
काठमाडौं चैत २१, अखिल नेपाल खेलकुद महासंघले खेलाडीहरूको बहुप्रतीक्षित दशौं राष्ट्रिय खेलकुद आयोजना प्रभावित नगर्न माग गर्दै आगामी वर्ष प्रचण्ड कप २०८२ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद प्रभावित नगर्न माग गर्दै आफ्ना विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको हो । गणतन्त्र दिसको अवसर पारेर प्रचण्ड कप पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको महासंघका महासचिव अञ्जन धमलाले विज्ञाप्ति मार्फत जानकारी दिएको छ । प्रचण्ड नेतृत्व सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा सोही खेलको प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।
‘गणतन्त्र स्थापना र भलिबललाई देशको राष्ट्रिय खेल बनाउन अध्यक्ष प्रचण्डको भूमिका महत्वपूर्ण रहेको सबैलाई थाहा नै छ । तत्कालीन प्रचण्ड सरकारले २०७४ साल जेठ ९ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसैले पनि जेठमा नै भलिबल प्रतियोगिता गर्न लागेका हौं,’ उक्त खेतल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा हुने पनि जनाएको छ ।
‘व्यापक र व्यवसायिक खेल, खेलाडीको सम्मान, समाजवादको यात्रामा दोस्रो राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ महासंघको राष्ट्रिय सम्मेलन सोही वर्षको असार ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरिएको हो । महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्य एसियन मार्सल आटर््स गेम्स तथा खेलकुद महोत्सव गर्ने भएको छ । उक्त मार्सल आटर््स गेम्स आगामी जेठ २ र ३ गते गर्नेगरी तयारीसमेत थालेको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालीन सरकारले ६० करोड विनियोजन गर्दै गत मंसिरमा नै कर्णाली प्रदेशमा बृहत दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने वातावरण सिर्जना भएको उल्लेख गरेको छ । पहिलोपल्ट राष्ट्रिय खेलकुद आयोजनाअगावै बजेट सुनिश्चिता हुँदा पनि खेलकुद सञ्चानल हुन नसक्नुले खेलाडीहरू खेल्न पाउने अधिकारबाट बञ्चित भएकोमा महासंघले चिन्ता व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुदको विकास, विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउनका लागि मद्दत पुग्ने गरी काम गर्न सदैव अग्रसर हुने विश्वास व्यक्त गरेको छ । खेलकुद महासंघका इन्चार्ज दीपक कोइराला ‘रूपक’ ले परम्परागत शैलीको प्रतिस्पर्धाभन्दा पनि खेलकुदको व्यावसायीकरण गर्दै समग्र नेपाली खेलकुदलाई नै माथि उठाउन देशका सम्पूर्ण नागरिक नै एक हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्: