
काठमाडौं साउन ३१, राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहणसमेत गरेका छन् । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित कृष्ण मन्दिर र भक्तपुरको दत्तात्रय स्थित नारायण मन्दिरमा पुगेका हुन् ।
राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।
किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा यस वर्ष पनि परम्परागत नारायण दीप यात्रा (मतया पर्व) भव्य रूपमा सम्पन्न गरिएको छ ।
भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको यात्रामा बालबालिकादेखि युवासम्मले हात र टाउकोमा बत्ती राखी, खाली खुट्टा नगर परिक्रमा गरेका थिए। जनविश्वासअनुसार यस पर्वले मानिसभित्रका नकारात्मक प्रवृत्तिको अन्त्य गरी समाजमा शान्ति फैलाउने विश्वास गरिन्छ ।
दीप यात्रासँगै घिनताङ घिसी, माक प्याखं लगायतका परम्परागत नाच–नृत्य पनि प्रस्तुत गरिएको थियो । भक्तपुरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका अवसरमा यो यात्रा निकाल्ने परम्परा रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस्: