जेन जी पुस्ताः आजको समाज, राजनीति र साहित्य

२०८२ असार १४

डा.केशव सिलवाल

जेन जी पुस्ता ग्लोबल अर्थात विश्वव्यापी, उद्यमी, प्रगतिशील र एउटै कुरामा केन्द्रित हुन नसक्ने गुणका हुन्छन् । सेप्टेम्बर ११ पछिको जीवन, महामन्दी र जवान उमेरबाट नै प्रविधिको पहुँचबाट यिनको निर्माण र विकास भएको छ । विविधता, निजीकरण, व्यक्तित्व, रचनात्मकताबाट यिनीहरू प्रेरित हुन्छन् । डिजिटल उपकरण लतको रूपमा प्रयोग गर्ने, आत्म–पहिचान, स्वतन्त्रता र व्यक्तिको मूल्यवानता, सहस्राब्दी प्रबन्धकहरू, नवीन र रचनात्मक सहकर्मीहरू र नयाँ प्रविधिहरूको साथ काम गर्न रुचाउनु यिनको विश्वदृष्टिकोण हुन् । तथ्याङ्कमा ६७% जेन जी आफ्नो क्षमता वृद्धि भएर क्यारिएर अगाडि बढ्ने कम्पनीमा काम गर्न चाहन्छन् । ८०% जेन जी सरकार र रोजगारदाताहरूले अनुदान दिई विद्यार्थीको पूर्ण ट्यूशन फी भुक्तान गर्ने र विद्यार्थीका लागि प्रत्यक्ष प्रशिक्षण प्रदान गर्ने कार्य हुनुपर्नेमा विश्वास गर्छन् ।
अभूतपूर्व चुनौंतिहरू र नवीन सामाजिक गतिशीलताको युगसँगै जेन जीको उमेर बढिरहेको छ । उनीहरूले एक मजबूत अर्थव्यवस्था, पूर्ण रोजगार र सुरक्षित भविष्य हुने आशा गरेका थिए। यसैक्रममा ती सबैभन्दा शिक्षित र क्षमतावान् पुस्ता बन्न थालेका थिए । यद्यपि, कोभिडले सबै कुरा परिवर्तन ग¥यो । महामारीले तिनको शैक्षिक र पेशागत एवम् व्यवसायिक आकांक्षालाई असर ग¥यो, तिनीहरूले मुख्य अवधि स्नातक वा पहिलो वर्ष कलेज छुटाउन पुगे र तिनको मानसिक स्वास्थ्य झन् खराब भयो । त्यसबेलादेखि जेन जीको तल पर्ने अवस्था रोकिएन । विश्व वरिपरि फैलिएका युद्ध, आवासको संकट, मानसिक स्वास्थ्यको मुद्दा बढ्नु, आम स्कुलमा भइरहेको हिंसा वा गोलाबारी, महिला र अन्य अल्पसंख्यक अधिकारहरू खतरामा पुग्नुले जेन जीलाई असन्तुष्ट र मानसिक द्वन्द्वमा पारिरहेको छ । साथै, जलवायु परिवर्तनको समस्या भोगिरहेको यो पुस्ता पर्यावरणीय प्रदुर्षणबाट अतिशत ग्रसित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावको बीचमा हत्याको प्रयास, ब्राजिलका प्रदर्शनकारीहरूले देशको काँग्रेसको आक्रमण, अमेरिकी क्याम्पसभरि विरोध, बढ्दो चरम र हिंसाको साथ ध्रुवीकरण जेन पुस्ता जो हाल १२–२५ वर्ष पार भए तिनको तीव्र राजनीतिक परिवर्तन र असन्तुष्टिको आधार प्रदान गरेको विश्लेषण गरिन्छ ।
यी घटनाले जेन जीलाई आशाहीनता र भविष्यको अनिश्चियमा पारेको छ । र, तिनको असन्तुष्टि शक्ति र पदमा रहेकाप्रति केन्द्रित रहेको छ । जसले फरक सिद्धान्त र दृष्टिकोण, स्थापित मान्यताभन्दा फरक, रूपान्तरणकारी नै होस् तिनको प्रभाव जेन जीमा पर्दछ । परम्परागत र केन्द्रमा रहेका राजनीतिक पार्टीभन्दा फरक, अतिवादी विचारधारा र पपुलिस्ट नेतृत्वप्रति तिनको झुकाव रहन्छ भन्ने अनुसन्धानले देखाएका छन् ।
नेपालमा जेन जी :
नेपालमा पनि जेन जीको संख्या र प्रभाव बढिरहेको छ । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले नेपालको जेन जी पुस्ता संसारभर जोडिएका छन् । विश्वव्यापीकरण, खुल्लाबजार नीति, अन्तर्राष्ट्रिय बसाइसराइको अवसर र नयाँ प्रविधिसँगै विश्वसँगको संसर्गले संसारमा भइरहेको परिवर्तन जेन जी पुस्ताले नेपालमै बसेर अनुभूत गर्न पाइरहेका छन् । यसले तिनको चाहना तथा आकांक्षाको असिमित वृद्धि गरिरहेको छ र अवसरको खोजी गर्दै ती नेपालबाहिर गइरहेका छन् । जेन जी पुस्ताको बढोत्तरी र तिनको फरक चेतनाले नेपालका सबै क्षेत्रमा असर पर्ने देखिन्छ । तर, नेपालमा जेन जीको बारेमा गहन र प्राज्ञिक अध्ययन हुन सकेको छैन । वि.सं. २०७९ को चुनावमा पहिलो पटक जेन जी पुस्ता भोटर बनेको थियो । यसको असर काठमाडौं नगरपालिका, धरान लगायत केही ठाउँमा परेको थियो जसले परम्परागत शक्तिलाई चुनौंती थपेको छ । संसदमा नयाँ पार्टी जसले २०६२÷६३ सालको आन्दोलनमा भाग पनि लिएको थिएन त्यसले संसदमा चौथो ठूलो दलको रूपमा आफूलाई स्थापित गर्न सक्नुको पछाडि यही जेन जी पुस्ताको भूमिका रहेको अनुमान गरिन्छ ।
तालिका १
नेपालमा जेन जीको जनसांख्यिक अवस्था :
क्र. सं. उमेर समूह जनसंख्या प्रतिशत
१. ० देखि १० वर्ष ५८,५२,४८२ २०.०७%
२. ११ देखि १५ वर्ष २८,७०,२२१ ९.८४%
३. १६ देखि २५ वर्ष ५७,६३,६६९ १९.७६ %
४. २६ देखि ४० वर्ष ६६,४८,५०४ २२.८०%
५. ४१ देखि ५९ वर्ष ५०,५२,३८४ १७.३२%
६. ६० + वर्ष २९,७७,३१८ १०.२१%
जम्मा २,९१,६४,५७८ १००%
स्रोतः नेपालको जनगणना, २०७८ :
माथिको तालिका हेर्दा जेन जीको अहिलेको उमेर ११ वर्षदेखि २५ वर्षबीच हुँदा तिनको जनसंख्या ३० प्रतिशतभन्दा बढी नै हुन्छ । यो भन्नुको अर्थ अन्य उमेर समूहभन्दा विश्वका अन्य देशमाजस्तै जेन जीको जनसंख्या बढी हुनु हो । जेन जीको जनसंख्या बढी हुन र नवीन पुस्ता हुनुले तिनको क्रियाकलाप र भोगाइले नेपाली समाजमा गम्भीर प्रभाव पार्ने क्षमता राख्दछ । जेन जी पुस्ताले नेपालमा भएका विभिन्न किसिमका राजनीतिक र सामाजिक आन्दोलनमा भाग लिने अवसर भने पाएको छैन । जेन जी पुस्ता सुनेका भरमा त्यस्ता आन्दोलनको आफ्नो धारणा बनाउनु पर्ने अवस्थामा छन् । तिनको आफ्नै भोगाइ र अनुभूति छन् । जुन अन्य पुस्ताभन्दा भिन्न छन् । र, ती त्यतिमा मात्रै रोकिने मनस्थितिमा छैनन् ।
हालै एउटा पत्रिकाले जेन जी पुस्ताको आदर्श राजनीतिज्ञ को हुन् र के चाहन्छन् भन्ने बारेमा सर्वेक्षण गरेको थियो । तिनले पूरानो नेतृत्वभन्दा नयाँ नेतृत्व मन पराउने बताएका छन् । सामाजिक सञ्जालमा प्रचारित र नयाँ फ्रेस अनुहारप्रति तिनको विश्वास
बढिरहेको देखिन्छ । राजनीतिमा ‘वाद’ र ‘सिद्धान्त’ भन्दा पनि डेलिभरी दिन सक्ने नेताहरू नेतृत्वमा आउनुपर्छ भन्ने धारणा राख्ने यो पुस्ता नेतृत्वको कमजोरी र गल्तीमा औंला उठाउँछ । यो त्यही पुस्ता हो जसले राजतन्त्र पनि देखेको थिएन, केही जेन जी राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा सहभागी भएको पनि देखियो । हरेक पार्टीमा जेन जी पुस्ताको चर्चा हुन थालेको छ र तिनलाई पार्टीमा कसरी आकर्षण गर्ने बारे छलफल भइरहेका छन् । बजेटमा समेत जेन जी पुस्ताको लागि कार्यक्रम ल्याउने भनिएको छ । तर, नेपालको सामाजिक अवस्था, साँस्कृतिक परम्परा, विकासको गति, राजनीतिक व्यथिति र आर्थिक गतिहीनताले यहाँको निराशा व्यक्त गर्दै जेन जी पुस्ता विदेश पलायन हुने सबैभन्दा ठूलो समूहमा पर्दछन् । नेपालको अबको कार्ययोजना, विकास र लक्ष्यका लागि जेन जीको मूल क्रियाकलाप, संस्कृति र पर्यावरणको बारे यथेष्ट अध्ययन र अनुसन्धान हुनु अति आवश्यक भएको छ ।
जेन जी र संस्कृति :
जेन जीको बढोत्तरीसँगै नेपालको संस्कृतिमा आधारभूत परिवर्तन देखा पर्न थालेका छन् । जेन जी पुस्ता आमाबाप्रति त्यति विश्वास गर्दैनन्, आमाबाको लक्ष्य र तिनको लक्ष्य मिल्दैन । जेन जी पुस्ता आफ्नो मार्ग आफैँ कोर्न चाहन्छन्, हस्तक्षेप चाहँदैनन् । ती समाजको यथास्थितिप्रति असन्तुष्ट पुस्ता हुन् । अहिलेको विकास र समाजसँग ती असन्तुष्ट रहन्छन् । आफ्नो भविष्यप्रति चिन्तित रहन्छन् र देशभित्र अवसर नपाए विदेश अध्ययनका लागि प्रयत्न गर्दछन् । अधिकांश जेन जीको लक्ष्य विदेश पढ्ने नै रहेको छ । देशको अवस्था र राजनीतिप्रति तिनको आस्था देखिँदैन । केही अवसर नपाए तिनीहरू कुनै अमुक शक्तिको पछि लाग्ने गरेका छन् । चारित्रिक आदर्श प्रति तिनलाई त्यति मतलब हुँदैन । जसले तिनलाई आकर्षण गर्न सक्छ, तिनकै पछि लाग्ने गरेको पाइन्छ । केही गर्न सक्ने अवसर र मौकाको कमीले गर्दा पनि यस्तो अवस्था सिर्जना भएको हो ।
काठ्माडौं मेडिकल कलेजमा आवद्ध प्रा.डा. इंकु बस्नेत जेन जीको जीवनशैली र स्वास्थ्य संस्कृतिबारे लेख्नुहुन्छ । फुर्सदको अत्यधिक समय शारीरिक व्यायामभन्दा बढी सामाजिक सञ्जालमा बिताउने भएकाले समेत अहिलेको युवा पुस्ता स्वास्थ्यका दृष्टिकोणले कमजोर बन्दै गएको छ । जसको असर मानसिक समस्याको बढ्दो ग्राफले स्पस्ट देखाउँछ । पछिल्ला अध्ययनहरूले मानसिक समस्याबाट बढी प्रभावित हुनेहरूमा युवाहरूले ठूलो हिस्सा ओगटिरहेको देखाएका छन् । अर्थात्, जेन–जी पुस्ताको अधिकांश हिस्सा तनाव, चिन्ता र डिप्रेसनको सिकार बनिरहेको छ । अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपिए)को पछिल्लो एक अध्ययनले प्रत्येक १० जनामध्ये नौ अर्थात् ९१ प्रतिशत युवाले तनावका कारण शारीरिक वा भावनात्मक लक्षणहरू अनुभव गर्ने गरेको देखाएको छ । परम्परादेखि चलिआएको संस्कृतिलाई त्याग्दै जेन जीले आफ्नो संस्कृति आफैँ निर्माण गरिरहेका छन् । तिनको सम्पर्क, भाषा र फेशन नयाँ खालको छ । तिनीहरू धेरै घुमफिर गर्न मन पराउँछन् र आफ्नै समूहमा रमाउँछन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि रात्री क्लव र कन्सर्टमा जेन जीको आकर्षण बढिरहेको देखिन्छ । रात्री क्लव जेन जीलाई नै केन्द्रीत गरेर खोलिएकाजस्ता देखिन्छ । जेन जी पुस्ता पूराना गीत र गायकभन्दा पनि नयाँ गायक जो टिक–टक र युट्युवमा चर्चित छन् तिनका गीत सुन्छन् । प्रेम र विछोडको गीतले तिनलाई आकर्षित गर्छ । सविन राई, मिन्ग्मा शेर्पा, क्रिस्टी पाख्रिन, तृष्णा गुरुङ, वर्तिका एमी राई, जोहन चाम्लिङ राईका शान्त र भावुक पप गीत जेन जी पुस्तामा चर्चित रहेका छन् । कुमा सागरका गीत पनि जेन जीमा ज्यादै लोकप्रिय छन् । अर्कोतर्फ, ‘लेबल पुगेन, तेरो बाउ बोला ए’ जस्ता ¥याप गीतका गायक जी बब जेन जी पुस्ताको आदर्श बनेका छन् । ‘तापक्रम बढ्यो, त्यस्को गालासाला फुट्यो’ जस्तो चर्चित गीतका गायक सिसन बानियाँ र नवाज अन्सारीका गीत जेन जीका लागि मन पर्ने भएका छन् । प्रचलित अश्लील भनिने शब्द मिसाइएको ‘आप गीत’ पनि जेन जीका लागि सामान्य भएका छन् । त्यस्तै झोला ग्याङ, ज्याम्सीका त्यस्ता गीत निकै चर्चित छन् र सजिलै जेन जीमा पचेका छन् ।
जेन जी केटा र केटीबीच विभेद राख्दैनन् । केटीहरू पनि त्यतिकै सक्रिय र त्यस्तै किसिमको गुण दखाउँछन् । जेन जी एक अर्कामा सामाजिक सञ्जालमा जोडिएको हुन्छन् र त्यसमै योजना निर्माण गर्छन् । रातभर क्लव जानेमा केटीको संख्या पनि उल्लेख्य छ । फेसबुक पनि छोडेर स्न्याप च्याट र इन्स्ट्राग्रामतर्फ आकर्षित भएका छन् । जेन जीको भाषा शैली पनि फरक भएको छ । आफ्नो बोलीमा स्ल्याङ शब्द राखेर बोल्न मन पराउँछन् । अहिले सुनिरहेको शब्दहरू गिल्ला, ल्याङल्याङ, तोरी, लोल, झारपात, भेजा, बाल, रड्डी, खाते, झारे, पात, बाटो लाग, विन्दास, दामी आदि जेन जीको उत्पादन र तिनले प्रचलनमा ल्याएका शब्द हुन् ।

जेन जी र साहित्य :
जेन जी प्रविधि मैत्री, जन्मदेखि नै स्मार्टफोन, इन्टरनेट, र सामाजिक सञ्जालमा हुर्किएको हुनाले त्यही किसिमको साहित्य मन पराउँछन् । तिनीहरू साँस्कृतिक विविधता र समावेशी सोचप्रति सकारात्मक रहेका हुन्छन् । साथै, तिनीहरू जलवायु परिवर्तन, लैङ्गिक समानता, र सामाजिक न्यायका पक्षपाती हुन्छन् । तिनीहरू व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्तिमा विश्वास राख्दछन् । राजनीतिक विषयभन्दा पनि यिनै विषयवस्तु पर्यावरणीय सचेतना, जलवायु संकट, प्रकृति र विकासको द्वन्द्वका विषय साहित्यमा आउँदा जेन जी आकर्षित हुने गरेका छन् ।
जेन जी परम्परागत साहित्यतर्फ त्यति रुचि राख्दैनन् । कतिपय त तिनले सुनेका पनि छैनन् । सोसल मिडिया धेरै चलाउने भएकोले अतिरिक्त अध्ययनमा तिनको अभिरुचि छैन । लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन र पारिजात कोर्समा पढ्नुबाहेक खोजेर पढ्नमा तिनले रुचि राखेको देखिंदैन । व्हाटप्याड, ब्लग, टिक–टक पोयट्री, इन्स्ट्राग्राम स्टोरिज आदि माध्यमबाट साहित्य लेख्ने र साझा गर्ने प्रवृति हुन्छ । जेन जी पुस्ताको बढोत्तरीसँगै स्व–प्रकाशन र इ–बुकको पनि वृद्धि भएको छ । छोटो, छरितो, भावना प्रधान र दृश्यात्मक साहित्यको प्रयोग बढेको छ । मूल प्रवृतिभन्दा पनि बाहिर र व्यक्तिगत अभिव्यक्तिका साहित्य जेन जीलाई मन पर्छ । तनाव, निराशा र पीडाका भावुक साहित्यले बजार लिन थालेको छ । सरल, बोलचालको भाषा र स्ल्याङ शब्दको प्रयोग भएको साहित्य जेन जीलाई मन पर्छ । डायरी लेखन, आफू केन्द्रित, कथन युक्त, डायरी शैलीको, टुक्राटाक्री जोडिएका अनुभूति व्यक्त गर्ने नयाँ शैलीको साहित्यले जेन जीलाई आकर्षित गर्दछ ।
साहित्यमा चर्चित भएका कारण अमर न्यौपाने र बुद्धिसागरसम्म केही पढेका छन् । तर, तिनलाई नारायण ढकाल र नयनराज पाण्डेको नाम थाहा हुँदैन । कुमार नगरकोटीको साहित्य पनि जेन जीको रुचिको विषय होइन । आफूबाहिरको र आफ्नो सरोकार नभएको साहित्य जेन जीले रुचाउँदैनन् । जेन जी उत्तरआधुनिक साहित्यबाट पनि अगाडि बढेको पुस्ता हो । वैरागी काँइला, विमल निभा र श्रवण मुकारुङका कविता तिनले पढेका छैनन् । पोयट्स आइडलले कविता विधामा केही मोह सिर्जना गरेपनि वैचारिक र गहन कविता तिनको रुचिको विषय होइन । भावुक प्रेम र जीवन संघर्षका कविता तिनले केही सुनेका छन् । र, केही जेन जी पुस्ता कविता लेखिरहेका छन्, तर तिनको कवितामा पुस्ता विभाजन प्रष्ट देखिन्छ । कवितामा तिनले पहिलेको बाटो होइन, आफ्नै परिवेश अनुसारको, आफ्नै लागि कविता लेखिरहेका छन् ।
साहित्यमा विभिन्न पुस्ता र समूह क्रियाशील रहेको यथार्थ नेपाली साहित्यमा प्रत्यक्ष अनुभव गर्न सकिन्छ । ती समूहलाई उमेरगत समयकाल र विचार अनुसार विभाजन गरेर हेर्न सकिन्छ । तिनको उठवस, कार्यक्रम र वहस पनि भिन्न–भिन्न तरिकाले हुने गरेका छन् । जहाँसम्म पछिल्लो जेन जी पुस्ताको कुरा छ तिनको साहित्यिक समूह पनि फरक नै छ । तिनले गर्ने कार्यक्रममा अघिल्लो पुस्ताको उपस्थिति र सहभागिता कम छ । केही जेन जी पुस्ता आफ्नै समूहमा रहेर आफ्नै समूहको गुण अनुसार साहित्यको रचना गरिरहेका छन् । कविता विधामा जेन जीको उपस्थिति उल्लेख योग्य रहेको छ । बाँकी विधा गम्भीर र बढी साधना आवश्यक पर्ने भएकोले जेन जी त्यतातर्फ प्रवेश गरिसकेको छैन ।
खासगरी, जेन जीलाई साहित्यमा आकर्षण गर्नु चुनौंतीपूर्ण कार्य रहेको छ । परम्परागत, बौद्धिकताको भरिपूर्ण, गहन साहित्यभन्दा पनि नवीन शैली, अहिलेका प्रविधिमैत्री, छिटो, छरितो र आकर्षक शैलीका साहित्य नै जेन जीको साहित्य हो । विरासत र इतिहासको गौरवपूर्ण साहित्यलाई जेन जीले अमान्य गरिदिएका छन् । जेन जीलाई वैचारिक र चेतनायुक्त साहित्यिक वहसमा ल्याउनका लागि अघिल्लो पुस्ताले जेन जीसँग घुलनशील हुन र तिनकै शैलीमा आफूलाई परिवर्तन गर्न आवश्यक छ ।
निष्कर्ष ः
युगीन घटना, सामाजिक रूपान्तरण र इतिहास अध्ययनका लागि पुस्ता विभाजन र तिनको विश्लेषण आवश्यक छ । दोस्रो विश्वयुद्ध, शीत युद्ध, नवउपनिवेश, नवउदारवाद, भियतनाम युद्ध, बर्लिन पर्खालको अन्त्य, शीत युद्धको अन्त्य आदि भोगेको पुस्ता, विभिन्न आर्थिक मन्दीबाट गुज्रिएको पुस्ता, इन्टरनेट भएको र नभएको संक्रमणकालीन पुस्ता र सामाजिक सञ्जालको बीचमा जन्मिएको पुस्ता सबै एकैपटक क्रियाशील भएको यो अभूतपूर्व समय वा युग हो । अहिलेको विश्व सामाजिक, राजनीतिक, साँस्कृतिक र आर्थिक रूपमा संक्रमणमा रहेको विश्व हो । पछिल्लो सामाजिक सञ्जालबाट हुर्किएको जेन जी पुस्ताको जनसंख्या, सक्रियता र प्रभाव बढिरहेको छ । त्यो पुस्ता आत्मकेन्द्रीत, व्यक्तिगत स्वभाव कायम गर्दै र पूरानो मान्यता भत्काउँदै अगाडि बढिरहेको छ । संसारभर सम्पर्कमा रहेको, संसारको कुरामा अपडेट रहेको, विकासको चरम रमझम देखेको, आफैँ अवसरको सिर्जना गर्न सक्ने र वृत्ति विकासका लागि विदेश जाने प्रवृति र चरित्र जेन जीमा देखिन्छ । तिनीहरू आपसी सञ्जालबाट नयाँ संस्कृति, नयाँ भाषा, नयाँ फेसन र नयाँ क्रियाकलाप सिर्जना गरिरहेका छन् ।
जेन जी पुस्ता नेपालको सामाजिक, साँस्कृतिक, राजनीतिक र साहित्यिक क्षेत्रमा उदीयमान शक्तिका रूपमा देखा परिरहेको छ । प्रविधिमा जन्मजात निपूर्ण, वैश्विक विचारधाराले प्रभावित र व्यक्तिगत स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राख्ने यो पुस्ताले नयाँ जीवनशैली र चेतनाको विकास गरिरहेको छ । यस पुस्ताको चिन्तन र व्यवहारले परम्परागत संरचना, मूल्य र दृष्टिकोणलाई प्रश्न गरिरहेको छ, जसले नेपाली समाजमा व्यापक रूपान्तरणको संकेत दिइरहेको छ । उनीहरू सामाजिक न्याय, लैङ्गिक समानता, र जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दाहरूमा सक्रिय चासो राख्छन् । जुन नेपालजस्तो देशको स्थानीय सन्दर्भमा पनि उल्लेखनीय प्रभाव पारिरहेको छ । जेन जीलाई गहिरो अध्ययन र सम्वोधन नगरी आधुनिक नेपालको रूपान्तरणको पूर्ण तस्वीर कोर्न सकिँदैन । शिक्षा, रोजगारी र अवसरको अभाव, मानसिक स्वास्थ्यका चुनौतीहरू, र स्थापित संरचनासँगको असन्तुष्टि जेन जीको अस्थिरता र असन्तोषका कारक हुन् । यद्यपि, साहित्य, संगीत र सञ्चारका नयाँ स्वरूपहरूमार्फत आफूलाई अभिव्यक्त गर्न खोज्ने यो पुस्ताले नेपाली समाजको भावी अनुहार निर्धारण गर्ने सम्भावना बोकेको छ । जेन जी पुस्ता परम्परागत शैलीका साहित्यबाट पृथक, आफ्नो अनुभूति समेट्ने, वर्तमान संसारको समस्या व्यक्त गर्ने, भविष्यको बाटो उजार गर्ने आडम्वररहित प्रविधिमैत्री नवीन शैलीको साहित्य सिर्जनातर्फ आकर्षित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: