
काठमाडौं साउन १३, सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट हिँडेर पोखरामा भेटिएका उर्मिला हायूको परिवार फेला परेको छ ।
पोखरा महानगरपालिका–३० नम्बर वडा, गगनगौडामा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला परेका हुन् ।
परिवारले घरमा बिरामी परेको र धामीले नबस्न भनेकोले थातथलो छाडेको बताएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थातथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
उर्मिलासहित उनका परिवारका १६ जना, पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिएका छन् ।
“हिजो आफन्त र जनप्रतिनिधिको रोहवरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।”
घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए । उनीहरूका बारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: