खेल समाचार : पौडी टोली भारत जाने

२०८२ आश्विन ८

काठमाडौं, असोज ८ एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ ।
सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्ने छन् । महिलामा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्ने छन् ।
प्रशिक्षकमा शंकर कार्की, अफिसियलमा दीपक सागर सिंह महर्जन, नविना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बुधबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने
विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।
पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्ने छन् । महिलमा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन् ।
दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् । प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा एतिहासिक रजत पदक जितेकी थिइन् ।
अफिसियलमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे । अध्यक्ष सिवाकोटी बाहेक टोली बिहीबार भारत प्रस्थान गर्ने छ । अध्यक्ष सिवाकोटी केही दिनपछि जाने कार्यक्रम रहेको बताइएको छ ।

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
दक्षिणकाली नगरपालिका वडा ८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ । विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा खेलाडी सम्मानित भएका हुन् ।
सम्मानित खेलाडीमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटी मगर रहेका छन् ।
सोही अवसरमा प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, अमिर राना र अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदिप आचार्य, सल्लाहकार विष्णु बाँस्तोलालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्: