प्रधानमन्त्री बालेनलाई भनसुन म्यासेज लेख्दा सचिव पुस्कर पक्राउ ।

२०८३ जेष्ठ २२

 

काठमाडौं । सुशासन र पारदर्शीतामा दृढ बालेन्द्र शाहले आफूलाई राजदूत बनाईपाउँ भन्दै अनावश्यक रुपमा प्रधानमन्त्रीलाई म्यासेज गरेपछि आफ्नै सचिवलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिनु परेको छ ।

हिजो उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुस्करले बालेन्द्र शाहलाई राजदूतमा आवेदन दिएकोले मिलाएर राजदूत बनाईपाउँ भन्दै मोबाइलमार्फत एसएमएस गरेका थिए ।

आगामी असार २४ गतेबाट अनिवार्य अवकासमा जान लागेको सचिव कृष्णहरि पुस्कर हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका छन् । सचिव पुस्करले हिजो अपरान्ह उपराष्ट्रपति कार्यालयमै बसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरवारमा रहेका बालेन्द्र शाहको मोबाइलमा म्यासेज पठाएका थिए । सचिव पुस्करले आफूले राजदुतका लागि आवेदन दिएको र यही असार २४ गतेबाट अवकासमा जाने हुँदा राजदूत बनाईपाउँ भन्दै बिन्ति बिसाएका थिए ।

पुस्करले मुख्य सचिव सुमनराज अर्यालसँग सल्लाह गरेरै राजदूतमा आवेदन दिएका थिए । मुख्य सचिवसँग सल्लाह गरिसकेका सचिव पुस्करले अब प्रधानमन्त्रीलाई प्रभावित पार्न सकेमा आफू राजदूत बन्ने पक्कापक्की जस्तै बनाएर बालेन्द्र शाहलाई मोबाइलमार्फत म्यासेज गरेका थिए ।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले घटनालाई त्यसरी हेरेन । सचिव पदमा कार्यरत रहेको व्यक्तिले जिल्लाबासी वा विभिन्न बाहनामा प्रधानमन्त्रीलाई नै प्रभावित बनाएर राजदूत पद हत्याउन खोजेको रुपमा ग्रहण गर्यो ।

यसअघि कांग्रेस, एमाले, माओवादीकै पालामा जस्तो एकथान राजदूतका लागि प्रधानमन्त्रीको मोबाइल म्यासेज गरेर ‘भनसुन’ प्रथा सुरु गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सचिवले प्रधानमन्त्रीलाई प्रभावित पार्न खोजेको रुपमा बुझेपछि कारवाही प्रक्रिया अघि बढाउन उपत्यका अपराध अनुसन्धान विभागलाई निर्देशन दिएको बुझिएको छ ।

प्रधानमन्त्री कार्यालयबाट स्क्रीनसटसहितको निर्देशन प्राप्त भएपछि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको थियो । यद्यपि हिजै राति १० बजेतिर रिहा गरिदिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले विवादित पृष्ठभूमि र नीतिगत भ्रष्टाचारमा छानविनमा पर्नुपर्ने सचिवले राजदूतमा नियुक्ती माग गर्दै म्यासेज पठाएको बिषयमा तत्काल कारवाही नगरेमा भविष्यमा समेत असर पर्नसक्ने तथ्य बुझेरै प्रहरीलाई पक्राउ गरी छानविन गर्न निर्देशन दिएको हो ।
पुस्कर अर्थमन्त्रालय र श्रम मन्त्रालयमा हुँदा गरेका कैयौं कार्यहरु विवादित र नीतिगत भ्रष्टाचारमा छानविन हुनुपर्ने खालका छन् ।

लोकसेवा आयोगबाट प्रतिस्पर्धामार्फत निजामति सेवामा प्रवेश गरी सचिव समेत भइसकेका व्यक्तिले पदीय आचरण, निजामतिको सेवाको आचरण विपरित प्रधानमन्त्रीलाई नै प्रभावमा पारेर राजदूत बन्न खोजेपछि प्रहरी लगाएर पक्राउ गर्नुपर्ने अवस्था आउनु सिंगो निजामति कर्मचारीहरुका लागि दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएको छ । हिजोको सो घटनाले नेपालका शासक र कर्मचारीतन्त्र बीचको दुरी अब झनै गम्भिर रुपमा टाढा हुने देखिन आएको छ ।

प्रतिक्रिया दिनुहोस्: