
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा बुधबार भएको खेलमा गोल्डेनगेटले टाइम्स क्लबलाई ७३–६४ ले पराजित गरेको छ । जारी लिगमा गोल्डेनगेटको यो लगातार छैटौं जित हो ।
७ खेलमा ६ अल जितेको गोल्डेनगेटले हाउण्ड्स एकेडेमी समान १३ अंक जोडेको छ । हाउण्ड पहिलो र गोल्डेनगेट दोस्रो स्थानमा छ ।
टाइम्सको भने यो तेस्रो हार हो । ७ खेलमा ४ जितबाट ११ अंक जोडेर टाइम्स तेस्रो स्थानमै छ ।
वर्षाका कारण कीर्तिपुर कभर्डहलमा ढिला गरी सुरु भएको खेलको पहिलो क्वाटर गोल्डेनगेटले २०–१९ ले आफ्नो पक्षमा पार्दै झिनो अग्रता लिएको थियो । दोस्रो क्वाटरमा पनि २१–१२ को अग्रता बनाएपछि गोल्डेनगेटले हाफटाइमसम्म ४१–३१ को अग्रता बनायो ।
तेस्रो क्वाटर टाइम्सले १४–१२ ले आफ्नो पक्षमा पारेपनि चौथो क्वाटरअघि गोल्डेनगेट नै ५३–४५ ले अघि थियो । चौथो तथा अन्तिम क्वाटर गोल्डेनगेटले २०–१९ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
गोल्डेनगेटको जितमा उत्कृष्ट प्रदर्शन गरेका अजय कुश्वाह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । उनले १५ रिबाउण्डसहित १७ अंक स्कोर गरे ।
गोल्डेनगेटका लागि अभिषेक सिंह र निकेश मगरले सर्वाधिक २०–२० अंक स्कोर गरेका थिए । यस्तै टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक १५ अंक स्कोर गरे ।
भद्रपुर नगर हक्की संघको तदर्थ समिति गठन
पूर्वी नेपालको हक्की विकासमा नयाँ आयाम थप्दै भद्रपुर नगरमा आज भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ। सो अवसरमा राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई सम्मान गरियो भने हक्की खेल सम्बन्धी ज्ञानवद्र्धक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता झापा जिल्ला हक्की संघका अध्यक्ष श्री मनोज बुढाथोकीले गर्नुभएको थियो भने प्रमुख अतिथि झापा जिल्ला खेलकुद संघका अध्यक्ष श्री भेषराज भन्डारी हुनुहुन्थ्यो। कार्यक्रममा वडा न ९ का अध्यक्ष राम दाहाल ८ न वडाका अध्यक्ष गौरव सुब्बा (मनोज) लगायत स्थानीय जनप्रतिनिधि, खेलकुद अधिकारी, शिक्षक, खेलाडी, अभिभावक र पत्रकारहरूको उपस्थिती उल्लेखनीय थियो।
नवगठित तदर्थ समितिको संरचना, अध्यक्षः दिपक खतीवडा, उपाध्यक्षः युवराज ढकाल, सचिवः खगेन्द्र ढुंगाना, कोषाध्यक्षः श्रीमती शाकुन्तला चौधरी, सदस्यहरू रवीन सुनुवार, सुनिता चौधरी, भीम चौधरी, श्री मणी कुमार शर्मा, गङ्गा थापा ।
फुटबल टोली जर्मनी जाने
काठमाडौं, जेठ २१, एसभी मामेन्डोर्फ भीआर बैंक कपमा सहभागी हुन फुटबल टोली बिहीबार जर्मनी जाने भएको छ । प्रतियोगिता जुन ५ देखि १५ तारिखसम्म हुनेछ ।
खेलाडीमा नदुप प्रसाईं, स्पर्ष राई, जोसेफ गुरुङ, निर्विग्न ढकाल, श्रीयान्श पन्त, श्रीशान्त योगी, प्रयन केसी, श्रीभास खरेल, प्रिशा श्रेष्ठ, सश्याकप्रसाद प्रधान, विराज गौतम, गौरव अधिकारी, ओम दवाडी, निस्कर्षराज शाक्य, अमन घिमिरे, आर्यन श्रेष्ठ, आयुश श्रेष्ठ, जसन नाम्सेल डेविस वज्राचार्य, युजन तिमल्सिना, निसान महतो, वैभव गोयल, समर्पण बबी सेढाईं, अनमोल न्यौपाने, आइडेन श्रेष्ठ, सशांक भण्डारी, आशुतोष मल्होत्रो, अनब लामा, आतिस श्रेष्ठ, आर्यावीर सिंह, सुविस कायश्थ, अर्हान बाँस्कोटा, सिभान्स भट्टराई, तेन्जिङ शेर्पा, भविष्य शाह र पेम्बा नुर्बु भोटे रहेका छन् । खेलाडीहरु विभिन्न ३ उमेरसमूहमा विभाजन भएर प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
अफिसियलमा श्रीबहादुर योगी, चन्दिका जोशी र होमनाथ तिमल्सिना, प्रशिक्षकमा थमन भुसाल, कृष्ण तामाङ र ले मेन्सन तथा फिजियोथेरापिष्टमा रविन्द्र बस्नेत छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
मनास्लुलाई फुटबल उपाधि
मनास्लु वल्र्ड स्कुलले तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
चावहिलमा भएको फाइनलमा मनास्लुले डिफेन्डिङ च्याम्पियन एनआईसी एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो । मनास्लुका देविन कार्कीले २ तथा अभिषेक माझीले १ गोल गरे । एनआईसीका सुनिश्चित सुवेदी र समिर लामाले समान १–१ गोल गरे । विजेता मनास्लुले ३० हजार र उपविजेता एनआईसीले १५ हजार नगद पुरस्कार हात पारे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजना तथा चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एनआईसीका सुनिश्चित सुवेदी सर्वोत्कृष्ट खेलाडी घोषित भए भने एनआईसीका आर्यब श्रेष्ठ उदीयमान खेलाडी चुनिए । एनआईसीका यसोन थापा मगर उत्कृष्ट गोलरक्षक तथा मनास्लुका देविन कार्की उत्कृष्ट खेलाडी बने । चारैले जनही २ हजार ५ सय नगद पुरस्कार हात पारे ।
विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा २० छात्र टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
नेपाल अक्वाटिक्स च्याम्पियनसिप जेष्ठ २४ र २५ मा हुने
नेपाल पौडी संघको आयोजनामा दोश्रो संस्करणको नेपाल अक्वाटिक्स पौडी प्रतियोगिता जेष्ठ २४ र २५ गते सातदोबाटो ललितपुरको आउटडोर पौडी पोखरीमा हुने भएको छ । प्रतियोगितामा तीन सय खेलाडी सहभागी हुने छन् । उमेरसमूह र खुल्ला गरी ५३ वटा स्पर्धामा हुने प्रतियोगिताको अनलाईन सिस्टमबाट खेलाडी दर्ता गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल पौडी संघका सचिव गंगालाल गोलेले बताए ।
उक्त प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरी लम्सालबाट उद्घाटन हुनेछ भने समापनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई निमन्त्रणा गरिएको संघले जनाएको छ ।
प्रतियोगिता अवलोकन गर्न दर्शकलाई टिकट सिस्टम राखिएकोमा दोश्रो दिनको फाइनलका सम्पूर्ण टिकट विक्री भईसकेको संघले जनाएको छ । भिआईपी प्याराफिटमा मात्र टिकट राखिएकोमा टिकट दर २ सय तोकिएको प्रतियोगिता संयोजक एवं नेपाल पौडी संघका महासचिव ईश्वरकुमार कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्: