राष्ट्रिय वाणिज्य बैंकका सीईओ र ऋणीबीच कार्यालयमा नै लफडा

२०८२ फाल्गुन १

काठमाडौँ । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुनको विषयलाई लिएर बैंकका ऋणी र प्रमुख कार्यकारी अधिकृत सीईओ देवेन्द्ररमण खनालबीच चर्को विवाद भएको छ । बैंकको केन्द्रीय कार्यालयमै पुगेर ऋणी र सीईओबीच तथानाम गालीगलौज र भनाभन भएको हो ।

उक्त घटनामा बैंकबाट करिब ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको थियो । सो सुनको क्षतिपूर्तिका विषयमा बैंक व्यवस्थापन र सुन धितो राखेका ऋणीबीच सहमति नजुट्दा विवाद उत्कर्षमा पुगेको हो ।

सीईओ खनालले सुन लुटिएको दिनकै बजार मूल्यअनुसार क्षतिपूर्ति उपलब्ध गराउने अडान लिएपछि ऋणीहरू आक्रोशित बनेका छन् । भदौ २४ गते सुनको मूल्य प्रतितोला २ लाख १४ हजार रुपैयाँ रहेको थियो भने आज फागुन १ गते प्रतितोला सुनको मूल्य ३ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । महिना दिनमै सुनको मूल्य उल्लेख्य रूपमा बढिसकेको अवस्थामा लुटिएकै दिनको मूल्य अनुसार मात्र पैसा दिने भनाइले ऋणीहरू असन्तुष्ट भएका हुन् ।

लुटिएको सुन फिर्ता नदिइ केवल रकम मात्र दिने बैंकको प्रस्तावप्रति ऋणीहरूले आपत्ति जनाउँदै सीईओसँग प्रत्यक्ष विवाद गरेका थिए । यही क्रममा भएको भनाभनका भिडियोहरू अहिले फेसबुक र टिकटकमा तीव्र रूपमा भाइरल भइरहेका छन् ।

भाइरल भिडियोमा एक ऋणीले आक्रोश व्यक्त गर्दै भनेकी छन्, ‘सुन हराएको दिनको मूल्य अनुसार पैसा दिने रे, सुन नदिने रे । जुन दिन हरायो त्यही दिनको भाउ अनुसार पैसा दिने भन्ने यस्तो बदनाम कुरा सरकारी बैंकले गर्न मिल्छ ?

आफुलाई ठग्न खोजेको भन्दै ऋणीहरुले गालीगलौज शैलिमा सीईओको सामु प्रस्तुत भएका छन् । केही भिडियोमा ऋणीहरू आक्रोशित मोडमा सीईओलाई थर्काउँदै प्रश्न गरिरहेको देखिन्छ । एक ऋणीले भनिरहेका छन्, ‘तपाईंलाई अलिकति लाज भन्ने छैन एक तोला सुनको भाउ कति पुगेको छ थाहा छ ? सित्तैमा आउँछ सुन हाम्रो गल्ती के छ ?

 

प्रतिक्रिया दिनुहोस्: