मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाए सामाजिक सन्जालहरू बन्द गर्ने पत्र

२०८२ भाद्र १९

काठमाडौं भाद्र १९, हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् । अरु बाँकी सबै सामाजिक सन्जालहरू बन्द हुनेछन् ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले नियमन गर्न भन्दै तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पालामा सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० तयार पारेको थियो । त्यसलाई २०८० साल कात्तिक २३ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।
सो निर्देशिकामा नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तीन महिनाभित्र सूचीकृत भएर अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । ती प्लेटफार्महरुले हरेक तीन÷तीन वर्षमा अनुमतिपत्र नवीकरण पनि गर्नुपर्ने व्यवस्था छ ।
सूचीकरण नभएका सामाजिक सन्जाल प्लेटफर्मलाई जुनसुकै बखत बन्द गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । साथै सामाजिक सञ्जाल प्लेटफार्म सूचीकरण र अनुमतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ‘सामाजिक सञ्जाल व्यवस्थापन इकाइ’ गठन गर्ने व्यवस्था छ ।
सोही अनुसार सरकारले २०८२ वैशाखमा सूचीकरण हुन भनेको थियो । तर अपेक्षाकृत सामाजिक सन्जालहरु दर्ता प्रक्रियामा नआएपछि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १२ भदौमा सूचना जारी गर्दै फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनलगायतलाई दर्ता हुन आह्वान गरेको थियो । तर, बुधबार मध्यरातिसम्म पनि औपचारिक निवेदन नपरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।
सूचीकरण नभएका सामाजिक सञ्जाल ’निष्क्रिय’ बनाउने सञ्चार मन्त्रालयको निर्णय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाउने निर्णय गरेको छ ।
मन्त्रालयका अधिकारीहरूको बिहीवार दिउँसो बसेको बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बीबीसीलाई बताए ।
यसअघि गत साता मन्त्रालयले सामाजिक सञ्जालहरूलाई ‘अन्तिम पटकका लागि’ भन्दै सूचीकरणका लागि एक साताको समयसीमा दिएको थियो ।
सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा अगाडि भनिएको छ ।
“समयसीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्ल्याट्फर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ ।’’

सामाजिक सञ्जाल बन्दले तत्काल पर्ने मुख्य ४ असर
सरकारले सूचीकरणमा नआएको भन्दै सामाजिक सञ्जाल बन्द गराएको छ । यसले ठूलो सम्पर्कको माध्यम टुट्ने अवस्था सिर्जना भएको छ ।
काठमाडौं भाद्र १९, सरकारले सूचीकरणमा नआएको भन्दै फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालका प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ । गत साता सरकारले सात दिनको समय तोकेर दर्ताको आह्वान गरेको थियो । तर उक्त समयमा दर्ता नभएपछि सञ्चार मन्त्रालयले सूचीकरणमा नभएका सञ्जालहरु बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले प्ल्याटफर्मले ७ दिनभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी समेत तोक्नुपर्नेछ भनेको थियो । त्यो नभएपछि बन्द भएको हो ।
हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।
आम मानिसको जीवन शैली बनिसकेको समाजिक सञ्जाल बन्दबाट धेरै असर पर्न सक्छ ।
केही दिन अघि सामाजिक सञ्जाल बन्द भए त्यसको के के असर पर्छ भन्नेमा विज्ञहरुको मत सहितको सामग्री सम्प्रेसण गरेको छ । त्यसक्रममा विज्ञहरुले सामाजिक सञ्जाल बन्दका मुख्य असरहरुबारे बताएका थिए । उनीहरुका विचारका आधारमा सामाजिक सञ्जाल बन्दले तल्काल यी चार असर पर्नसक्छन् ।

१. साइबर जोखिम
साइबर सुरक्षा विज्ञ डा. राजीव सुब्बाले सामाजिक सञ्जाल बन्द भए साइबर सुरक्षा जोखिम बढ्ने बताएका थिए । कारण, केही कुरा बन्द हुँदा विकल्प खोज्ने मानवीय स्वभाव नै हो । त्यसमा पनि भीपीएनको प्रयोग झन् बढेर जान्छ । त्यसैले हाम्रोजस्तो साइबर चेतनास्तर कम भएको मुलुकमा नागरिकले विकल्प खोज्दा साइबर सुरक्षाको जोखिम झन् बढ्नसक्ने उनको भनाइ थियो ।
सुब्बाकाअनुसार टिकटक बन्द हुँदा धेरैले निःशुल्क भन्दै विभिन्न खाले भीपीएन प्रयोग गरे, जुन नियमन नभएका र असुरक्षित हुन्छन् । उनकाअनुसार निःशुल्क भीपीएनहरूले प्रयोगकर्ताको स्क्रिनशट, कीबोर्ड डेटा, र पासवर्ड संकलन गर्न सक्छन्, जसले बैंकिङ ठगी र साइबर अपराधलाई बढावा दिन्छ ।
यस्ता भीपीएनहरू ‘नन–एट्रिब्युटेबल’ हुने भएकाले अपराधीलाई कारबाही गर्न कठिन हुन्छ । टिकटक बन्द हुँदा भीपीएनमार्फत धेरै साइबर अपराधका घटना भएका उदाहरण छन् । सुब्बाका अनुसार नागरिकले विकल्प खोज्दा झन् साइबर जोखिमको सिकार हुने सम्भावना हुन्छ । अपराधीले पनि यस्ता मौका कुरेर बसिरहेका हुन्छन् ।’

२. सामाजिक सम्बन्ध र सम्पर्कमा असर
अधिकांश नेपाली परिवारका युवा बाहिर छन् । तिनै आप्रवासीले देशको अर्थतन्त्र धानिरहेको अवस्था छ । र, उनीहरुको नेपाल वा घरसँगको सम्बन्धको लागि सबैभन्दा महत्वपूर्ण हिस्सा बनिसकेको छ सामाजिक सञ्जाल । यी बन्द हुँदा त्यो क्षेत्रमा विशेष असर गर्नसक्ने समाजशास्त्री डा. मीना पौडेलले बताएकी थिइन् ।
उनका अनुसार वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक र उनीहरूका परिवारको सामाजिक–भावनात्मक सम्बन्धमा ठूलो असर पर्न सक्छ । उनकाअनुसार सञ्जालले विदेशमा रहेका श्रमिकलाई परिवार, समाज र संस्कृतिसँग जोडिराखेको छ । प्लेटफर्म बन्द भएमा श्रमिक र परिवार बीचको भावनात्मक सम्बन्ध टुट्छ, जसले नैराश्यता, एक्लोपन र मनोवैज्ञानिक दबाब बढाउँछ ।

३. व्यवसाय र स्टार्टअपमा धक्का
अहिले ठूलो समूह समाजिक सञ्जालबाट व्यवासय गर्ने गर्छन् । त्यसैले यसले नेपालको अनौपचारिक अर्थतन्त्र प्रभावित हुनसक्छ । सामाजिक सञ्जाल हाम्रो मार्केटिङको सबैभन्दा ठूलो प्लाटफर्म बनिसकेको छ । यकिन तथ्याङ्क नरहेपनि ग्राहकदेखि बिक्रेतासम्म सामाजिक सञ्जालमा भर पर्न थालेका छन् । सामान किन्दा वा चाहिएको कुरा खोज्दा धेरैजसो सामाजिक सञ्जालमै भर पर्ने गरेका छन् । त्यसैले यो बन्दा हुँदा मार्केटिङ सबैभन्दा ठूलो च्यानल गुम्छ ।
पछिल्लो समय युवाहरुले कम लागतमा स्टार्टअप गर्ने सबैभन्दा ठूलो आधार सामाजिक सञ्जाल नै बनेको छ । यसबाट कन्टेन्ट मार्केटिङ गरेर व्यवसायमा हात हाल्न सहज भएको छ । नेपालमा सामाजिक सञ्जाल बन्द हुँदा यो तप्का प्रभावित हुन्छ ।
त्यस्तै, यदि फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्म बन्द भए नेपाली स्टार्टअप र अनौपचारिक अर्थतन्त्रमा ठूलो असर पर्ने व्यसायीहरुको धारणा छ ।
सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्दा अनौपचारिक अर्थतन्त्रमा ठूलो धक्का पुग्ने अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीको धारणा छ । सामाजिक सञ्जाल साना÷ठूला व्यवसायी र स्टार्टअपका लागि मार्केटिङको प्रमुख आधार बनेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको २०१८ को आर्थिक गणनाले नेपालमा ९ लाख २३ हजार व्यवसाय रहेको देखाउँछ, जसमध्ये ४९ प्रतिशत दर्ता नभएका अनौपचारिक छन् । यस्ता व्यवसायले सामाजिक सञ्जालमार्फत बजार विस्तार, विज्ञापन र आयआर्जन गरिरहेका छन् । त्यस्तै, आईएफसी (इन्टरनेशनल फाइनान्स कर्पोरेसन) को एक अध्ययनले पनि अनौपचारिक क्षेत्रले अर्थतन्त्रको ३८ प्रतिशत योगदान दिएको देखाएको थियो ।

४. अभिव्यक्ति स्वतन्त्रतामा संकुचन
सञ्जाल बन्द हुँदा यसले अभिव्यक्ति स्वतन्त्रतामा पनि संकुचन ल्याउँछ । सेन्टर फर मिडिया रिसर्चका निर्देशक समेत रहेका मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्यका अनुसार सामाजिक सञ्जाल बन्दा भए अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सम्पर्कमा क्षति पुग्छ ।
सामाजिक सञ्जाल नेपालीहरूका लागि सञ्चार, अभिव्यक्ति र व्यापारिक गतिविधिको प्रमुख माध्यम बनेको छ । त्यसैले विकल्प विना बन्द हुँदा यसले अभिव्यक्ति खुम्च्याउँछ । व्यक्तिहरुको लागि अहिले सामाजिक सञ्जाल सञ्चारको ठूलो आधार बनेको छ । यो हुँदा अभिव्यक्ति स्वतन्त्रतासँगै सञ्चार पनि खुम्चिन्छ । कुनै पनि अनियमिततादेखि अरू कुरा विरुद्ध आवाज उठाउन पनि यसले सहयोग पु¥याएको छ ।
फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं भाद्र १९, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो ।
‘सूचीकरण नभएका सामाजिक सन्जालहरु आजबाट क्रमशः बन्दको निर्णय लागू हुन्छ,’ सञ्‍चारमन्त्री गुरूङले अनलाइनखबरसँग भने। उनका अनुसार अब सूचीकरणमा आउने सामाजिक सञ्जाललाई दर्ता गरेर मात्रै खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्: