अब इरानको आणविक कार्यक्रम के हुन्छ ?

२०८२ असार १४

कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेर रिस फेरेपछि इरानले इसराइलसँगको युद्ध अन्त्य गरेको छ । अमेरिकाले आइतबार आफ्ना आणविक भट्टीमा आक्रमण गरेको जबाफमा इरानले सोमबार सांकेतिक हमला गरेपछि १२ दिनदेखि चलिरहेको युद्ध रोकिएको हो ।
इजरायलले इरानको आणविक हतियार कार्यक्रम रोक्न जुन १३ मा युद्ध छेडेको थियो । इरानको फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको आणविक भट्टी इजरायलले ध्वस्त पार्न नसकेपछि अमेरिका पनि युद्धमा होमिएको थियो ।
अमेरिका युद्धमा सहभागी भए कडा जबाफ फर्काउने चेतावनी इरानले दिएको थियो। त्यसका बाबजुद राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रहार गरे ।
अमेरिकाको मिजोरीबाट करिब १८ घन्टा उडेर गएका एक सय २५ वटा विमानले इरानमा आक्रमण गरेका थिए। त्यसमा बी–२ बमवर्षक, लडाकु र हावामै तेल भर्न सक्ने विमान थिए ।
तर अमेरिकाले हमला गर्नुअघि इरानलाई भट्टीहरूमा मात्र प्रहार गरेको र अन्त कतै प्रहार नगर्ने भन्दै सुटुक्क सन्देश पठाएको थियो। आफ्नो सैन्य कारबाही सकिएको र त्यसको कडा जबाफ दिए सारा शक्तिका साथ इरानमाथि जाइलाग्ने चेतावनी पनि दियो ।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी संरचनाहरूमा कडा प्रहार गर्ने वा आफ्नो नजिकै रहेको समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्ने खतरा थियो। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल अनि करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। अमेरिकी संरचनामा कडा प्रहार गरे वा विश्व अर्थतन्त्र नै संकटमा पार्ने गरी ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरे अमेरिकाको इरानसँग पूर्ण युद्ध हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्: