म हेपिन तयार छु, देशलाई हेपेको सहन तयार छैनः प्रधानमन्त्री ओली

२०८२ भाद्र २२

काठमाडौं भाद्र २२, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार भए पनि देशलाई हेपेको सहन तयार नरहेको बताएका छन् ।
ललितपुरको गोदावरीमा आइतबार दोस्रो विधान महाधिवेशनमा बोल्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘म आफूलाई जसले जतिसुकै हेपोस् मतलब छैन । तर, देशलाई हेपेको सहन तयार छैन ।’
प्रधानमन्त्री ओलीले यो कुरा सामाजिक सञ्जालसम्बन्धी प्रसंगमा राखेका हुन् । सरकारले दर्ता गर्न नआएका सामाजिक सञ्जाल बन्द गरेको छ ।
तर, यो निर्णयलाई लिएर सरकारको आलोचना भइरहेको छ ।
‘एक वर्षदेखि सामाजिक सञ्जालहरू नेपालको कानुनअनुसार दर्ता हुनुपर्छ भन्दा तिमीहरूको संविधान थाहा छैन भनेर अटेरी गर्ने ?,’ फेसबुकलगायत सामाजिक सञ्जाललाई लक्ष्य गर्दै उनले भने, ‘सामाजिक सञ्जाल दर्ता गर्न आऊ भन्दा ४ जनाको जागिर खोसियो अरे । ४ जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान ?’
उनले यस्ता जागिरको अवसर सिर्जना गरिने पनि बताए ।
‘कानुनअनुसार चल भन्न पनि नपाइने ? राष्ट्रलाई अटेरी गर्ने ? संसारमा कुनै देशले यति निरिहता देखाउँछ ?,’ उनले भने ।
उनले अरू जुनसुकै कुरा सहन सक्ने भए पनि राष्ट्रलाई हेपेको कुरा सहन तयार नरहेको बताए ।
उनले राजनीतिक दलहरूलाई सामाजिक सञ्जाल बन्दका विषयमा निरिहता नदेखाउन पनि आग्रह गरेका छन् ।

बुद्धिजीवीलाई लक्ष्य गर्दै ओलीले सुनाए पुतलीको कथा
‘लिम्पियाधुराबारे चीनमा कुरा उठाएँ, यहाँ सामाजिक सञ्जाल बन्द भयो भनेर प्रचार गरिरहेछन्’
नेकपा (एमाले)को विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आइतबार पनि जारी छ ।
दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा समूहगत छलफल सकेर टोली नेताले प्रस्तुती दिइसकेका छन् ।

यसै क्रममा अध्यक्ष ओलीले पुतलीको कथा सुनाए ।
उनको यो कथा सरकारले सामाजिक सञ्जाल बन्द गरेको विषयतर्फ लक्षित थियो ।
‘म चीन गएर हाम्रो भूमि लिपुलेक, लिम्पियाधुराबारे कुरा उठाएँ, अडान राखेँ तर यो बुद्धिजीवीहरूले देखेनन्, यसबारे यहाँ कुरा उठाएनन्,’ प्रधानमन्त्री ओलीले बुद्धिजीवीलाई लक्ष्य गर्दै भने, ‘दर्ता गर्न नआएका सामाजिक सञ्जाललाई दर्ता गर्न आऊ भनेर सरकारले भनेको विषयलाई सामाजिक सञ्जाल बन्द ग¥यो भनेर प्रचार गरेका छन् ।’
यसपछि उनले कथा सुनाए ;
फूलको रस खाएर पुतली झुम्म परेर निदाएपछि सपनामा मानिस बनेको देखेछ । डाक्टर, इन्जिनियर, मन्त्री बनेको, गाडी चढेर हिँडेको देख्यो । केही समयपछि झल्यास्स ब्युँझियो– उसलाई दिग्भ्रम भएछ– म पुतली हुँ कि मान्छे ? बुद्धिजीवीहरू मानिस हुन् कि पुतली भन्ने भ्रममा बाँचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: