मन कुमार न्यौपाने
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स एक्युआई अनुसार उपत्यकाको एक्युआई १७५ अंक पुगेको छ। यससँगै काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा सातौँ स्थानमा परेको छ। सोही समयमा इजिप्टको राजधानी कायरो २७३ एक्युआईसहित विश्वकै सबैभन्दा प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावाको आवागमन न्यून हुनु, उद्योग(कलकारखानाको नियमित सञ्चालन तथा तीव्र विकास(निर्माण गतिविधिका कारण वायु प्रदूषण बढेको हो। औद्योगिक धुवा धुलो सिमापार क्रस बोर्डर प्रदूषण तथा छिमेकी मुलुक भारतबाट भित्रिने प्रदूषित हावाले पनि काठमाडौंको वायु गुणस्तर बिगारेको उनले बताए। “पानी नपरेसम्म प्रदूषण अझै बढ्न सक्ने सम्भावना छ,” सुवेदीले भने। उनले सरोकारवाला निकायलाई वातावरणमैत्री विकासमा जोड दिन आग्रह गरिएको जानकारी पनि दिए।
विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार एक्युआई ५० सम्म राम्रो, ५१ \१०० सचेत रहनुपर्ने, १०१ \१५० अस्वस्थ र १५१ \२०० सबैका लागि अस्वस्थ मानिन्छ। २०१ \३०० धेरै अस्वस्थ र ३०० भन्दा माथिको अवस्था अत्यन्तै खतरनाक हुन्छ। यस्तो प्रदूषणले विशेषगरी श्वासप्रश्वास र मुटुरोगीलाई गम्भीर असर पार्ने उनले बताए।
काठमाडौं उपत्यकाका लागि तयार गरिएको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई सरकारले विपद् मानेको छ। सो अवस्थामा फोहोर बाल्न रोक लगाउने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुम मेसिनको प्रयोग बढाउने, तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीका लागि विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान छ।
त्यसैगरी राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण नियन्त्रणसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्: