२०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानविन हुनुपर्छ : प्रमुख सचेतक शाही

२०८२ असार ५

काठमाडौं असार ५, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा सबै दल एकजुट हुनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन् ।
उनले उक्त प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए । उनले भने, ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । हामी सबैको साझा मुद्दा हो । आजको एक जना गृहमन्त्रीको कुरा होइन, २०६४ सालदेखिका १४ वटा गृहमन्त्रीको मुद्दा हो । राप्रपाको तर्फबाट सबै दलहरूलाई अपिल छ –हामी एक ठाउँमा आएर मानव बेचबिखनविरुद्ध एकजुट बनौं । यो कुनै व्यक्ति वा दलको मात्र मुद्दा होइन । आज लाखौं मान्छेहरू बेचिएर अलपत्र परेका छन् । जबसम्म यो भिजिट भिसा प्रकरणमा छानविन समिति बन्दैन तबसम्म आन्दोलन जारी रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्: