
गत आर्थिक वर्ष २०८१/८२ मा कुल २ करोड १६ लाख क्विन्टल उखु क्रसिङ भएको सरकारी तथ्याङ्क छ । प्रतिक्विन्टल ३५ रुपैयाँका दरले हिसाब गर्दा किसानले कुल ७५ करोड ६० लाख रुपैयाँ अनुदान पाउनुपर्ने देखिन्छ । मन्त्रालयले सोही रकम भुक्तानीका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ ।
तर, किसानले भने १ अर्ब ५१ करोड २० लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने माग गरिरहेका छन् ।
उखु उत्पादक महासंघको नेतृत्वमा प्रदर्शनका लागि काठमाडौं आएका किसानहरू अहिले नारा–जुलुससहित माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ अगाडि बढेको महासंघका संयोजक श्यामबाबु रायले जानकारी दिए ।
उनले कृषि मन्त्रालयले किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ नै अनुदान दिने प्रक्रिया अगाडि बढाए पनि आफूहरू ७० रुपैयाँ नै अनुदान पाउनुपर्नेमा अडिग रहेको बताए ।
उनका अनुसार आज बिहान करिब साढे १० बजे कृषिमन्त्री रामनाथ अधिकारीले किसानहरूलाई छलफलका लागि बोलाएका थिए । भेटमा मन्त्रीले मन्त्रिपरिषद्को पुरानो निर्णय अनुसार नै प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने प्रक्रिया अघि बढिसकेको जानकारी दिएका थिए ।
‘मन्त्रीज्यूले अर्थ मन्त्रीलाई पनि अनुरोध गरेको हो, मन्त्रिपरिषद्मा पनि कुरा राखेको हो, तर हाललाई ३५ रुपैयाँको प्रक्रिया नै अघि बढेको छ भन्नुभयो,’ रायले अनलाइनखबरसँग भने, ‘तर, हामीले स्पष्टसँग भन्यौं, हाम्रो माग ७० रुपैयाँ नै हो, त्योभन्दा कम हामीलाई स्वीकार्य छैन ।’
कृषिमन्त्री अधिकारीले मुख्यसचिव एकनारायण अर्यालसँग पनि यस विषयमा कुरा भएको र किसानहरू घेराबन्दीमा उत्रिएको बारे जानकारी गराएको बताएको रायले बताए ।
किसानहरूसँगको भेटमा कृषिमन्त्री अधिकारीले आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको र त्यहाँबाट केही निर्णय हुन सक्ने संकेत दिएका छन् । ‘आज मन्त्रिपरिषद् बैठक छ, त्यहाँबाट के निर्णय हुन्छ, हेरौं भनेर मन्त्रीज्यूले भन्नुभएको छ,’ महासंघ संयोजक रायले भने ।
भेटका क्रममा कृषिमन्त्रीले वार्ता समिति बनाएर छलफल गर्न प्रस्ताव समेत गरेका थिए । किसानहरूले वार्तामार्फत नै समाधान खोज्न आफूहरू तयार रहेको बताएका छन् ।
‘हामी उग्र रूपमा प्रस्तुत हुन आएका होइनौं, हाम्रो माग सम्बोधन होस् भनेर शान्तिपूर्ण रूपमा आएका हौं । वार्ताबाटै समाधान होस् भन्ने हाम्रो पनि चाहना हो,’ उनले भने ।
सरकारले अनुदान वितरण प्रक्रिया अघि बढाएको छ, तर किसानहरूको मूल माग सम्बोधन नभएकाले उखु किसान र सरकारबीचको विवाद तत्काल समाधान हुने देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्: