महानगरअगाडि बालेनविरूद्ध नाराबाजी

२०८२ भाद्र ११

काठमाडौं भाद्र ११, काठमाडौं महानगरपालिकाले ज्यादती गरेको भन्दै कवाड व्यवसायीले बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।भृकुटीमण्डपबाट सुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादीस्थित काठमाडौँ महानगरपालिकाको कार्यालयसम्म पुगेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले महानगर घेराउ गरेका थिए ।
कबाड व्यवसायी सङ्घर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने माग गरे ।
सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने उनले बताए । कानुनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन जारी रहने उनले बताए ।
शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीलाई काठमाडौँका सुकुम्बासीले पनि साथ दिएका छन् । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास मोर्चाका अध्यक्ष कालबहादुर विकले कबाड आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै आन्दोलनलाई समर्थन गरेको बताए ।
कबाड आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गरलगायतका नारा लगाएका छन् ।
कबाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कबाड व्यवसायी, सङ्कलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
त्यसैगरी, कबाड व्यवसायी, सङ्कलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कबाड व्यवसायीमाथि पु¥याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।
यसैबिच, आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले काठमाडौँ महानगरको विरुद्ध लगातार तीन दिनदेखि जारी कबाड आन्दोलनप्रति सरकार गम्भीर नहुनु दुःखद भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: