असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान

२०८२ असार १२

असार १५ गते धान दिवसमा ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ ।

काठमाडौं असार १२, नेपाली राष्ट्रिय धान दिवस अर्थात् १५ असारमा ८० लाख दही खपत हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार दही चिउरा खाने दिनमा ८० लाख लिटर दही खपत हुने अनुमान भएको हो । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार देशभर करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अनुमान रहेको छ ।
नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौंमा ‘दही चिउरा खाने विशेष कार्यक्रम – २०८२’ गरेर दही खपत र यसको महत्वबारे जानकारी गराएको हो । सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, विशेष अतिथिमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको उपस्थिति रहेको थियो ।

के छ दहीको महत्व ?
डेरी एसोसिएसनका अनुसार दही चिउरा जस्ता परम्परागत आहारहरू केवल सांस्कृतिक पहिचान नभई पोषणीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छन् । दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ तथा लाभदायक ब्याक्टेरिया (प्रोबायोटिक्स) पाइने भएकाले यसले पाचन प्रणाली सुदृढ बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ ।
साथै, छालालाई स्वस्थ राख्ने, हड्डी तथा दाँत बलियो बनाउने र मानसिक सन्तुलन कायम राख्न सहयोग पु¥याउने यसको विशेषता हो । नेपाली संस्कृति अनुसार दही शुभ कार्यमा सगुनको रूपमा प्रयोग गरिन्छ, जसले गर्दा यसको सामाजिक तथा धार्मिक मूल्य पनि उच्च छ ।

प्रतिक्रिया दिनुहोस्: