१५ औं महाधिवेशन बारे भ्रम चिर्न मिति तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

२०८२ असार १७

काठमाडौं असार १७, नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५ औं महाधिवेशनको मिति तत्काल तोकेर तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग माग गर्नुभएको छ । आज बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै १५ औं महाधिवेशनमा महामन्त्री पदको औपचारिक उम्मेदवारी धोषणाको तयारी गरिरहेका महरले महाधिवेशनको अनिश्चितताले पार्टी पंक्तिमा अन्यौंल बढाएको र सांगठनिक गतिशीलतामा असर पारेको बताउन भयो ।
महले भन्नुभयो, “महाधिवेशनबारे अनेक भ्रम छरिएका छन् । यसले पार्टी पंक्तिमा अन्यौंल बढाएको छ । विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५ औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाईं गर्नु हुँदैन ।’’
बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, सरकारको कामकारबाही, गठबन्धनको भविष्य र पार्टीको आगामी रणनीतिका विषयमा महरले विस्तृत र बुँदागत रूपमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो ।
पार्टी संगठन र आन्तरिक व्यवस्थापनमा जोड
नेता महरले पार्टी संगठनलाई सुदृढ गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले क्रियाशील सदस्यता वितरण र नविकरणलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमा लैजान सुझाव दिनुभयो। लामो समयदेखि हुन नसकेको भातृ संस्थाहरूको महाधिवेशन तुरुन्तै सम्पन्न गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेण्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टीका निर्णयहरू संस्थागत हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन। सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ वा पदाधिकारी बैठक विधानतः व्यवस्था गरिनुपर्छ ।’’

प्रतिक्रिया दिनुहोस्: