
काठमाडौं साउन ३१, आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ ।
शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारमाथि अपशब्द प्रयोग, गालीगलौज, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्की जस्तो गम्भीर कार्य कुनै पनि दृष्टिले स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।
प्राप्त विवरणअनुसार पत्रकार बानियाले आफ्नो पेशागत दायित्वअनुसार आर्थिकन्युज डटकममार्फत साउन २९ गते ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । समाचारमा आर्थिक पारदर्शिता, नियुक्ति प्रक्रियामा देखिएका अनियमितता र जिम्मेवार निकायको मौनता जस्ता सार्वजनिक सरोकारका संवेदनशील विषय उठाइएको थियो ।
उक्त समाचारप्रति असन्तुष्ट बनेका ट्रमा सेन्टरका केही कर्मचारीले पत्रकारमाथि व्यक्तिगत रूपमा आक्रामक, अपमानजनक र धम्कीपूर्ण व्यवहार देखाएका छन् । यो कार्य प्रेस आचारसंहिता २०७३ को धारा ५ (पत्रकारमाथि शारीरिक तथा मानसिक आक्रमण नगर्ने) को प्रत्यक्ष उल्लंघन भएको र मुलुकी फौजदारी संहिता २०७४ अनुसार दण्डनीय अपराध समेत हुने शाखाले विज्ञप्तिमा स्पष्ट पारेको छ ।
काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले पत्रकारमाथि भएको आपराधिक तथा अमानवीय आक्रमणको घोर भत्र्सना गर्दै सम्बन्धित सुरक्षा निकाय र प्रशासनलाई तत्काल, निष्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “स्वतन्त्र प्रेस, सत्य सूचनाको अधिकार र निर्भीक पत्रकारिता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ हुन् । यस्ता आक्रमणहरूले पत्रकारहरूमा त्रास, असुरक्षा र आत्म–सेंसरको वातावरण सिर्जना गर्छन् जसले अन्ततः नागरिकको सूचनाप्राप्ति अधिकारमै चोट पु¥याउँछ ।”
शाखाले पत्रकारको सुरक्षा सुनिश्चित गर्नु सरकार, न्यायिक निकाय, प्रहरी प्रशासन र नागरिक समाजको साझा दायित्व भएको स्मरण गराउँदै यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाउन सम्बद्ध सबै पक्षसँग दृढ आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: