हरेक दशैंमा गुञ्जिन कालजयी ६ नेपाली गीतहरु

२०८२ आश्विन १३

नेपालीहरुको महान चाड दशैंमा हामी जताततै मालश्री धून र दसैँ भावका गीत गुन्जिएको पाउँछौँ । यस्ता गीतसंगीतले मानिसको मनमा उमङ्ग भर्ने काम गर्छ । दशैंमा हरेक वर्ष पुराना गीतसंगीत समेत प्राथमिकतामा पर्छन् । यहाँ दशैंका ६ कालजयी गीत प्रस्तुत गरिएको छ ।

‘दशैं नै हो कि, यो मरो दशा’ गायक योगेश्वर अमात्यको यो गीत हरेक वर्ष दशैंमा धेरै सुनिने गीतमा पर्छ । दशैं धनीका लागि खुसी र गरिबका लागि दुःख भनेर बुझाउने यो गीत सञ्चार दशैं आउनु धेरै अगाडिदेखि प्राथमिकतामा पर्छ । पप रक शैलीमा तयार यो गीत बालबच्चादेखि बुढापाकासम्म पनि रुचाएको गीत हो । प्रायः बुढापाकाहरूले रक पप शैलीका गीतहरू मन पराउँदैनन् । तर यो गीतमा भएका शब्दहरूले उनीहरूको समेत मन छाएको छ ।
‘धानकै बाला’
हरेक वर्षको दशैंमा गुञ्जिने गीतमा ‘धानकै बाला’ पनि एक हो । सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीतले राष्ट्रसेवक कर्मचारीको पीडा झल्कन्छ । जयनन्द लामाको शब्द, सङ्गीत र स्वर रहेको यो गीतमा कोरस गायनमा बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । यो गीत राष्ट्रसेवा कर्मचारीले मात्र नभएर तिनका परिवारले पनि सम्झने गर्छन् ।

‘वर्ष र दिनको रमाइलो चाड’
यस गीतको चर्चा हरेक वर्षको दशैंमा हुन्छ । यो गीत धेरै वर्ष पहिले निर्माण भएको फिल्म ‘मुग्लान’को हो । उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाईं लगायतको स्वर रहेको गीतमा शब्द लोकनाथ सापकोटाले कोरेका हुन् । सुरेश अधिकारीको सङ्गीत रहेको गीतमा दशैंको टिका, जमराको वर्णन गरिएको छ । धन कमाउन विदेशीमा छोराको पर्खाइमा रहेकी बुढी आमाको पिडा गीतमा पोखिएको छ । फिल्ममा यो गीतमा दिलीप रायमाझी, झरना थापा, विपना थापालगायतको अभिनय छ ।
‘यसपालिको दशैंमा ठुल्दाइ’
गायक बादल प्रसाईंको स्वर रहेको यो गीत विशेष गरेर हरेक दशैंमा युवा पुस्ताले रुचाउने गरेका छन् । कामको सिलसिलामा घरबाट टाढा रहेका दाजु घरमा फर्किदा ल्याउने सामान र उत्साह गीतमा व्यक्त गरिएको छ । कुल पोखरेलको शब्द, सङ्गीत रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् ।
‘नमुछे आमा दहीमा टीका नछरे जमरा’
विदेशिएका छोराको मार्मिक बिलौना समेटिएको यो गीतले हरेक वर्ष धेरैलाई रुआउने गर्छ । अध्ययन र रोजगारीको सिलसिलामा दिन प्रतिदिन नेपाली विदेसिन बाध्य छन् । त्यो पीडा समेत यो गीतले मार्मिक रूपमा उठाएको छ । गीतमा विदेशिएकाको बहिनी, श्रीमती, छोराछोरीको कथा छ । भारतीय सेनामा कार्यरत रहँदा पाकिस्तानसँगको युद्धको समय लक्ष्मण रायमाझीले कोरेको गीतमा स्वर तथा सङ्गीत नारायण रायमाझी दिएका हुन् । भिडियोमा रमा थपलिया, देवेन्द्र बाबुल, अञ्जली अधिकारी, रोशन कार्कीलगायतको अभिनय देख्न सकिन्छ ।

‘वर्षमा दिनमा लैलै’
गायक सुगम पोखरेलको स्वर रहेको यो गीत पनि दसैँमा धेरै सुनिने गीतमा पर्छ । गीतले चाड हर्ष र खुसीको दिन भनेर चर्चा गरेको छ । रवि श्रेष्ठको शब्द र गायक पोखरेलकै सङ्गीत रहेको गीतको भिडियोमा निरज, सञ्जीव, कुशल, अस्मिता, सुजित लगायतको अभिनय देख्न सकिन्छ । गीतमा दशैं तिहार दुबै विषय समेटिएको छ । दशैं आउँदा सबै तिर खुसीले भरिने, उमङ्ग, हर्ष छाउने भनिएको छ ।
‘फौजीलाई कुन दशैं’
सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दशैंमा अत्यधिक गुञ्जिने गीतको सूचीमा पर्छ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको सङ्गीत तथा जगदीश समालको स्वर रहेको गीत राष्ट्रसेवक कर्मचारी प्रति समर्पित छ । गीतले दशैंमा घर जान नपाएको एक फौजीको पीडा व्यक्त गरेको छ । उक्त गीत एपीएफले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: