घुस लिंदै गर्दा रंगेहात समातिएका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२०८३ असार २४

काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेलविरुद्ध ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा समातेको थियो।

नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा कण्डेलले जग्गा रोक्का राख्ने कामका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गर्दै विभिन्न बहाना बनाएर दुःख, हैरानी दिएको र अन्ततः ४० हजार रुपैयाँ घुस मागेर लिएको पुष्टि भएपछि अख्तियारले उनीविरुद्ध मुद्दा चलाएको हो।

आयोगले उनीविरुद्ध ४० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र १ देखि ६ महीनासम्म कैदको माग गर्दै विशेष अदालतमा मुद्दा चलाएको हो। अख्तियारले मुद्दा चलाएसँगै उनी स्वतः निलम्बनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्: