कर्मचारी सञ्चय कोषले निवृत्तभरण कोषमा तोक्यो नयाँ ब्याजदर

२०८२ श्रावण २

कर्मचारी सञ्चय कोषले बिहीबार (साउन १ गते)देखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरेको छ ।
कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा वार्षिक पाँच प्रतिशत ब्याजदर दिने भएको छ। कोषको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।
यसैगरी, कोषले विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत ब्याजदर लिने भएको छ ।
विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताहरूलाई ०.२५ प्रतिशतले छूट दिने भएको छ ।
कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि एक करोड रूपैयाँसम्म र घर मर्मत गर्नका लागि ३० लाख रूपैयाँसम्म सापटी प्रदान गर्ने गरेको छ ।
यस्तै, कोषले सञ्चयकर्ता स्वयम् वा पति÷पत्नी वा छोरा÷छोरीलाई उच्च शिक्षा अध्ययन गर्नेरगराउने प्रयोजनका लागि शैक्षिक सापटी रू। ४० लाखसम्म र सञ्चयकर्ताको सेवाअवधिमा भैपरी आउने कार्यका लागि दिइने सरल सापटी ६० लाख रूपैयाँसम्म प्रदान गर्दै आएको छ ।
कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटी दिने गरेको छ ।
कोषबाट चालू आर्थिक वर्षमा एक लाख ५८ हजार तीन सय ४४ सञ्चयकर्ताले विशेष सापटी, एक लाख १४ हजार चार सय ५६ सञ्चयकर्ताले कोष भुक्तानी, २ हजार नौ सय २६ सञ्चयकर्ताले धितोमा आधारित सापटी, २५ हजार दुई सय ९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र एक हजार सात ९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तभरण भुक्तानी लिएका छन् ।
काठमाडौं उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरू मार्फत सञ्चयकर्ताहरूले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी पाउँदै आएका छन् ।
हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र संगठित क्षेत्र तथा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फका गरी करिब पाँच लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार तीन सय ९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्: