
काठमाडौं साउन २, एकता घोषणापछि एकता राष्ट्रिय अभियानका अध्यक्ष रहेका वामदेव गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालसँग अंकमाल गरी खुशी साटेका छन् ।
कार्यक्रममा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्यहरुलाई माधव र वामदेव दबवैले स्वागत गरेका थिए ।
गौतमले एकीकृत समाजवादीसँगको एकता प्रयास चार वर्षपछि सफल भएको बताएका थिए ।
उनले एकता घोषणा हुँदा आफू शब्दमा बयान नै गर्न नसक्नेगरी खुशी भएको बताएका थिए । त्यही भाव उनले नेताहरूसँग खुशी साटासाट गर्दा गरेका अंकमालमा पनि देखिएको छ ।
एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने तय भइसकेको छ ।
३५ जनाको ज्यान लिएको झ्याप्ले खोलाको पहिरो यसरी हुँदैछ रोकथाम
नागढुंगादेखि झ्याप्ले खोलासम्मको दुरी २.२ किलोमिटर छ । गत असोज १२ गते त्रिभुवन राजपथ हुँदै यात्रा गर्नेहरूलाई यही दुरी एक युगभन्दा लामो भयो ।
असोज १० देखि १३ गतेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा रेकर्ड ब्रेक वर्षा भएको थियो। काठमाडौं उपत्यकाकै ११ स्थानमा वर्षाले पुराना सबै रेकर्ड तोडेको थियो।
त्यस दिन अविराम वर्षापछि झ्याप्ले खोलामा खसेको पहिरोले ३५ जनाको मृत्यु भयो ।
त्यति ठूलो विपत्ति आउँदा दुई किलोमिटर परको चेकपोस्टमा तैनाथ प्रहरीले सुइँकोधरि पाएनन्। पहिरोमा पुरिएका गाडीका अवशेष र शवहरू दुई दिनपछि मात्र निकालिए ।
गत वर्षको जस्तो विपत्ति आउन नदिन यसपालि बर्खामासमै झ्याप्ले खोलामा पहिरो रोकथामको काम भइरहेको छ ।
यो पहिरो रोकथाम त्रिभुवन राजपथ पुनर्निर्माणकै अंग हो, जसको ठेक्का जियाङ्सु–सगुन जेभीले पाएको छ ।
अहिले त्रिभुवन राजपथअन्तर्गत नागढुंगादेखि नौबिसे र पृथ्वी राजमार्गअन्तर्गत नौबिसेदेखि मुग्लिनसम्मको सडक धमाधम चौडा बनाउने काम भइरहेको छ । त्रिभुवन राजपथ अन्तर्गतको खण्ड १२ किलोमिटर पर्छ ।
सडक विस्तार र पहिरो रोकथामको काम एकै कम्पनीलाई दिन उपयुक्त ठानेर गत चैतमा जियाङ्सु–सगुनलाई ठेक्का दिएको सडक विभागले जनाएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार झ्याप्ले खोलाको पहिरोले टेवा पर्खाल भत्काएर खोल्सीजस्तो बनाएको थियो। त्यसको रोकथामका लागि पहिरोको पुछार भागमा तारजाली भरेर पर्खाल लगाउने काम भइरहेको छ। आगामी ७–८ दिनभित्र यो काम सकिनेछ ।
त्यस्तै, पहिरोको मुखको भागमा ‘माइक्रो पायलिङ’ गरेर रोकथाम गरिएको छ। ’माइक्रो पायलिङ’ भनेको जमिनमा चिरा परेको वा भासिएको ठाउँमा प्वाल पारेर फलामको पोल गाड्ने र त्यसमा सिमेन्ट हालेर बलियो बनाउने हो। लहरै गाडिएको फलामको पोललाई जमिनको सतहमा आरसिसी गरेर बाँधिएको छ। यसले पर्खालकै काम गर्ने र जमिनमा थप पहिरो जान नदिन सघाउने ओझा बताउँछन् ।
यहाँ ’एंकरेज’ विधि पनि प्रयोग गरिएको छ । यो भनेको जमिनमा फलामका ठाडा किला गाड्ने विधि हो, जसले पहिरो रोकथाममा सघाउँछ ।
यति मात्र होइन, पहिरोले खोतलेको बीचको भागमा ‘ब्याम्बो क्रिब’ को काम हुँदैछ । यो भनेको बाँसका किला गाडेर पहिरो रोकथाम गर्ने परम्परागत विधि हो। यसरी गाडेको बाँस विस्तारै झाँगिदै जान्छ, जसले थप पहिरो खस्नबाट रोक्छ ।
निर्माण कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरे झ्याप्ले खोलाको पहिरो पुरानो भएको बताउँछन्। उनका अनुसार यहाँ २०५० सालमा पनि पहिरो गएको थियो। त्यति बेला बायो–इन्जिनियरिङ गरेर रोकथाम गरिएको थियो। पहिरोको मुखमा पुरूवा माटोसमेत रहेको पाइयो। त्यसले पहिरो बग्न थप मद्दत पु¥याएको उनको भनाइ छ ।
झ्याप्ले खोला भनिए पनि यहाँ बाह्रैमास पानी बग्ने खोल्सा छैन । गत वर्ष खोल्साबाट पहिरो गएको पनि होइन। खोल्साभन्दा २०–३० मिटर पर डाँडाबाट पहिरो झरेको हो । माथिल्लो सडकको घुम्ती छेउबाट खसेको पहिरोले तलका गाडी पुरेको थियो। त्योभन्दा माथि जमिन खण्डीकरण गरेर पहुँच मार्गसमेत जोडिएको छ। निर्माण कम्पनीले पहिरोको कारण त्यसैलाई मानेको छ ।
जमिन खण्डीकरण गर्दा माटो र पानी निकासको सही व्यवस्थापन नगरिएकाले ठूलो भवितव्य निम्तिएको उनीहरूको बुझाइ छ ।
आयोजना प्रमुख ओझा भने यसलाई मात्र कारण मान्न नहुने बताउँछन्। भूबनोट र निरन्तरको झरीले पनि पहिरो खस्न केही भूमिका खेलेको उनको तर्क छ ।
‘त्यो समस्या दोहोरिन नदिन रोकथामका उपाय अपनाएका छौं,’ ओझाले भने, ‘झ्याप्ले खोलाबाहेक नागढुंगा–मलेखु खण्डका सात ठाउँमा यस्ता पहिरा पहिचान भएका छन् । सबै ठाउँमा रोकथामको उपाय अपनाइएको छ । पहिरो खसिहाले तत्काल पन्छाउने गरी उपकरण पनि तयारी हालतमा राखेका छौं ।’
उनका अनुसार झ्याप्ले खोला नजिकै अर्को पहिरो छ । सिस्नेखोला पश्चिमतर्फ पनि बर्खामा लेदो बगिरहन्छ। दुबै ठाउँमा पहिरो खसिहाले तुरून्तै पन्छाएर यातायात सञ्चालनमा ल्याउने गरी स्रोत–साधन व्यवस्थापन गरिएको उनले बताए ।
चार किलो, महेश खोला लगायत ठाउँमा पनि यस्तै समस्या आइरहन्छ। महेश खोला क्षेत्रमा नदीले कटान गरेको भागमा स्थायी टेवा पर्खाल लगाइएको छ ।
कमेरे र मलेखु नजिकैको परेवा भीरमा पनि बारम्बार समस्या देखिने गरेको छ। परेवा भीरमा गत वर्ष असोजे झरीको एक सातापछि सुख्खा पहिरो खसेर यातायात अवरूद्ध भएको थियो । त्यहाँ पनि ग्याबिन वाल (तारजाली भरेर) लगाएर रोकथाम गरिएको छ ।
सडक विभागले नागढुंगादेखि मलेखुसम्म दुई खण्ड छुट्टयाएर विस्तारको काम गरिरहेको छ । पहिलो खण्ड नागढुंगा–नौबिसे हो। कुल १२.२ किलोमिटरको यो खण्डमा सडक विस्तार अन्तिम चरणमा पुगेको छ। कालोपत्रेको काम लगभग सकिएको छ। सडक सुरक्षाको काम मात्र बाँकी रहेको आयोजना प्रमुख ओझाले बताए ।
उनका अनुसार यो खण्डको भौतिक प्रगति ८५ प्रतिशत छ । आयोजना लागत १ अर्ब ३१ करोड रूपैयाँ हो ।
२०७८ चैत २९ गते सम्झौता भएर विस्तार सुरू भएको यो आयोजना २०८१ जेठ २५ भित्रै पूरा भइसक्नुपर्ने थियो। सम्झौता अवधिमा निर्माण पूरा नभएपछि पहिलोपटक थपिएको म्याद आगामी साउन ९ गते सकिँदैछ ।
दोस्रो खण्ड नौबिसे–मलेखु खण्डको काम भने केही सुस्त छ । कुल ४३.५ किलोमिटर लम्बाइ रहेको यो खण्डको भौतिक प्रगति ४४ प्रतिशत मात्र छ। यसको ठेक्का शर्मा लामा–जेडआइसिजी जेभीले पाएको छ। निर्माण लागत ५ अर्ब ३३ करोड रूपैयाँ हो ।
२०७९ वैशाख १४ गते सम्झौता भएको यो आयोजनाको म्याद गत जेठ २४ गते सकिएर असारसम्म थपिएको छ । यो अवधिमा पनि निर्माण पूरा गर्न चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ ।
निर्माण सामग्री सहज उपलब्ध नहुनु र रूख कटान, घर–टहरा र विद्युतका पोल हटाउने समस्याले सडक निर्माणमा विलम्ब भइरहेको आयोजना पक्षले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: