
काठमाडौं, भदौ १८, समृद्धि स्कुलको आयोजनामा इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने इसीएस निर्देशक विकास शाहीले जानकारी दिाए । १ सय ६२ पुरुष तथा १ सय २१ महिला खेलाडी सहभागी हुने छन् । भारतबाट २० खेलाडी आउने छन् ।
टिम च्याम्पियन र उपविजेतालाई ट्रफी प्रदान गरिने छ । कुमुतेमा उत्कृष्ट पुरुष÷महिला तथा कातामा १ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ । उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि पुरस्कृत हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु बनस्थलीस्थित आयोजक स्कुलकै हातामा खेलाइने छ ।
पत्रकार सम्मेलनमा समृद्धिका एडमिनिस्ट्रेटिभ डाइरेक्टर दिपेन्द्र उप्रेती र अपरेसन डाइरेक्टर दिनेश महर्जनको पनि उपस्थिति रहेको थियो ।
भेट्रान फुटबल भदौ अन्तिम साता
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता भदौ २८ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा मोफसलका ४ सहित १६ टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहका सहभागी हुन पाउने प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।
चावहिल स्पोट्र्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा खेलाइने छ । प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ ।
प्रतिवेदन बुझाइयो
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेका खेल पूर्वाधार उपयोग तथा सन्चालन सम्बन्धी कार्य विधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ । राखेप कार्यकारी समितिकी समेत रहेकी कार्यदलकी संयोजक सुवर्ण श्रेष्ठले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाइन् ।
सदस्य–सचिव घिसिङले कार्यदलले दिएको सुझाव अत्यन्त उपयोगी रहेका भन्दै परिषद्को बोर्ड बैठकले पास गरेपछि कार्यान्वयनमा आउने जानकारी दिए ।
खेलकुद पूर्वाधारहरूको संरक्षण र प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडी मैत्री, सर्वसुलभ र व्यवस्थित ढङ्गले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझाव सहित प्रतिवेदन तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि बुधबार सम्झौता भएको छ ।
ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी, रगत परीक्षण र कुनैपनि आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिने छ । औषधि तथा फार्मेसी सेवा, भर्ना भइ उपचार गर्नु पर्ने अवस्था, अवस्था हेरी माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको भारोत्तोलन संघले जनाएको छ ।
भारोत्तोलन संघले उपलब्ध गराएको योग्य सदस्य र खेलाडीको नामवली, भारोत्तोलन संघको आधिकारिक परिचय पत्र वा सिफारिस पत्रको अधारमा ब्लु क्रसले उपरोक्त सेवा प्रदान गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्: