खेल समाचार

२०८२ भाद्र २२

समृद्धि टिम च्याम्पियन
काठमाडौं, भदौ २१, नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।
वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगितामा भारत १० स्वर्णसाथ दोश्रो भएको प्रतियोगिता संयोजक रवि शाहीले जनाएका छन् ।
कुमुतेको पुरुषमा समृद्धिका सविर श्रेष्ठ डंगोल तथा महिलामा मनमैजुकी सपना गिरी उत्कृष्ट खेलाडी घोषित भए । कातामा बेदाङ्गकी अन्भी शाही उत्कृष्ट खेलाडी चुनिइन् । अन्भीले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । प्रशिक्षकमा बेदाङ्गका डम्बरबहादुर आले तथा निर्णायकमा सुवास कार्की उत्कृष्ट ठहरिए ।
विजेतालाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताअन्तर्गत काता र कुमुतेमा गरी ४५ स्पर्धामा २ सय ८३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

इन्डो–नेपाल कराते अन्भीलाई दोहोरो स्वर्ण
काठमाडौं, भदौ २०, नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौलसमूह र ८–९ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् ।
बनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौलसमूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि तामाङ र आश्रिया कार्की तेश्रो भए ।
उमेरसमूहको फाइनलमा अन्भीले नेपालकी अनुष्का महर्जनलाई हराइन् । नेपालकी समृद्धि नेपालले कांस्य हात पारिन् ।
त्यस्तै ४–५ वर्षको महिलामा आर्या महर्जन, ८–९ वर्षको पुरुषमा दिभान्स थापा, १०–१४ वर्षको पुरुषमा अश्विन पुन मगर, १५–१७ वर्षको पुरुषमा प्रिन्स श्रेष्ठ, क्याडेटको महिलामा सुविता गौतम, जुनियर महिलामा बार्बी शर्मा, सिनियर महिलामा बन्दना तामाङ, २०–२५ केजी पुरुषमा प्रमिशसिंह क्षेत्री र ७–८ वर्षको पुरुषमा ऋषि न्यौपाने पहिलो भए ।
पुरुष २५–३० केजीमा सनिश लामा, ४–५ वर्षको पुरुषमा आयान शाही र ८–९ वर्षको पुरुषमा नवाङ फिन्जु शेर्पाले स्वर्ण जिते । बार्बी बाहेक सबै स्वर्ण विजेता नेपालका हुन् । बार्बी भारतकी हुन् ।
प्रतियोगिताको नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले एक कार्यक्रमबीच उद्घाटन गरे । सिरोहियाले केही स्पर्धाका पदक विजेतालाई पनि पुरस्कृत गरे ।
काता र कुमुते गरी ४५ स्पर्धा समावेश प्रतियोगितामा २ सय ८३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रवि शाहीले जनाएका छन् । नेपालका २५ तथा भारतका ५ विद्यालयबाट खेलाडी सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

काष्ठमण्डप कप मंगलबारदेखि
काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । बास्केटबल र फुटसलमा विभिन्न विद्यालयका ४९ टिम सहभागी हुने छन् ।
बास्केटबलको सिनियर ब्वाइजमा र गल्र्समा समान १२–१२ टिम सहभागी हुने आयोजक काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको हातामा भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: