काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गएराति प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच लामो र गोप्य छलफल भएको छ । स्रोतका अनुसार साँझ करिब ६ बजे सुरु भएको बैठक राति १० बजेसम्म चलेको थियो ।
उच्च राजनीतिक स्रोतका अनुसार पछिल्ला राजनीतिक घटनाक्रम, सरकारप्रति बढ्दो आलोचना तथा संसदमा देखिएको असहज अवस्थाका विषयमा बैठकमा गम्भीर छलफल भएको बताइएको छ । बैठक कसको पहलमा बसेको हो भन्ने विषय खुलाइएको छैन ।
सामान्यतया सीमित भेटघाट मात्रै गर्ने प्रधानमन्त्री बालेन्द्र शाहले रातिसम्म शीर्ष नेतासँग गरेको छलफललाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । सरकार गठन भएको छोटो समयमै विभिन्न निर्णयलाई लिएर सरकार चौतर्फी दबाबमा परेको बेला उक्त भेटवार्ता भएको हो ।
विशेषगरी सुकुम्बासी बस्ती हटाउने क्रममा भएको विवाद र त्यससँग जोडिएका घटनाले सरकारको आलोचना बढिरहेका बेला रास्वपाले समेत राजनीतिक दबाब महसुस गरिरहेको चर्चा छ । त्यसै सन्दर्भमा सभापति लामिछानेले पार्टीले भोगिरहेको राजनीतिक असरबारे प्रधानमन्त्रीसमक्ष स्पष्ट धारणा राखेको अनुमान गरिएको छ ।
स्रोतका अनुसार बैठकमा सभापति लामिछानेको प्रस्तावित भारत भ्रमण, संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलले गरिरहेको विरोधलगायत समसामयिक राजनीतिक विषयमा पनि सामान्य छलफल भएको थियो । यद्यपि बैठकका आधिकारिक एजेण्डा र निष्कर्ष सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्: