सेभिल्लामा सञ्चालित सम्मेलन नेपाल नयाँ दिशातर्फ उन्मुख हुन्छ : मन्त्री यादव

२०८२ असार १७

काठमाडौं, असार १७, खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्र संघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चांैथौ अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाई क्षेत्रलाई नयाँ दिशातर्फ उन्मूख गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भइरहेको विकासका लागि वित्तीयकरण शीर्षकको चौंथौ अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रममा सहभागी हुनु भएका मन्त्री यादवले सो कुरा बताएका हुन् ।
सम्मेलनमा नेपालको राष्ट्रिय प्रतिवद्धता—सबैका लागि सुरक्षित खानेपानी र सरसफाई सुनिश्चित गर्नेबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको तथा सन् २०२२ को मन्त्रीस्तरीय सम्मेलनमा देखिएका कमजोरीहरू सुधार गर्दै, उच्च राजनीतिक तहबाट प्रभावकारी कार्यान्वयनको दिशा तय गरिएको जानकारी दिनुभयो ।
“नेपाल सन् २०१९ मा खुला दिसामुक्त राष्ट्र बनेको सफलताले प्रमाणित गरेजस्तै, अबको लक्ष्य सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाई सेवा सुनिश्चित गर्नु रहेको छ,” उहाँले भन्नुभयो, “अन्य देशहरूको अनुभवबाट सिक्दै नेपालले समेत तीव्र प्रगति गर्ने रणनीति अवलम्बन गरेको छ ।”
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले खानेपानी तथा सरसफाई क्षेत्रमा अगाडि बढाएको यो प्रयास राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उदाहरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।
“विकासका लागि वित्तीय स्रोतहरूको सुनिश्चितता र प्रभावकारी परिचालन नहुँदासम्म खानेपानी तथा सरसफाई क्षेत्रमा देखिएका संरचनागत चुनौतीहरू समाधान गर्न कठिन छ,” उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागी हुनु भएको यो सम्मेलनले देशको राष्ट्रिय प्रयासलाई थप सशक्त बनाउने र दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक दीर्घकालीन लगानी, सार्वजनिक–निजी साझेदारी र अन्तर्राष्ट्रिय सहयोगलाई थप मजबुत बनाउनेछ ।”
समाचार ःरासस यूएन एजेन्सी

प्रतिक्रिया दिनुहोस्: