प्रचण्डको विश्लेषण : देश क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा

२०८२ आश्विन ९

काठमाडौं असोज ९, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित नयाँ परिस्थितिका कारण साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध पार्टीले राष्ट्रिय आन्दोलनलाई मुख्य राजनीतिक एजेन्डा बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा देश उभिएको भन्दै वस्तुगत र आत्मगत समिक्षाबाट नयाँ रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याएको एक नेताले जानकारी दिए ।
उनले भने– ‘हामी राजनीतिक एजेन्डाका हिसाबले सही छौँ, तर कार्यान्वयनमा कमजोरी छ। पार्टी र जनताबिचका अन्तर्विरोधका कारण आफ्नै मुद्दामा नेतृत्व लिन नसकेको आत्मसमिक्षा गर्नै पर्छ ।’
प्रतिवेदनमा प्रचण्डले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारको दमन र प्रतिक्रियावादी शक्तिको चलखेलका कारण भयावह नतिजा आएको उल्लेख गरे । आन्दोलनका वैध मुद्दा भए पनि त्यसलाई प्रतिगामी स्वरूप दिन खोजिएको उनको आरोप छ ।
उनले भने–‘संविधान, लोकतन्त्र र क्रान्तिका उपलब्धि जोगाउन हामीले अन्तिम क्षणसम्म पहल गरेका थियौँ । यही कारण आजसम्म संविधान र मूल व्यवस्था बचेको छ।’
प्रचण्डले मङ्सिरमा प्रस्तावित विशेष महाधिवेशन घोषणा गर्दै वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने प्रस्ताव प्रस्तुत गरे। महाधिवेशनमा जेनजी पुस्तालगायत युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गरिने उनले बताए ।
त्यस्तै, तोकिएको समयमा नै आगामी फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए। निर्वाचन तयारीलाई महाधिवेशन तयारीसँगै अघि बढाइने र उम्मेदवारीमा युवा पुस्ता र नयाँ अनुहारलाई प्राथमिकता दिने उनले स्पष्ट पारे ।
समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै उनले संविधान र लोकतन्त्र रक्षा गर्ने सवालमा अन्य शक्तिसँग पनि सहकार्य गरिने बताए। ‘विशेष महाधिवेशनभन्दा अघि नै एकता महाधिवेशन गर्नुपर्ने परिस्थिति आउन सक्छ,’ उनले भने ।
प्रचण्डले पार्टी नेतृत्वदेखि सबै तहसम्म सांस्कृतिक र संस्थागत रूपान्तरण आवश्यक भएको निष्कर्ष निकाल्दै जनअपेक्षा अनुरूप कार्यशैली बदल्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्: