
ललितपुर भाद्र २२, न्हुः पोखरीको उत्तरपूर्व भाग मिचेर बनाइएको भवन बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए ।
ललितपुर महानगरपालिकाले लगनखेलस्थित न्हुः पोखरीको डिलमा रहेका संरचना अवैध भएको भन्दै भत्काएको छ । महानगरपालिकाले आइतवार पोखरीको उत्तरतर्फ रहेका भवनहरु डोजर लगाएर भत्काएको हो ।
न्हुः पोखरीको उत्तरपूर्व भाग मिचेर बनाइएको भवन बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए ।
महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन आग्रह गरेको थियो । महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगर आफैंले संरचना भत्काएको हो । संरचना भत्काउन उल्लेख्य संख्यामा नगर प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।
महानगरपालिकको वडा नम्बर ५ लगनखेलमा रहेको ऐतिहासिक न्हुः पोखरीलाई महानगरपालिकाले पुनःनिर्माण गर्न लागेको छ । सो कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट समेत विनियोजन गरिएको महानगरले जनाएको छ ।
द्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले महानगरपालिकासँग पटक–पटक छलफल गर्दा पनि निकास नदिएको आरोप लगाए । यस सम्बन्धमा उच्च अदालतले अन्तरिम कारण देखाउ आदेश जारी गरेको तर महानगरपालिकाले त्यसको पालना नगरी संरचना भत्काएको उनले आरोप लगाए ।
महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजानिक सम्पत्ति संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको भएको उल्लेख गर्दै गत साउन १६ गतेको निर्णय बमोजिम न्हुः पोखरी उत्तर पूर्वपोखरीको डिलमा रहेका अनधिकृत संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । उक्त अवधिमा संरचना नहटाएपछि महानगर आफैंले हटाएको हो ।
प्रतिक्रिया दिनुहोस्: