजार अनुगमन र उपभोक्ता संरक्षणका कामलाई समेत मजबुत बनाइने उल्लेख गरिएको छ।

पार्टीले उदार अर्थतन्त्र भनेको छाडा अर्थतन्त्र नभएको स्पष्ट गर्दै निजी सम्पत्तिको सुरक्षा, उपभोक्ता हितको संरक्षण, वातावरणीय जिम्मेवारी र एकाधिकार नियन्त्रणमा राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताएको छ।

रास्वपाका अनुसार बलिया र निष्पक्ष नियामक निकायले लगानीमैत्री वातावरण सिर्जना गर्नुका साथै उपभोक्तालाई ठगी, कृत्रिम मूल्यवृद्धि र कार्टेलिङबाट जोगाउन मद्दत गर्नेछन्। पार्टीले पहुँच र विशेषाधिकारमा आधारित अर्थतन्त्रबाट प्रतिस्पर्धा, नवप्रवर्तन र उत्पादनमुखी अर्थतन्त्रतर्फ देशलाई लैजाने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: