
माता आर्या आत्रेय र पिता प्रा.डा. विष्णुराज आत्रेयकी कनिष्ठ सुपुत्रीका रूपमा २०३८ सालमा जन्मेकी प्रीति आत्रेय ज्ञवालीले बुबाकै सान्निध्यमा रही प्राथमिक शिक्षा आर्जन गरिन् र प्राचीन व्याकरणमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय अन्तर्गत जनता जनार्दन मा.वि. पिपरौली, गोरखपुरबाट पूर्वमध्यमा र काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रमबाट एसएलसी परीक्षा उत्तीर्ण गरी पढाइलाई निरन्तरता दिइरहिन् । उनले काठमाडौंको वाल्मीकि विद्यापीठबाट उत्तरमध्यमा, शास्त्री र फलितज्योतिषमा आचार्य उत्तीर्ण गरेकी छन् भने अंग्र्रेजी साहित्यमा स्नताकसम्मको शिक्षा आर्जन गरेकी छन् । हाल उनी कम्बोडियाको न्होम पेन्हमा बसोबवास गर्छिन् ।
कान्तिपुर मिडिया ग्रुपबाट प्रकाशित ‘नारी’, ’कान्तिपुर’, ‘काठमान्डु पोस्ट’ लगायतका पत्रिकामा २०५९ सालदेखि राशिफल स्तम्भकार भई आफ्नो औपचारिक पढाइलाई सार्थक तुल्याउँदै आएकी प्रीति सफल साहित्यकार समेत हुन् । उनका बी.बी.सी, साहित्यपोस्ट, हिमालय टाइम्स, कान्तिपुर, नेपाल समाचारपत्र, नेपालनाम्चा, सहीखबर, संसारन्युज, वैजयन्ती साहित्यिक पत्रिका, हाम्रो पुरुषार्थ, नारी, दायित्व, प्रभातफेरी, कल्पतरु, जनमत आदि विभिन्न पत्रिकाहरूमा विभिन्न समसामयिक विषयसित सम्बन्धित लेख रचनाहरू प्रकाशित छन् । यसका साथै ‘आफ्नो त मन छ माइतीघरतिरै’ तीजगीत, ‘तिमी मेरो पूजा’ प्रणय शुभकामना गीत आदि युट्युबमा सुन्न पाइन्छन् । उनको कवि व्यक्तित्व पनि प्रखर रूपमा अगि बढेको छ । यदाकदा गद्यलयमा कविता सिर्जना गरे पनि उनका लागि छन्द निकै प्यारो छ । उनले मुक्तक, साइनो, टुक्का, हाइकु, रम्बासलगायत नेपाली कविताका लघुतम् उपविधामा कलम चलाएकी छन् । मातृभाषा नेपाली लगायत संस्कृत र अंग्रेजी भाषामा समेत साइनो रचना गरेकीले उनी संस्कृत साइनो लेखकका रूपमा परिचित छन् । ‘पाल्पाली साइनो २’ साइनोसङ्ग्र्रहमा उनले संस्कृत भाषामा रचना गरेका धेरै साइनो प्रकाशित छन् साथै ‘साइनो सौरभ’ साइनोसङ्ग्रहमा र ‘साइनो चौतारी’ साइनोसङ्ग्रह (२०८०) मा उनले नेपाली, संस्कृत र अंङ्ग्रेजी भाषामा रचना गरेका साइनोहरू प्रकाशित छन् । उनी मुक्तककारका रूपमा पनि परिचित छन् । २०७८ सालमा ‘शुक्ला प्रवाह’ मुक्तक विशेषाङ्कमा उनका मुक्तक प्रकाशित छन् । २०८० सालमा मातृभाषा संरक्षण समूह, अमेरिकाले प्रकाशन गरेको २५१ कविहरूको ‘बृहत् नेपाली कवितासङ्ग्र्रह’ मा उनका छन्द कविता एवम् ‘काव्याञ्जलि’ (रम्बास कवितामा नारी हस्ताक्षर) नामक पुस्तकमा उनले रचना गरेका रम्बास कविता प्रकाशित छन् । उनका हालसम्म प्रकाशित पुस्तकाकार कृतिहरू ‘अनुभूतिको इन्द्रेणी’ (२०७९) कवितासङ्ग्र्रह, ‘चुटुक्क’ (२०८०) मुक्तकसङ्ग्रह र ‘मणिराम’ (२०८१) मुक्तकसङ्ग्र्रह हुन् । ‘स्मृतिमा प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथी’ स्मृतिग्रन्थको सह–सम्पादक रहेर काम गरेकीले ग्रन्थसम्पादनमा पनि उनको कार्यकुशलता बेजोड देखिन्छ । उनले कविरत्न कृष्णप्रसाद घिमिरे प्रतिष्ठानबाट आयोजित कविता प्रतियोगितामा स्वर्ण पदक, २०८० सालमा नइ प्रकाशनबाट ‘नइ कीर्ति रत्न’ पदक र प्रशस्तिपत्र प्राप्त, २०८१ मा लीलाध्वज थापा साहित्य प्रतिष्ठानबाट कदरपत्र प्राप्त तथा विभिन्न कार्यक्रम एवम् प्रतियोगिताहरूमा सहभागी हुँदा पुरस्कार एवम् प्रमाणपत्रहरू प्राप्त गरेकी छन् । सन् २००१ मा कलकत्तामा आयोजित २४ औं वार्षिक अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाली प्रतिनिधिको रूपमा सहभागी हुँदा एनसी लारी स्मृति स्वर्ण पदक एवम् ‘ज्योतिष महासागर’ नामक उपाधिद्वारा विभूषित र सन् २००३ मा विश्व हिन्दु युवा संघबाट अभिनन्दित भएकी छन् । उनी विभिन्न संघ–संस्थामा आवद्ध भई सामाजिक, साहित्यिक कार्यमा क्रियाशील देखिन्छिन् । उनले साइनो वाङ्मय चौतारी नेपालको कार्यसमिति एवम् आजीवन सदस्य, हामी र हाम्रो कृति समूहको आजीवन सदस्य, लुम्बिनी वाङ्मय प्रतिष्ठानको आजीवन सदस्य रही नेपाली वाङ्मयको विकासमा उल्लेखनीय कार्य गरिरहेकी छन् ।
लाटोसाथी स्मृतिकाव्य
कवि प्रीतिले आफ्ना पिताको स्मरणमा ‘लाटोसाथी’ स्मृतिकाव्य रचना गरेकी छन् । नेपाली साहित्यमा कि त श्रीमतीको स्मरणमा, कि त आमाको स्मरणमा धेरै शोककाव्य रचना भएका छन् । आफ्ना पिताको स्मरणमा थोरै मात्र लेखिएका स्मृतिकाव्यमाझ प्रीतिको यो काव्य पाठकसामु आएको छ । यस काव्यमा राख है मान शब्दको, लेख्छु म भाव भरी कविता, लाटोसाथी, छैनौ तिमी नै, अव्यक्त बस्छौ कहाँ ?, जस्तो भए तापनि, बुवा खै ! अब कुरा, मसीले आँसु पोख्दछ, कुरा यसै रह्यो, म वेदना यी गुनेर रुन्छु, भएरै मूक मै पनि, कुरा भन्छु आज, शब्दका रङ्ग अर्पिई, भन बाबा कसरी सुझाउन ?, सम्झिन्छु दिन्दिनै, गुनेर काव्य लौ सिएँ उनेर माल्य शब्दको, भित्ता, म के भनुँ, धराका सुनौंला निसान, साथी कलम भैदिए, फोटोले बोल्छ भयौं, स्नेह मात्रै भयो, पितृ देन तिम्रै सुबाटो गरी सत्ताइस ओटा शीर्षकमा वस्तु तथा भावलाई वितरण महिमा, मदालसा वाचमुवाच छोरी, तिम्रै दूत चिनेर, बाबा बिदाई गरी गरिएको छ । यी सत्ताइस शीर्षक सत्ताइस नक्षत्रका रूपमा रहेका छन् ।
मङ्गलाचरण ः
कुनै कर्मको आरम्भमा मङ्गलको कामनाका साथ मङ्गलाचरण गरिन्छ । कार्य कुनै प्रकारको अवरोधविनै सम्पन्न होओस् र त्यस कार्यमा अशुभ तथा अमङ्गल अड्चन केही आई नपरोस्, त्यस कार्यमा गरिने सम्पूर्ण गतिविधि र क्रियाकलापमा कुनै दोष नआओस् भनेर गरिने शुभकर्म नै मङ्गलाचरण हो । काव्य लेखनको आरम्भमा प्राचीनकालदेखि नै मङ्गलाचरण गर्ने पद्धति पाइन्छ । महाभारतमा नारायण, नर, नरोत्तम, सरस्वती एवम् स्वयम् व्यासलाई नमस्कार गरेर महाभारतकारले लेखन आरम्भ गरेको संकेत पाइन्छ । त्यहाँ भनिएको छ ः
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्
देवी सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।
यसैगरी रामायण, रघुवंश, सूर्यसिद्धान्त, श्रीमद्भागवत्पुराण, गणितसारसङ्ग्र्रह, रामचरितमानस आदि अनेक ग्रन्थहरूमा र नेपाली काव्यहरूमा समेत मङ्गलाचरण गरी काव्य आरम्भ गरेको पाइन्छ । स्मृतिकाव्यकार प्रीतिले ‘राख है मान शब्दको’ शीर्षकमा मङ्गलाचरणको निम्नलिखित श्लोकबाट काव्य आरम्भ गरेकी छन् ।
चढाई जल वृन्दामा अर्पिएँ सूर्यमा पनि
मन्त्रिँदै जपपाठादि सम्झिएँ गुरुमा अनि ।
।
कवि प्रीतिले सर्वप्रथम तुलसीमा जल अर्पण गरेको उल्लेख गर्दै प्रकृतिको अंश औषधीय गुणले भरिपूर्ण वनस्पतिमध्ये तुलसीलाई नै जल अर्पण गर्न रुचाएकी छन् । गुरुस्मरण, सूर्य, गणेश, विष्णु, लक्ष्मी र शङ्करको स्तुति गाई शारदालाई र अञ्जनीपुत्र हनुमानलाई पूजा गरी आफ्ना पूर्वजको स्मरण गर्दै माता पितालाई शिरमा राखी पिताका बारे स्मृतिकाव्य लेख्न निधिरूपी शब्दलाई आफूसमक्ष आउन आह्वान गरेकी छन् । छन्दमा कविता काव्य सिर्जना गरी विश्व हाँक्ने आँट भएका आफूलाई अत्यन्तै माया गर्ने पिताको देहावसानपछि पिताकै स्मरणमा काव्य सिर्जनामा लागेकी कवि प्रीतिले मङ्गलाचरणमै पितृमहिमा
गाएकी छन् ।
धुरन्धर पिता मेरा छन्दमा काव्य लेख्दथे
छन्दमा विश्व यो हाँक्ने अति नै आँट गर्दथे ।
काव्य रचना गर्दा प्रत्येक भावसँग सामञ्जस्य राख्ने शब्द आइरहुन् भन्ने कविको आशय यसरी व्यक्त भएको छ ।
सक्दो प्रयत्न गर्नेछु लेख्न यो काव्य छन्दको हे वाग्देवी ! दिए साथ राख है मान शब्दको ।
कविले वाग्देवी सरस्वतीको आरधनाका साथ काव्य आरम्भ गरेकी छन् । मङ्गलाचरणबाट काव्य आरम्भ गर्ने उनको यो शैली पूर्वीय काव्य लेखनारम्भको शैली हो ।
वंश निरन्तरतामा पिता
काव्यकार प्रीतिले अर्याल वंशका कुलभूषण रश्मिराजका वंशमा आफ्ना पिताको जन्म भएको र त्यो वंश ज्ञान र विद्याले भरिपूर्ण रहेको अनि त्यही कुलमा देवराजको पुत्रका रूपमा विष्णुराजको जन्म भएको उल्लेख गर्दै भनेकी छन् ।
आफूजस्तै गुणी छोरा जन्मिए देवराजको शारदाले दिइन् जन्म नाम ता विष्णुराज भो । चैत्र आठ भयो जन्म दिन ता पूर्णिमा थियो होलीको पर्वले त्यस्तै दिन रङ्गीन नै थियो । विभिन्न शास्त्रका ज्ञाता विज्ञ व्याकरणादिमा क्षमता सीपले गर्दा मान्य थे प्राज्ञ विश्वमा ।
–पिताको महिमा गान उनको अभीष्ट रहेको छ । उनले फेरि भनेकी छन् ।
विभिन्न शास्त्रका ज्ञाता विज्ञ व्याकरणादिमा क्षमता सीपले गर्दा मान्य थे प्राज्ञ विश्वमा । कला संस्कृति साहित्य सबैका पारखी बनी सबैले सम्झिने पात्र बनेका यी जता पनि ।
कपिलवस्तुमा साहित्यको तीर्थधाम बनाउने लक्ष्य लिएर अघि बढेका विष्णुराजका असंख्य कृति प्रकाशित छन् । उनी संस्कृत वाङ्मयका विद्वान्, नेपाली तथा अङ्ग्र्रेजी भाषाका ज्ञाता भएकाले नेपाली भाषामा नै उनले खोजअनुसन्धानमूलक दर्जनौं पुस्तक लेखेका छन् । दिग्गज साहित्यकारहरूको सालिक निर्माण गर्न समिति नै बनाएर लागिपरेका थिए । तर अर्वुद रोगका कारण इच्छा पूर्ण नभई उनको देहान्त भएकाले घरपरिवार शोकाकुल हुनु स्वाभाविकै हो । यसभन्दा बढी त उनले थालनी गरेको सामाजिक कार्य अधुरै रहेकाले समाज नै शोकविह्वल भयो । यस वेदनामय भावलाई कवि प्रीतिले आफ्नो काव्यमा समेटेकी छन् ।
उत्प्रेरक रूप पिता
आफूलाई अत्यन्तै माया गर्ने अनि छोरीको पढाइ तथा लेखाइ उन्नत अवस्थाको होओस् भनेर सँधै उत्प्रेरित गरिरहने पिताले धर्ती छाडेर जाँदा कवि अन्त्यन्तै भावविह्वल बनेकी छन् । छोराछोरीका लागि पिता आशाका केन्द्र हुन्, घरपरिवारका लागि बलियो स्तम्भ हुन् । स्तम्भ ढल्दा र आशाको केन्द्र भत्किँदा घरपरिवारमा जुन वज्रपात हुन्छ त्यो संसारको कुनै घटनासँग तुलना हुन सक्दैन । विष्णुराज छोरी प्रीतिका लागि प्रेरणाका खानी थिए, आशाका केन्द्र थिए, भरोसाका पहाड थिए अनि जीवनरूपी ज्योतिका वर्तन थिए । उनी ढल्दा आशाको केन्द्र भत्कियो, भरोसाको पहाड़ ढल्यो अनि जीवनरूपी ज्योति छर्ने बत्ती निभ्यो । यसबाट आहत भएकी काव्यकार प्रीति यसरी पीडा अभिव्यक्त गर्छिन् ः
भयो तेज आफैं तिमीसाथ अस्त भएँ शक्तिहीनै तिमी खै र तात ! सबै तेज विद्या तिमीमा भएका
कसोरी म पाऊँ तिमीसाथ छुट्दा ।।
पिताको अन्तिम अवस्थामा एकपटक झलक्क अनुहार हेर्न पाए हुन्थ्यो भन्ने कसलाई लाग्दैन र ! पिताको मुहार हेर्न लालायित बनेकी छोरी प्रीति आखिर पिताको समीपमा नआइपुग्दै प्राण त्याग गरेको खबर सुनेपछि उनीभित्रको वेदना यसरी पोखिन्छ ।
थियो आश मेरो मुखै देख्छु भन्ने
बुवाको म भेटै गरी छोड्छु भन्ने । भनेझैँ सबै बात हुन्नन् भनेथ्यौ गरी धैर्य छोरी ! तिमी बस्नु भन्थ्यौ ।।
यी पङ्क्तिमा कवि प्रीतिको पिताजीप्रतिको बेजोड स्मृति शब्दमा अभिव्यक्त भएको छ । उनको पीडा पोखिएको छ अनि वेदना उम्लिएर आएको छ । छोरी आफ्ना पिताजीलाई कहिले बोलाउन चाहन्छिन् कहिले पितासँगै बसेर भलाकुसारी गर्न चाहन्छिन् त कहिले पिताले बोलाएजस्तो लागेर कोठातिर हेर्छिन् तर कविकै मनले पिता खोजिरहेको हुन्छ । पितालाई नभेट्दा नदेख्दा उनी छटपटाउँछिन् र भन्छिन् ।
बोलायौ कि भनी गएर नजरै लैजान्छु कोठातिर
कुर्सी खाट जताततै नजर यी रित्ता भए आखिर । छन् सामानहरू उनै सब यहाँ छैनौं तिमी छौं कहाँ हे ! बाबा अब के गरौं भन तिमी अव्यक्त बस्छौ कहाँ ??
कवि प्रीति पिताजी जिउँदो हुँदा भन्न मन लागेका कति कुरा भन्न भ्याउँदिनथिन्, कतिपय कुरा भन्न मन लागेर पनि भन्न सक्दिनथिन् । आफू टाढा भएपछि मनमा उठेका कैयौं कुरा पितालाई भन्न भ्याएकी थिइनन् र भेटमा भनुँला भनी साँचेर राखेकी थिइन् तर भेट हुन नपाउँदै पिताको जीवतत्व भौतिक शरीरबाट निस्किएपछि कवि प्रीति शोकाकुल भएकी छन् र काव्यका माध्यमबाट दिएको अभिव्यक्ति शब्द बनेर पिताको आत्मा जहाँ छ, जस्तो अवस्थामा छ त्यहीँ छोरीको पुकार बनेर पुगोस् भन्ने चाहेकी छन् ।
अस्ताएको सूर्य भोलिपल्ट फर्केर आउँछ, प्रत्येक ऋतु बर्सेपिच्र्छै फर्केर आउँछन् तर देह त्याग गरेर गएका पिता कहिल्यै फर्केर नआउने हुँदा कविले आफ्नो मन आफै बुझाउँदै यसो भनेकी छन् ।
अस्तायो यदि आज भास्कर भने झुल्किन्छ अर्को दिन त्यस्तै अस्त भयो भने मनुज ता झुल्किन्न अर्को दिन । चाहे ग्रीष्म वसन्त या शिशिर होस् पानी परोस् बेस्सरी उठ्छन् सूर्य सँधै उठेन मनु ता जस्तो भए तापनि ।। मातापिताको माया यस काव्यमा माता र पिता बिचको तुलनात्मक अवस्थालाई पनि प्रस्तुत गरिएको छ । बाबाले संसार त्यागेर गए पनि घरमा बाबाले गर्ने कामका बारेमा स्मरण हुनु स्वाभाविकै हो । बाबाले जे जे काम गर्नुभएको हुन्छ ती सबै काम आमाबाट हुन नसके पनि आमा संसारमै बाबाभन्दा उच्चस्थानमा रहने कवि प्रीतिको आशय यस काव्यमा अभिव्यक्त भएको छ । कविले भनेकी छन् ।
बाबाभन्दा ठूली आमा हुन्छिन् जगतमा सँधै माया बर्साउँदै नित्य ख्याल राख्छिन् उनी सँधै । आमाको स्थान बाबाले सक्दैनन् लिन है कतै । त्यस्तै बाबा हुने भिन्न आमाले हुन्न लौ कसै ।।
माताको महिमा धेरै गाउने गर्दछन् यहाँ । पिताको किन हो न्यून् कहिने भावना जहाँ ।।
मातापिता दुबै उस्तै पूजनीय निरन्तर
पितानिमित्त नै काव्य लेखिएका कमै तर ।
कलमलाई यथोचित रूपमा चलाउन जान्यो भने त्यसले आफूलाई संसारमा चिनाउने हुँदा कलम पनि सन्तानजस्तै मूल्यवान् हुने कवि प्रीतिको भनाइ छ ।
पिताको प्रेरणा
होलीका दिन रङ खेल्न खुबै रुचाउने पर्वमा, काव्यनायक विष्णुराजको स्मरणमा छोरी प्रीतिले फागुकै दिनमा जन्मेका आफ्ना पिता र होलीका बिच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरेकी छन् । जब जब होली पर्व नजिक आउँछ तब तब पिताको सम्झनाले सताउने र होलीका दिनमा त असह्य वेदनामय आफ्नो पीडा काव्यमा व्यक्त भएको छ । विभिन्न किसिमका रङलाई मानवजीवनमा आइरहने दुःख र सुखसित तुलना गर्दै कवि भन्छिन् ।
कसैले दुःख हो कालो रङ्ग, सेतो त भन्दछन् कसैले रक्तको रङ्ग पीडाको रङ्ग भन्दछन् । मृत्यु नै हो ठूलो दुःख पीडा दिन्छ सके जति देखिन्न है कुनै रङ्ग किन्तु पिर्दछ यो अति ।
थरीथरीका रङका ठाउँमा थरी थरीका भाव आइरहने र रङ्गहीन भएर शब्दमा भावना मिसिएर आउनाले आफू पनि रङहीन अवस्थामा पुगेको कविले व्यक्त गरेकी छन् ।
पढाइ, लेखाइ र सिर्जनामा भिजेका विष्णुराज आत्रेय आफ्नी छोरी प्रीति पनि आफूजस्तै होस् भन्ने चाहन्थे र छोरीलाई सिर्जनाकर्ममा उत्प्रेरणा दिइरहन्थे । उनको इहलीला समाप्त भएपछि आफूलाई अब कसले प्रेरणा दिन्छ भनेर प्रीति छटपटिइरहन्छिन् र अदृश्य रूपमै भए पनि आफूलाई आशीर्वाद दिएर अघि बढ्ने मार्ग प्रशस्ति गर्न आग्रह गरिरहन्छिन् र कवितात्मक लयमा भन्छिन् ।
हे मेरा तात ! भक्कानो छुट्छ के गरूँ यो मन ? हिँड्दैछु म त तिम्रो नै बाटो आशिष पाऊँ म ।। सुमार्ग हिँड्नु भन्थ्यौ है सँधै स्वस्थान बस्न नै कसले अब भन्ला यी बात सम्झिन्छु दिन्दिनै ।।
म मौन शब्दहीनझैं म भावले अपूर्ण छु निरीह लौ भएँ यहाँ गरूँ त के म चूर्ण छु । गई गयौ तिमी पिता छ पूर्णता तिमी जता । विना तिमी म एक्लिएँ न ता यता न ता उता ।।
नलागेर निद्रा डुबै भावनामा
झझल्को बुवाको म देख्दै छु नाना ।
म सानी छँदा श्लोक गायौ नि लोरी
मदालसा वाचमुवाच छोरी ।।
पिता जहाँ जान्छन्, जहाँ पुग्छन् त्यहीँ पूर्णता प्राप्ति हुने तर पिताले छाडेर गएपछि आफू एक्लिएर रित्तो भएको र अनिदो रही बुबाकै झझल्कोमा रात बिताइरहेको भाव कविले उल्लेख गरेकी छन् ।
छोरीको बिदाइ
कवि प्रीतिले पिताबाट आफूलाई कन्यादान गर्दाको अवस्थालाई पनि स्मरण गरेकी छन् । आफूले जन्माई हुर्काई पालनपोषण गरी, विद्यालय एवम् विश्वविद्यालयमा पढाई उच्च शिक्षा प्राप्त गराई सक्षम बनाइएकी छोरीलाई पराइको हातमा सुम्पँदा हुने पीडा र पिताको मायाममता पाई आफू सक्षम भएपछि पितामाताको साथ छाडेर पराइ घरमा जाँदा छोरीको मनमा हुने पीडालाई कवि प्रीतिले यस काव्यमा व्यक्त गरेकी छन् । उनले यस संवेदनशील क्षणलाई यसरी व्यक्त गरेकी छन्
लागेथ्यौ खटनै सहेर कसरी कन्या म दानै गरुँ खोज्यौ है वर होस् गुणी सुमनले छोरी बिदाई गरूँ । भो गाह्रो सब बात चुँक्क नगरी कृत्यादि पूरा गरी दुख्थ्यौ मातृसमक्ष रात्रि कसरी कट्थ्यो कुरामै रुभी ।।
तपस्वी कण्व ऋषिले त छोरीको बिदाइमा पीडा भोग्नुपरेको स्मरण गर्दै घरव्यवहारमा लागेका र एक अर्कामा पारिवारिक मायाममताका रमाइलो जीवन बिताइरहेका लाटोसाथीलाई छोरीको बिदाइले पारेको मर्माहत अवस्थालाई यस काव्यमा उल्लेख गरिएको छ ।
बुबाको दूत परेवा
छोरी प्रीतिले बुबाको आत्मालाई साक्षी राखेर बुबाकै दूत बनी यस धर्तीमा सुकर्म गर्ने प्रण गरेकी छन् । यता धरतीमा छोरी के गर्दै छे भनेर हालखबर बुझ्न परेवालाई दूत बनाएर कुनै सन्देश पठाएका पो छन् कि ! र, त्यस दूतले नरोऊ छोरी ! आफ्नो चित्त आफै बुझाउनु भन्ने सन्देश भन्ला कि ! यो सोचेर संसार छाडेर जानु प्रकृतिको धर्म नै भएकाले मन बुझाइरहेकी छु बाबा ! भन्दै उही परेवालाई आफ्नो सन्देश पठाएको मिठो कल्पना उनको यस काव्यमा पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्: