कुराशमा प्रशान्तलाई कांस्य
काठमाडौं साउन १८, नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन् । दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनि तौलसमूहमा कांस्य जितेको नेपाल कुराश संघले जनाएको छ । प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएपछि कांस्यमा सीमित भए ।
एसियाली कुराश महासंघको आयोजनामा जुलाइ ३० तारिखदेखि सुरु भइ अगष्ट ५ तारिखसम्म चल्ने प्रतियोगितामा प्रशान्तको स्पर्धामा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपेईं), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालबाट २ खेलाडी सहभागी छन् । नामशाङ सामसोङ जुनियर पुरुष ५२ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा कृति शर्माले ५२ केजीमुनि कास्य पदक जितेकी थिइन् ।
प्रतियोगिताका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा पनि भाग लिएको कुराश संघले जनाएको छ ।
नेपाली यु–२० महिला रग्बी टोली घोषणा
काठमाडौं, साउन १८– नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ ।
भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यसै ट्रफीका लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषण गरेको हो । पछिल्लो संस्करण यस उमेरसमूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । यसपल्टमा भने भारतले आयोजना गर्न लागेको हो । नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छिन् । सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो ।
नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्लो एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए । यो टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट समान ८÷८ आठ पुरुष÷ महिला यु–टोलीले प्रतिस्पर्धा गर्दैछन् । बिहारस्थित राजगीर रंगशालामा खेल खेलाइने रग्बी संघले जनाएको छ ।
एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न
एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एवम् चौथो बार्षिकोत्सव समारोह कार्यक्रम श्रावण १८ गते आईतवार काठमाण्डौंमा सम्पन्न भएको छ । किर्तिमानी धावक बैकुन्ठ मानन्धरको प्रमुख आतित्यथा र सल्लाहाकार मोहन नेपालको सभापतित्वमा संचालन भएको उक्त समारोहमा अध्यक्ष राजन खत्रीले आ.व.२०८२÷८३ को बार्षिक कार्यक्रम र बजेट, महासचिब मन्जु श्रेष्ठको तर्पmबाट बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम महतले आय÷व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।
सोही समारोहमा एथलेटिक्स खेलका लामो दूरीका धावक÷धाविकाद्धय त्रिभुवन आर्मी क्लबका खड्कबहादुर खड्का र पुर्णलक्ष्मी न्यौपाने, एथलेटिक्स प्रशिक्षकद्धय सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
एथलेटिक्स परिवार, नेपालले आ.व.२०८१÷८२ मा नेपालका विभिन्न १४ वटा खेलकुद कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोगीको रुपमा सहभागी भएको र आ.व.२०८२÷८३ मा चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट कार्तिक २७ देखि २९ गते सम्म काठमाडौंमा, नेपाल रन ५ कि.मि.च्यालेन्ज नेपालका विभिन्न ५ स्थानमा असोज महिनाबाट र राष्ट्रिय मिक्स रिले रन पुसा महिनामा काठमाडौंमा संचालन गर्ने गरि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
यसको अलावा नेपालमा विभिन्न स्थानहरुमा आयोजना हुने करिब १० वटा एथलेटिक्सका विभिन्न स्तरका प्रतियोगिताहरुमा प्राविधिक सहयोग गर्ने भएको अध्यक्ष राजन खत्रीले जनाएका छन् ।
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ
काठमाडौं साउन १८, नेपाल गोर्खा खुकुरी मार्सल आटर््स संघको टोखा र तारकेश्वर शाखाले २७ जना खेलाडीको सफलतापूर्वक ब्ल्याक बेल्ट ग्रेडिङ सम्पन्न गरेको छ ।
चौथो नेसनल ब्ल्याक वेल्ट ग्रेडिङ कार्यक्रम १० दिनसम्म टोखा–०८, जल्पा चोक, काठमाडौंमा आयोजना भएको थियो ।
ग्रेडिङ संघका प्रमुख प्रशिक्षक रणबहादुर बोगटी र सहायक प्रशिक्षकले सञ्चालन गरेका थिए । ग्रेडिङका क्रममा खेलाडीहरूलाई आत्मरक्षा, अनुशासन र मार्सल आटर््सका विविध पक्ष बारे जानकारी गराइएको थियो ।
समापन कार्यक्रममा संघका प्रमुख प्रशिक्षक बोगटीलगायतको उपस्थितिमा खेलाडीलाई प्रमाणपत्र र ब्ल्याक वेल्ट वितरण गरिएको थियो ।
सिनियर वेल्टमा निराजन बोहरा पहिलो भए । ब्ल्यकवेल्ट ग्रेडिङमा विवेक रोकाया पहिलो, पुस्कर रोकाया दोश्रो र रविना लामा तेश्रो भए । सफलता राना मगर र आयुशा बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए भने सुरज थापा मगर उत्कृष्ट प्रशिक्षक चुनिए ।
कुँवरद्वारा विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
काठमाडौं साउन १७, नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् ।
कुँवरले अगष्ट २ तारिखमा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को वार्षिक साधारण सभामा २०२६ मा हुने विश्व स्काइ रनिङ आयोजना गर्ने नेपाललाई जिम्मेवारी प्रदान गर्न प्रस्ताव गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेका कुँवरका अनुसार आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्नेछ ।
‘हामीले विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका छौं । उहाँहरु हाम्रो प्रस्तावमा सकरात्मक हुनु हुन्छ ।’ कुँवरले भने– ‘आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्छ । नेपालमा हामीले गरेको गतिविधि, हाम्रो सक्रिएता र अन्तर्राष्ट्रिय सहभागितालाई मध्यनजर गरी आईएसएफले हामीलाई जिम्मेवारी दिनेमा म पूर्ण विश्वस्त छु ।’
पलेशालाई कांस्य
काठमाडौं साउन १६, पलेशा गोवर्धनले दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा शुक्रबार कांस्य पदक जितेकी छन् ।
मलेसियाको कुचिङमा भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन् ।
जुलाइ २४ देखि अगष्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए । टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।
मार्सल आट्र्स टोली जर्मनी प्रस्थान
अन्तर्राष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन शुक्रबार जर्मनी प्रस्थान गरेको छ । उनलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले शुक्रबारै बिदाइ गरे ।
जर्मनी क्लबका अध्यक्ष हसन हेनले उक्त क्याम्पका लागि मार्सल आर्ट अर्गनाइजेसन नेपाललाई निमन्त्रणा दिएका हुन । नेपाललगायत स्पेन, पोल्यान्ड, स्विडेन र जर्मनी प्रशिक्षार्थीहरुको सहभागिता रहने समर क्याम्पमा मार्सल आट्र्सका तौर तरिका मात्र नभएर सहभागी देशको संस्कृति समेत एक आपसमा साटिने र यी देशबीच भाईचारा तथा मित्रता बढ्ने कुरा प्रशिक्षक महर्जनले बताए । विगतका क्याम्पमा सहभागिता जनाउदै आएका प्रशिक्षक महर्जनले जर्मनीमा नेपालको प्रतिनिधित्व मात्र गरेन्न उनले आफु संग भएको मार्सल आर्टको ज्ञान र नेपालको संस्कृति पनि प्रस्तुत गरे ।
कीर्तिपुर नगरपालिका र जर्मनीको लुबिज नगरपालिकाबीचको सहकार्यमा नेपालबाट राजीव महर्जनले एक साता संचानल हुने क्याम्पमा सहभागिता जनाउन लागेको बताइएको छ ।
आयोजक क्लबका प्रशिक्षक हसन हेनले विभिन्न समयमा नेपालआई प्रशिक्षण समेत दिएका छन् । दुई देशबीचको यो मार्सल आर्टका कला कशौल प्रशिक्षण दिने कार्यले दुवै देशको मार्सल आट्र्समा विकास हुँदै आईरहेको महर्जनले बताए ।
खेलकुद पत्रकार थापाको खेलाडी पुस्तक विमोचन
काठमाडौं साउन १९, वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी ः संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरेका हुन् । उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्वपूर्ण कडी भएको बताउँदै यो पुस्तक भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुनुका साथै महत्वपूर्ण दस्तावेजका रुपमा पनि रहने बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीका विषयमा पत्रपत्रिकामा समाचार आए पनि पुस्तकका रुपमा संग्रहित हुन नसकिरहेको अवस्थामा यो पुस्तकले अरु धेरै पुस्तक लेखनका लागि पनि प्रेरणा दिने बताए । उनले खेलाडीका संघर्ष र सफलताका कथाहरु लगातार लेखिनुपर्नेमा जोड दिए ।
यसैगरी नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले खेलाडीले गरेको संघर्ष, भोगेका दुःख कष्ट र चुनौती तथा उनीहरुको साहसिक सफलताका कथाहरुलाई एउटा सिंगो पुस्तकका रुपमा सिंगारेकोमा थापालाई बधाइ दिँदै नेपाली खेलकुदमा सबैभन्दा ठूलो समस्याका रुपमा रहेको दस्तावेजीकरणको अभावलाई केही हदसम्म भए पनि पूर्ती गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीका दुःख, पीडा, संघर्ष र सफलताका कथालाई पत्रकारले निरन्तर रुपमा प्रकाशित गर्दै आएको उल्लेख गर्दै त्यसलाई पुस्तकका रुपमा दस्तावेजीकरण गर्नु महत्वपूर्ण भएको बताए । ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक दीपक थापाले खेलाडीका विषयमा पनि पुस्तक प्रकाशनको अभियान सुरु भएको बताउँदै यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
पुस्तकका लेखक विष्णु थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताए । उनले पत्रकारिताको यात्रा थालेको पुनर्जागरण साप्ताहिकदेखि विभिन्न साप्ताहिक, मासिक, पाक्षिक र दैनिक पत्रिकामा लेखिएका सामग्रीलाई पुस्तकका रुपमा आकार दिएको बताउँदै नेपाललाई पहिलो पदक दिलाउन सफल एउटा सिंगो इतिहासका साक्षी जितबहादुर केसीदेखि पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेसा गोवद्र्धनसम्मको संघर्ष, सफलता र उतारचढावको विषयबस्तुलाई समेटिएको बताए ।
‘अग्रजदेखि युवा पुस्तासम्मका त्याग, समर्पण, संघर्ष र सफलता समेटिएको कथालाई पत्रिकाको पानामा मात्रै सीमित राख्नु हुँदैन, त्यो सामाग्री नेपाली खेलकुदको ऐतिहासिक दस्तावेज बन्न सक्छ भन्ने तथ्यलाई हृदयगंम गरी एउटा पुस्तकको रुप दिइएको हो । यो पुस्तक भावी पुस्ताका लागि एउटा दस्तावेज मात्रै बन्ने छैन, नयाँ र खेलकुदमा केही गर्ने भावना बोकेकाहरुलाई खेलकुदमा लाग्न अभिप्रेरित पनि गर्ने विश्वास लिएको छु’, उनले भने, ‘अब खेलाडीका कथाहरु लेख्ने मात्रै होइन, तिनलाई पुस्तकका रुपमा संग्रहित पनि गर्नु पर्दछ ।’ अन्नपूर्ण पोस्ट्मा कार्यरत थापा विगत दुई दशकभन्दा बढी समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन् ।
नेपाल माला मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकमा ७७ खेलाडीका व्यक्तिचित्र संग्रहित छन् । पुस्तक २६० पृष्ठको छ ।
डब्लुकेएफओ बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनारको औपचारिक उद्घाटन काठमाडौं साउन १६, विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुकेएफओ) द्वारा आयोजना गरिएको बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनारको उद्घाटन गरिएको छ ।
उक्त कार्यक्रममा डब्लुकेएफओका अन्तर्राष्ट्रिय अध्यक्ष ब्रायन डब्लु बेकको विशेष उपस्थितिमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ र बेकले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे ।
यस अवसरमा डब्लुकेएफओ नेपालका महासचिव, चिफ रेफ्री तथा एसियाली किक बक्सिङकी स्वर्ण विजेता बिन्दा नेपालीको पनि उपस्थिति रहेको थियो ।
प्रशिक्षक, रेफ्री तथा विभिन्न डोजोबाट सहभागी खेलाडीहरूले प्रशिक्षणमा भाग लिएका छन् । यस सेमिनारले नेपालको किकबक्सिङ खेलको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने संघले जनाएको छ ।
उक्त सेमिनारमार्फत प्राविधिक सीपको आदान–प्रदान, अन्तर्राष्ट्रिय नियमहरूको अध्ययन तथा प्रशिक्षकहरूको क्षमतावृद्धिमा केन्द्रित प्रशिक्षण प्रदान गरिनेछ ।
डब्लुकेएफओ अध्यक्ष बेकले कार्यक्रममा बोल्दै भने— ‘नेपालमा किक बक्सिङप्रतिको लगाव र समर्पण अद्भुत छ । यो सेमिनारले नेपालको किकबक्सिङ प्रतिभालाई विश्व मञ्चमा पु¥याउने लक्ष्य लिएको छ ।’
कार्यक्रम समापनसम्म बेल्ट परीक्षण, रेफ्री तालिम र प्रशिक्षक स्तरको सेसनहरू सञ्चालन हुँदै छन् । शनिबारदेखि सुरु हुने चार दिने बेल्ट ग्रेडिङ, रेफ्री प्रशिक्षण तथा प्रशिक्षक तालिम सेमिनार किक बक्सिङ खेलको अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र मूल्यांकन विधिमा केन्द्रित रहनेछ । कार्यक्रममा सहभागी खेलाडीहरूलाई ग्रेडिङ परीक्षा मार्फत प्राविधिक तथा शारीरिक क्षमताको मूल्यांकन गरिनेछ भने रेफ्रीहरूलाई प्रतिस्पर्धा सञ्चालन, निर्णय प्रक्रिया र खेल नियम सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक तालिम प्रदान गरिने संघले जनाएको छ । साथै, प्रशिक्षकहरूलाई प्रशिक्षण रणनीति, शारीरिक तालीम विधि र अनुशासन व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण दिइनेछ । डब्लुकेएफओका अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षकहरूको सहकार्यमा हुने यस सेमिनारले नेपालभित्र किक बक्सिङ खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास संघले लिएको छ ।
अन्तर्राष्ट्रिय स्तरको भलिबल आयोजनामा जोड
काठमाडौं साउन १९, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरको मैत्रीपूर्ण भलिबल म्याच आयोजना गर्ने प्रस्ताव राखेका छन् । त्रिपुरेश्वरस्थित स्तरोन्नती गरिएको राखेपको कभर्डहलमा खेलाइएको मैत्रीपूर्ण खेल अघि कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको स्तर उकास्न र खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्न यस्ता प्रतियोगिताको आवश्यकता रहेको बताए ।
सदस्य–सचिव घिसिङले विशेषगरी नेपाली महिला भलिबल टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताअघि एक्सपोजर गेमको आवश्यकता रहेकोमा जोड दिए । उनले भने– ‘नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्न र दर्शकहरूलाई नयाँ उत्साह दिन पनि यस्ता म्याचहरू आयोजना गर्नुपर्छ ।’ उनले नेपाल भलिबल संघ र प्रशिक्षकहरूलाई यसका लागि तत्काल योजना बनाउन आग्रह गरे ।
सदस्य–सचिव घिसिङले खेलाडीको सामाजिक सुरक्षा, पुरस्कार र प्रोत्साहन भत्ताको व्यवस्थालाई पनि प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने– ‘खेलाडीहरू खेलकुदको मुटु हुन्, र उनीहरूको हितमा हामीले काम गर्नुपर्छ ।’
सदस्य–सचिव घिसिङले खेलकुद संरचनालाई थप प्रभावकारी बनाउन र पुराना समस्याहरू समाधान गर्न योजनाबद्ध रूपमा काम गर्ने बताए । उनले नेपालमा खेलकुदको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा थप अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्: