काठमाडौं । चार अर्ब रुपैयाँभन्दा बढीको बीमा घोटाला प्रकरणमा बीमा क्षेत्रका करिब ४० जना उच्च पदाधिकारीविरुद्ध मुद्दा दर्ता हुने तयारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सम्पन्न गरी आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएसँगै मुद्दा दर्ता प्रक्रिया अगाडि बढेको हो।
सीआईबीले हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित उक्त प्रकरणमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, व्यवसायी दीपक भट्टलगायत व्यक्तिविरुद्ध अभियोग दर्ता गर्न सिफारिस गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरिरहेको छ र यसै साता जिल्ला अदालत काठमाडौंमा बीमा कसुरसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
अनुसन्धान प्रतिवेदनमा हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, जावलाखेल डिस्टिलरीका सञ्चालक राजबहादुर शाह, तत्कालीन सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला, मनीष कुमार तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई प्रतिवादी बनाइनुपर्ने राय दिइएको छ। व्यवसायी ऋषिराज मोरलाई समेत प्रतिवादी कायम गर्नुपर्ने उल्लेख गरिएको छ।
सीआईबीको अनुसन्धान प्रतिवेदनमा ४० जनाभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको बताइएको छ। यद्यपि अनुसन्धानमा नाम जोडिएका अधिकांश व्यक्तिले आफूहरूलाई यस विषयमा अनुसन्धानका क्रममा मात्र जानकारी प्राप्त भएको दाबी गर्दै आएका छन्।
अर्बौं रुपैयाँको वित्तीय अनियमिततासँग जोडिएको भनिएको यो प्रकरण अब अदालत प्रवेश गर्ने चरणमा पुगेको छ। सरकारी वकिल कार्यालयले अन्तिम कानुनी अध्ययनपछि अभियोगपत्र दर्ता गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: