चलचित्र विकास बोर्डको सहयोगमा जनचेतना नेपालले गर्यो ‘एकदिवसीय चलचित्र कार्यशाला’

२०८२ असार २९

काठमाडौं असार २९, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहयोगमा चल्ने चित्रको मार्फतबाट जनजनमा जनचेतना जगाउने परिकल्पनाका साथ शुरु गरिएको ‘जनचेतना नेपाल’ले असार २७ गते शुक्रबारको दिन भीमसेन गोला माध्यमिक विद्यालयमा ‘विद्यार्थीहरूको सहभागीतामा एकदिवसीय चलचित्र कार्यशाला २०८२’ सम्पन्न भएको छ ।
जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको परिकल्पनामा, विपिन किरणको शब्द, बाबु बोगटीको आवाज तथा संगीतमा तयार गरिएको ‘कुरीतिलाई पन्छ्याउँदै’ नामक जनचेतनामूलक गीतबाट शुरु भएको कार्यक्रममा कवि सुरज पराजुलीले सोही अवधारणाको कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौला सभापतिको पदमा आसिन थिए भने प्रमुख अतिथिको रुपमा नाट्यकर्मी, चलचित्रकर्मी, चलचित्र तथा नाटक निर्देशक, वरिष्ठ अभिनेता आशान्त शर्मा उपस्थित थिए । साथै विशिष्ट अतिथिमा अभिनेत्री, समाजसेवी मुना निरौला त्रिपाठी, वरिष्ठ अधिवक्ता समाजसेवी वासुदेव रिजाल, समाजसेवी, अभिनेता कविन्द्र त्रिपाठी, कवि, लेखक निर्देशक तथा अभिनेता सुरज पराजुली, शिक्षाप्रेमी, समाजसेवी विमला ढुङ्गाना, जनचेतना नेपालका राष्ट्रिय पर्यवेक्षक तथा सामाजिक व्यक्तित्व सचित खतिवडा, भीमसेन गोला माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल लगायत विभिन्न कला संस्कृतिका धरोहरहरूको उपस्थिति रहेको थियो । त्यसैगरी सोही विद्यालयका शिक्षक नवराज न्यौपाने र गणेश पहरी अतिथिको रुपमा उपस्थित रहेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथिहरू मुना निरौला त्रिपाठी, बासुदेव रिजाल, कविन्द्र त्रिपाठी, लगायतले चलचित्र तथा नाट्य क्षेत्रसँग सम्बन्धित रहेर आफ्नो धारणा व्यक्त गरेका थिए । साथै विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल, शिक्षक नवराज न्यौपाने तथा शिक्षक गणेश पहरीको उपस्थितिमा कार्यक्रम अझ ज्ञानवर्धक बन्नमा टेवा पुग्यो ।
कार्यक्रमका सभापति बालकृष्ण निरौलाले आफ्ना गुरु मोहन निरौलाले दिएको मार्गनिर्देशनको सम्झना गर्दै चलचित्र विकास बोर्डले गरेका नयाँ कामको प्रशंसामा विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका विभिन्न १० वटा कामको बारेमा चर्चा गरेका थिए । चलचित्र विधेयक, चलचित्र दिवस, आमाको पोस्टर अङ्कित हुलाक टिकट, ३३ वटा कामहरु डिजिटल रुपमा अनलाइनबाट नै सेवा शुरूआत, नेपाली चलचित्रमा पहिला शीर्षकको महत्वपूर्ण ऐतिहासिक पुस्तक प्रकाशन, पटकथा संग्रहालय, चलचित्रकर्मी क्षमता अभिवृद्धि वर्ष, सर्वाधिक व्यापार गर्ने २५ वटा चलचित्रहरूको सम्मान आदी विषयमा उनले चर्चा गरेका थिए । निरौलाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: