
दशमहाविद्या रुद्रहवन महायज्ञ आजदेखि प्रारम्भ
मनप्रसाद न्यौपाने
काठमाडौं साउन १४, धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त कालीबाबा अर्थात १००८ स्वामी महामण्डलेश्वर कृष्णानन्द परमहंस कालीदास बाबाले नेपालको समुन्नति, आर्थिक एवम् सामाजिक रुपान्तरण र नागरिकको सर्वोपरि हितका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
पशुपति देवपत्तन, वनकालीस्थित हंसमण्डपमा बुधबारदेखि प्रारम्भ भएको दशमहाविद्या रुद्रहवन महायज्ञको उद्घाटन गर्दै कालीबाबाले शान्ति, समृद्धि, राष्ट्रिय एकता र अखण्डता बनिरहोस् भन्ने कामना गरेका हुन् । ‘श्रम र रोजगारीका लागि विदेश जाने युवायुवती नेपालमै बसेर आर्थिकोपार्जन गर्न सक्षम बनुन् । शान्तिप्रिय सरकार रहोस् । पटक पटक सरकार परिवर्तन नहोस्,’ कालीबाबाले भने ।
कालीबाबाले वास्तविक रुपमै राज्यको अनुभूति हुनुपर्ने बताउँदै सबै एकजुट भएर देशको विकास गर्न आह्वान पनि गरे । ‘शान्ति र समुन्नतिको मार्गमा एकाकार भएर अघि बढ्न सकौ । सुशासन होस्, सबै नागरिकको उन्नति होस् । हाम्रो सुन्दर देशको विकास गर्न धेरै समय नै लाग्दैन,’ उनले भने ।
दशमहाविद्याको महत्व
कालीबाबाले भगवतीको उपासना, पूजापाठ गर्दा शान्ति, समृद्धि, ऐश्वर्यले भरिपूर्ण गराउने शक्तिशाली देवीमा दशमहाविद्या आउने बताउँदै विधिविधान अनुसार पूजाअर्चना गरिएमा ऐश्वर्य प्राप्ति हुने विश्वास गरिने प्रस्ट पारेका छन् ।
उनले देशमा शान्ति, समृद्धि, भाइचारा, अखण्डता, एकता, भोकमारी, महामारी कष्टदेखि सम्पूर्ण रक्षा गरेर देशमा शान्ति समृद्धिको यात्रामा अघि बढाउन प्रेरित गर्ने उद्देश्यका साथ दशमहाविद्या रुद्रहवन महायज्ञको आयोजना गरिएको बताए ।
उनले भने ‘नेपाल देशका हरेक नागरिकले एक घुट पानी पिएर, एक फाँको सातु खाएर घुटुक्क पानी पिएर शान्तिपूर्वक बस्न पाए पनि खुशी हुन्छन् । त्यसैले हरेक वर्ष ज्योतिर्लिंगको दर्शन गरेर पशुपतिनाथमा आएर जल चढाएर रुद्राभिषेक गर्ने गर्दै आएको छु । यस वर्ष दशमहाविद्या रुद्रहवन महायज्ञकै आयोजना गरिएको छ । मेरो कामना नेपाल र नेपालीको शान्ति र समुन्नति हो ।’
यसैबिच, कालिका साधना आश्रम र शिवशक्ति बाबा कालीदास धामको आयोजना र मानवसेवा फाउण्डेशनको सहकार्य रहेको दशमहाविद्या रुद्रहवन महायज्ञमा बुधबार बृहत कलश यात्राको आयोजना गरी प्रारम्भ गरिएको छ । कलशयात्रा मैतीदेवीदेखि नगरपरिक्रमा गर्दै वनकालीस्थित हंसमण्डपमा पुगेर महायज्ञ शुरु भएको हो । कलशयात्रामा फाउण्डेशनका अध्यक्ष विजय कृष्णमूर्ति तथा धार्मिक अभियन्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
यसअघि, भारतमा धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ २०८१ माघमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाका अगुवाइमा ‘दश महाविद्या विष्णु सहस्र कोटि हवन महायज्ञ’ आयोजना गरिएको थियो । सोही महायज्ञमा काठमाडौंमा पनि महायज्ञ आयोजना गर्ने घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: