अर्थतन्त्रमा नेपालले राम्रो काम गरेकोमा विश्व बैंकका उपाध्यक्षद्वारा प्रशंसा

२०८२ भाद्र २०

नवराज न्यौपाने
काठमाडौं भाद्र २०, दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटको नेपालको पहिलो पाँच दिने औपचारिक भ्रमण सम्पन्न भएको छ । उक्त अवसरमा जुटले नेपालले आर्थिक क्षेत्रमा गरेको सुधार र प्रगतिको खुलेर प्रसंशा गरेका छन् । यसैसाता नेपाल आएका उपाध्यक्ष जुटले नेपालले शान्ति सुदृढीकरण, सेवा सुधार, लोडसेडिङ अन्त्य, र २०१५ को भूकम्प र कोरोना महामारीबाट अर्थतन्त्रलाई जोगाउन खोलेको भूमिका र रणनीति प्रशंसनीय देखेको विश्व बैंकले प्रेस रिलिजमार्फत जनाएको छ ।
पाँचदिने भ्रमणका क्रममा विश्व बैंकका दक्षिण एसियाका लागि उपाध्यक्ष जोहान्स जुटले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता तथा गहन छलफल गरेका थिए ।
‘सरकार, निजी क्षेत्र र विकास साझेदारका प्रतिनिधिले कृषि व्यवसाय, पर्यटन, सूचना प्रविधि र अन्य विकास क्षेत्रमा नेपालको उपलब्धि र यिनलाई विस्तार गर्न थप सुधारको महत्व एवं विश्व बैंक समूहले के गर्न सक्छ भन्नेबारे नेपालका वरिष्ठ पदाधिकारीसँग छलफल भयो’ उपाध्यक्ष जुटको नेपाल भ्रमणको क्रममा जारी बिज्ञप्तिमा उल्लेख छ ।
जुटले विश्व बैंक समूहको नेपालका लागि नयाँ देश साझेदारी ढाँचाबारे सरकारको १६ औं योजनासँग सम्बन्धित विषयबारे सरकारी अधिकारीहरुसँग छलफल गरेको थिए । सो छलफलमा विश्व बैंकले नेपालका दुई सबैभन्दा महत्वपूर्ण विकास चुनौतीका रुपमा रोजगारी सिर्जना र विपद् उत्थानशीलतालाई एकिन गर्दै यसका लागि सरकार सचेत हुनुपर्ने सुझाव दिएका छन् ।
विश्व बैंक समूहले आगामी छ वर्ष अर्थात २०३१ भित्रमा देश साझेदारी ढाँचाअन्तर्गत नेपाललाई लगभग ४२.७ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ । यसको प्रमुख उद्देश्य पर्यटन र डिजिटल विकाससहित प्रतिस्पर्धात्मक एवं व्यावसायिक वातावरण सुधारेर रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्य रहेको विश्व बैंकले शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: