इम्बोस्ड नम्बर खारेज गर्न साहित्यिक क्षेत्रको माग

२०८२ भाद्र १५

काठमाडौं भाद्र १४, सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा ५३ भन्दा संघ–संस्थाले ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी गरेका छन् । उक्त संस्थाहरूको आज बसेको संयुक्त बैठकले विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ–
ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण
“नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक÷सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै प्रकारको छलफल, सरसल्लाह र परामर्श नगरीकन नेपाल सरकारले एकतर्फी निर्णय गरी अङ्ग्रेजी अक्षर मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्न जबर्जस्ती गर्न लागेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालभित्रैका सवारीसाधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान, सरकार आफैँले निर्णय गरी राजपत्रमा निकालेको सूचना र आम नेपाली जनताको मर्म र भावना विपरीत भएकाले तत्काल यो भाषाघाती निर्णय सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छौं । यदि यो निर्णय नसच्चिए यसबाट उत्पन्न हुने सबै परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कुरा पनि अत्यन्तै गम्भीरता र जिम्मेवारीपूर्वक सरकारलाई यही विज्ञप्तिमार्फत् अवगत गराउँदछौं ।

प्रतिक्रिया दिनुहोस्: