
काठमाडौं भाद्र १५, बानेश्वर क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालनिकट नेताहरूले छुट्टै भेला गरेका छन् ।
पूर्वसचिव जीवनराम श्रेष्ठको अगुवाइमा भएको यो भेलामा झलनाथ र घनश्याम भने उपस्थित थिएनन् ।
पूर्वसचिव समेत रहेकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, वरिष्ठ नेता घनेन्द्र बस्नेत, हरि पराजुली, विजय पौडेल, लक्ष्मण लम्साल, नरेश शाहीलगायत ५० जनाजति केन्द्रीय नेताहरू सहभागी रहेको जनाएको छ ।
‘हामीले केन्द्रीय कमिटीको तयारीस्वरूप यो छलफल गरेको हो, छलफलमा अध्यक्ष माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा, संगठन परिचालनलगायत विषयमा कुराकानी भयो,’ ती नेताले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि सम्मानित नेता खनालले अध्यक्ष नेपाललाई लक्ष्य गर्दै पद छाड्न भनेका थिए । त्यसपछि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच आरोप–प्रत्यारोप नै भएको थियो ।
एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पक्षबीच मतभेद छ । मतभेदकै कारण युवा संघ र अनेरास्ववियूमा समानान्तर कमिटीसमेत बनेका छन् ।
पार्टीले भदौ २५ गते सचिवालय, २६ गते स्थायी कमिटी र २७ देखि केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसकै तयारीका लागि झलनाथ र घनश्याम पक्षले बेग्लै भेला गरेका स्रोतको दावी छ ।
‘सम्मानित नेता डल्लुस्थित निवासमै हुनुहुन्छ, कहाँ, कसले, किन भेला राखेको हो उहाँलाई जानकारी पनि छैन,’ सचिवालय स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस्: