मन कुमार न्यौपाने
काठमाडौं । उपत्यकाको फोहर विसर्जन स्थल नुवाकोटको बञ्चरेडाँडामा स्थानीयको अवरोधका कारण फोहर व्यवस्थापन पुनः प्रभावित भएको छ। स्थानीय बासिन्दाले विगतमा काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिएपछि उपत्यकाबाट लगिएको फोहर बोकेका गाडी फिर्ता पठाइएको हो।
स्थानीयका अनुसार पटक–पटक सहमति भए पनि ती कार्यान्वयनमा नआएकाले यसपटक माग पूरा नभएसम्म अवरोध नहटाउने अडान लिइएको छ। स्थानीय निरञ्जन सञ्जेलले काठमाडौंबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको जानकारी दिँदै विगतका सहमतिहरू कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने बताए।
‘पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ। हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ,’ उनले भने।
यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडामा देखिएको अवरोध हटाइएको थियो। तर सहमतिअनुसार काम अघि नबढेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले पुनः विरोध जनाएका हुन्।
नुवाकोटको ककनी गाउँपालिका–१, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिका–१, ३ र ४ वडाका प्रभावित बासिन्दा दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर आन्दोलनमा उत्रिएका छन्। उनीहरूले फोहर बोकेर गन्तव्यतर्फ जाने गाडीलाई बाटोमै रोक्दै फिर्ता पठाइरहेका छन्।
स्थानीयको आन्दोलनलाई ककनी, बेलकोटगढी र धुनीबेँसी क्षेत्रका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले पनि समर्थन जनाएका छन्। स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाबाट दैनिक उठाइने फोहर व्यवस्थापनमा पुनः समस्या उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्: