२५ जनाको मिर्गौला निकाले : तस्करलाई ९ लाख, पीडितलाई ५ हजार

२०८२ भाद्र १५

काठमाडौं भाद्र १५, काठमाडौं उपत्यका आसपासका जिल्लाहरूबाट मानिसहरूलाई ‘काम मिलाइदिन्छौं’ भन्दै भारत लगेर मिर्गौला तस्करी गर्ने समूहको मुख्य नाइकेसहित ७ जना पक्राउ परेका छन् ।
उक्त कार्यमा मानव बेचबिखन ब्यूरोको सक्रियतामा उक्त मिर्गौला तस्करहरुलाई नियन्त्रणमा लिन सफल भएका छन् ।
साउन २० मा प्रहरीको मानव बेचबिखन ब्यूरोले राकेश नेपाली, समीर नेपाली र राजकुमार नेपालीलाई पक्राउ गरेको थियो । उनीहरूको बयानको आधारमा मुख्य नाइके सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी भारतबाट पक्राउ परेका हुन् ।
भण्डारीका सहयोगी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भएका २९ वर्षीय सुजन भारती पनि पक्राउ परेका छन् । भण्डारी र भारती नयाँ दिल्ली स्थित लाजपत नगरमा बस्दै आएका थिए ।
भारतमा बस्नेहरूलाई उपत्यका आसपासका जिल्लाहरू काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र धादिङबाट मिर्गौला दाता संकलन गरेर लैजाने थप दुई जना आइतबार काठमाडौंबाट पक्राउ परेका छन् । सविन पन्त र राजकुमार तामाङलाई काठमाडौंबाट पक्राउ गरिएको थाहा भएको छ ।
आरोपीहरू विरुद्ध ५ जना पीडितहरूले प्रहरीकहाँ जाहेरी दिएका छन् । ७ जनाविरुद्ध ४ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको एसएसपी पङ्गेनीले पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनले भने, ‘यो संगठित गिरोह रहेछ ।’
गाउँमा गएर ग्राहक खोज्दा आरोपीहरूले ६ लाखसम्मको प्रलोभन दिने गरेका थिए । तर, पीडितहरू कसैले पनि रकम पाएनन् ।
नयाँ दिल्लीमा लगेपछि निजी अस्पताल र क्लिनिकमा लगेर पीडितहरूलाई आँखामा पट्टि बाँधेर ३–४ दिनसम्म राखेर मिर्गौला निकाल्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मिर्गौला निकालेपछि गिरोहका सदस्यहरूले पीडितहरूलाई पैसा दिँदैनथे । अहिलेसम्म एक जना पीडितले जम्मा ५ हजार लिएको प्रहरीसँग बताएका छन् ।
तर, गिरोहका मुख्य नाइके श्यामकृष्ण भण्डारीले ९ लाख ४० हजार नेपाली रुपैयाँ (६ लाख भारु) लिने गरेको स्विकारेका छन् । ‘मिर्गौला प्रत्यारोपण गरिएका मानिसहरूबाट उनले सो रकम लिँदा रहेछन् । तर, पीडितहरूलाई भने रकम नदिईकन नेपाल फिर्ता पठाउने गरेको भेटिएको छ ।
२०८१ साउनमा सो गिरोहले काठमाडौँबाट दुई जना दम्पतीलाई भारत लगेका थिए । ४८ वर्षीय र ४७ वर्षीया दम्पतीको मिर्गौला निकालेपछि घाइते शरीर लिएर नेपाल फर्किए । अनुसन्धानमा संलग्न एसपी रुगम कुँवर भन्छन्, ‘आलो घाउ लिएर उहाँहरू हामीकहाँ आउनुभएको थियो ।’
दिल्लीमा बसेर मिर्गौला तस्करीमा संलग्न मुख्य व्यक्ति पहिलो पटक पक्राउ परेका हुन् । उनीहरूलाई पक्राउ गर्न ब्यूरोले ‘अपरेसन सिल्ड’ सञ्चालन गरेको थियो । मुख्य नाइके भण्डारीलाई कञ्चनपुरको महेन्द्रनगर र भारतीलाई पर्साको वीरगन्जबाट पक्राउ गरिएको एसएसपी पङ्गेनीले दाबी गरेका छन् ।
२५ जनाको मिर्गौला निकालेको स्वीकार
गिरोहको मुख्य नाइके श्यामकृष्ण भण्डारी लामो समयदेखि भारतमा बस्दै आएका थिए । उनले अहिलेसम्म २५ जना नेपालीको मिर्गौला भारतमा बेचबिखन गरेको स्विकारेका छन् । ब्युरोमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी कृष्ण पङ्गेनीले भने, ‘मुख्य आरोपीले २५ जनाको मिर्गौला निकालेको हामीसँग स्वीकार गर्नुभएको छ ।’
तस्करीमा संलग्न मध्येका ३ जना आफूले पनि मिर्गौला बेचेको अनुसन्धान अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार समीर नेपाली, राजकुमार परियार र सुजन भारती पहिले आफैँ मिर्गौला तस्करबाट पीडित भएपछि ग्राहक खोजेर दिल्ली लैजाने धन्दामा संलग्न भएका हुन् । अवैध अङ्ग प्रत्यारोपण सम्बन्धी कसुरमा ब्यूरोले पछिल्लो ७ वर्षमा १४ वटा मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्: