काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले यस वर्षको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । जेठ १५ गते आयोजना हुने समारोहमा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिबाट सम्बोधन गरियोस् भन्ने आग्रहसहित राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ ।
प्रधानमन्त्री कार्यालयबाट पठाइएको पत्र राष्ट्रपति कार्यालयमा पुगिसकेको छ । संविधानको धारा ६६ को उपधारा (९) अनुसार राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरिएको छ । सामान्यतः गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको भए पनि यसपटक फरक अभ्यास देखिने भएको छ ।
यसअघि पनि प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम प्रस्तुतिपछि संसद्मा धन्यवाद प्रस्तावमाथि प्रत्यक्ष रूपमा सम्बोधन नगरी प्रक्रिया अघि बढाएका थिए । त्यस्तै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफसमेत प्रधानमन्त्री स्वयंले नदिई मन्त्रीहरू मार्फत् दिइएको थियो । त्यस विषयलाई लिएर विपक्षी दलहरूले संसद्मा आपत्ति जनाउँदै बैठक अवरुद्धसमेत गरेका थिए ।
पछिल्ला समय औपचारिक कार्यक्रम तथा संसदीय गतिविधिमा प्रधानमन्त्री शाहको प्रत्यक्ष सहभागिता कम देखिन थालेपछि राजनीतिक वृत्तमा यसको विभिन्न अर्थ लगाउन थालिएको छ । विपक्षी दलहरूले भनै खुलेरै यस प्रवित्तिको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: