जनार्दन शर्माले नपत्याएर पार्टी रोकिँदैनः प्रचण्ड

२०८२ भाद्र १२

काठमाडौं भाद्र १२, नेकपा माओवादी केन्द्रभित्र केही समययता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच वाकयुद्ध उत्कर्षमा छ ।
पछिल्लोपटक प्रचण्डले आफूले खाँबो थामेजस्तो लाग्ने, आफूले छाडेका दिन गल्र्यामगुर्लुम ढल्छ जस्तो लाग्ने बताएका थिए । उनलाई जबाफ दिने क्रममा जनार्दनले पनि शेषनागले पृथ्वी थामेको भ्रम पालेजस्तो कसैले पनि महसुस गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
यही क्रममा अध्यक्ष प्रचण्डले जनार्दनविरुद्ध अर्को कठोर अभिव्यक्ति दिएका छन् ।
पार्टीको कोशी प्रदेश कमिटी सचिवालय बैठकमा सहभागी हुन बिहीबार बिहान विराटनगर आइपुगेका प्रचण्डले ‘एक जना प्रभाकरले आफूलाई नपत्याउँदैमा केही नहुने’ भनेका हुन् ।
विमानस्थलमा तपाईंलाई आफ्नैले पत्याएका छैनन् नि भन्ने पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले भने, ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन । यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रस्ट पारेको छ ।’
पत्रकारहरुले विवाद चर्काउने गरी प्रश्न सोध्ने गरेको गुनासो गर्दै उनले थपे, ‘तपाईँहरु यसलाई चर्काउने ढंगले प्रश्न गर्न जरुरी पनि छैन । हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा उहाँले के भनेको त्योबारे पनि हामी फेरि छलफल गर्नेछौं ।’
प्रचण्डले बारम्बार पार्टीभित्र स्वार्थ समूहहरू रहेको बताउँदै आएका छन् । ती स्वार्थ समूह को हुन् भनेर प्रचण्डलाई पत्रकारहरूले विराटनगरमा प्रश्न गरे ।
यसको उत्तर दिने क्रममा पनि निशाना जनार्दनतिरै सोझ्याए ।
‘अब स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नु पार्टीकाविरुद्ध गतिविधि गर्नेलाई भनिएको हो ।’

प्रतिक्रिया दिनुहोस्: