
ज्ञान निकेतन, रिब्स र एलएलाई उपाधि
काठमाडौं भाद्र १७, ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स (एलए) ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलमा मंगलबार च्याम्पियन बनेका छन् । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्र्समा रिब्स च्याम्पियन बने । एलएले फुटबलको उपाधि चुम्यो ।
खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको हलमा भएको ब्वाइज बास्केटबल फाइनलमा ज्ञान निकेतनले टीआईएलाई ७७–७२ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा दिप्सन अधिकारीले ३२ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा सुप्रिया मल्लको २१ अंक सहयोगमा रिब्सले मल्पी इन्टरनेसनललाई ४१–१६ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिप्सन र सुप्रिया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
पाँच टिम सहभागी ब्वाइज फुटबलमा पहिलो भएको एलएले सर्वाधिक १२ अंक जोड्यो । राउन्ड रोविन लिगमा एलएले बृहस्पति विद्या सदनलाई ६–०, द एक्सेल्सियर स्कुललाई २–०, आयोजक ज्ञानोदयलाई ३–१ र मल्पीलाई ६–१ गोलले पराजित गरेको थियो । बृहस्पति ७ अंकसाथ दोश्रो भयो । बृहस्पतिले एक्सेल्सियर र मल्पीलाई हराएको थियो । ज्ञानोदयसंग बराबरी खेलेको बृहस्पति एलएसंग पराजित भएको थियो ।
विजेतालाई आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु एलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।
एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबल उपाधि
काठमाडौं भाद्र १६, एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई ४९–४२ ले पराजित गर्यो । एन्जल लर्डको जितमा अभय गुरुङले २२ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा स्मृति पोखरेलको १६ अंक सहयोगमा बागमतीले पनि नेमोनिकलाई ३७–२५ ले हरायो ।
ब्वाइजमा एन्जल लर्डका समिर मगर र गल्र्समा बागमतीकी स्मृति पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा नेमोनिकका विपेश थिङ र गल्र्समा नेमोनिककी वर्षा खड्का उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा रेनिस लामा र गल्र्समा अस्मिता थापा सर्वाधिक स्कोरकर्ता बने । दुवै नेमोनिका हुन् ।
ब्वाइजमा मार्वलस र गल्र्समा काठमाडौं जेभियर्स पब्लिक स्कुल अनुशासित टिम ठहरिए । ब्वाइजमा आकाश दीप तथा गल्र्समा विन्सम ‘इमर्जिङ टिम’ बने ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, आयोजक टाइमलाइनका प्रिसिन्सपल रामप्रसाद बडाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जनाएका छन् ।
कराते टोली चीन जाने
एकेएफ यु–२२ कराते च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली मंगलबार चीनको शाओगाउँ जाने भएको छ ।
सेप्टेम्बर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र ३ महिला गरी ९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ६७ केजीमुनि प्रदीप बइजाली मगर, कातामा जावेद रेहान, ५५ केजीमुनि साइमन श्रेष्ठ, ६८ केजीमुनि निशान तामाङ, ६१ क्ेजीमुनि सन्दिप तामाङ र ७६ केजीमाथि निगम तिम्सिनाले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ६१ केजीमुनि मनीषाकुमारी बोहरा, ५० केजीमुनि अन्जली मगर र ५३ केजीमुनि सोनाम शेर्पाले खेल्ने छन् । अफिसियलमा राजेन्द्र बराल र प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । कुशल भने चीन पुगिसकेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
स्केटिङ टोली माल्दिभ्स जाँदै
अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दै छ ।
सेप्टेम्बर ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा रोज बडू, जुन बडू, समिरन भुसाल, प्रिसा खाँड, जेहाना अर्याल र कस्वि भट्टराई सहभागी हुने छन् ।
अफिसियलमा निलम बानियाँ बडू र सानी महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । हेड कोच दिलिपराज बराल पनि समापन समारोहमा सहभागी हुन माल्दिभ्स जाने छन् ।
विमला थाइल्यान्ड जाने
एथलेटिक्स प्रशिक्षक विमला राना मगर प्रशिक्षक प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने छिन् । प्रशिक्षण भदौ १८ देखि २० तारिखसम्म हुनेछ ।
विमलालाई नेपाल एथलेटिक्स संघका उपाध्यक्ष शैलेन्द्र खनाल, महासचिव सन्जिव तुलाधरलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
ब्याडमिन्टन पदक विजेतालाई बधाइ
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली क्षेत्रीय जुनियर ब्याडमिन्टन प्रतियोगिताका पदक विजेतालाई सोमबार बधाइ दिएका छन् । भुटानको थिम्पुमा अगष्ट १५ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ३ रजत र १ कांस्य जितेको थियो ।
मिक्स टिममा दीप थिङ, निभा राई, सन्देश राजकोटी र सोर्लिन श्रेष्ठ, पुरुष डबल्समा दीप र सन्देश तथा मिक्स डबल्समा दीप र निभाले रजत जितेका थिए । दीपले पुरुष सिंगल्समा पनि कांस्य जिते । नेपालले सबै पदक यु–१५ उमेरसमूहमा पदक जितेको हो ।
प्रतिक्रिया दिनुहोस्: