कार्की आयोगको प्रतिवेदन खै भन्दै माईतीघरमा युवाहरूको कालोपट्टी बाँधेर प्रदर्शन

२०८२ चैत्र २

मन कुमार न्यौपाने

काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।

सोमबार युवाहरूको एक समूहले माईतीघर मण्डलामा भेला भएर आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘प्रतिवेदन खै ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेनजी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले प्रतिवेदन लुकाएर राखिएको आरोप लगाउँदै सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।

विरोध जनाउने क्रममा युवाहरूले आँखामा कालोपट्टी बाँधेर सांकेतिक प्रदर्शन समेत गरेका थिए। उनीहरूले पारदर्शिता कायम गर्न र घटनाबारे वास्तविकता सार्वजनिक गर्न सरकारलाई दबाब दिन यस्तो प्रदर्शन गरिएको बताएका छन्।

भदौ २३ र २४ गते युवाहरू जेनजी ले विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएपछि झडपको अवस्था सिर्जना भएको थियो। त्यसपछि सरकारले घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिँदा आम नागरिक तथा प्रदर्शनमा सहभागी युवाहरूमा असन्तुष्टि बढ्दै गएको छ।

 

प्रतिक्रिया दिनुहोस्: