साहित्यकार र कलाकार माओवादी केन्द्रमा प्रवेश

२०८२ श्रावण ३

काठमाडौं साउन २, नेकपा माओवादी केन्द्रमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू प्रवेश गरेका छन्, जसमा कलाकार, साहित्यकार र राजनीतिज्ञहरू छन् ।
पार्टी अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई स्वागत गर्दै परिवर्तनका लागि योगदान पु¥याउने कुरा बताए, साथै माओवादीको उचाइ बढ्दा केही मानिस चिन्तित भएको टिप्पणी गरे ।
नयाँ प्रवेश गर्नेहरूमा ऋषिप्रसाद लामिछानेले कांग्रेस पार्टीका गतिविधि आत्मसात गर्न नसकेपछि माओवादी केन्द्र रोजेको बताए ।
नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गरेका छन् ।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ केन्द्रीय परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, नेपाली काङ्ग्रेस निकट लेखक ,पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर बीसी, रामेछाप एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष भीमबहादुर मगर लगायतलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
उनले नवप्रवेशीहरुलाई बधाई ज्ञापन गर्दै भने– ‘अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन।यो परिवर्तनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईंहरूको पार्टी प्रवेशले योगदान दिनेछ ।’
माओवादी केन्द्रको पहल र संघर्षका कारण स्थापित परिवर्तन सबैलाई थाहा भएको भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरूले त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए ।
उनले भने, ‘केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौँ। हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ ।’
संस्कृति र कलाको महत्वमाथि प्रकाश पार्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले गरेको पहलले सांस्कृतिक क्षेत्रलाई टेवा पुर्याएको छ । संस्कृतिमा शक्ति हुन्छ— यही मान्यतामा आधारित भएर कलाकारहरूलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो। बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरूलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।’
पार्टीले आगामी दिनमा अझ धेरै क्षेत्रका व्यक्तिहरूलाई सङ्गठित गर्ने र लाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको योगदानलाई संस्थागत रूप दिन पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नवप्रवेशी ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो)ले भने, ‘म २०२२ सालदेखि काँग्र्रेस पार्टीमा क्रियाशील थिएँ । आन्दोलनका उतारचढावहरू देखेँ तर काँग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात् गर्न सकिनँ। त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ ।’
जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: