
काठमाडौं जेठ २०, सगरमाथा र अन्य हिमालहरूलाई जलवायु परिवर्तनको असरबाट जोगाउनु आजको चुनौंती हो । विकसित देशहरूले गरेको कार्बन उत्सर्जनको मार नेपालजस्ता कम कार्बन उत्सर्जन गर्ने मुलुकले भोग्नुपरेको छ ।
जलवायु न्याय, वैकल्पिक ऊर्जा, वायु ट्राफिक कटौती र छिमेकी राष्ट्रहरूको उत्तरदायित्व जस्ता विषयमा सगरमाथा संवादमा प्रभावकारी छलफल हुनुपर्छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालको गौरव त हो नै योसहित अन्य हिमालहरूलाई जलवायु परिवर्तनको विकराल स्थितिबाट बचाइराख्नु आजको प्रमुख चुनौती हो । हिउँले ढाकिएका सेताम्मे कतिपय हिमालहरु पछिल्लो समय हिउँले ढाकिनुपर्ने बेलामा समेत कालो पत्थरजस्तो देखिएको भन्दै वातावरणविद्हरूले चिन्ता व्यक्त गर्दै आएको विषय नौलो होइन ।
हिमाल मात्रै होइन हिमालदेखि समुद्रसम्मै परिरहेका असर, दिगो हरित अर्थ व्यवस्था, जलवायु हानिनोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीजस्ता विषयमा छलफल गर्न सरकारले नेपालमा ‘सगरमाथा संवाद’को आयोजना गरिरहँदा नेपालले विश्वमञ्चमा जलवायु परिवर्तन र यसले नेपालजस्ता मुलुकमा पारेका असरबारे जोडदार आवाज उठाउने विश्वास गरिएको छ ।
संसारमा जलवायु संकट निम्त्याउनेहरू विकसित मुलुकहरू नै हुन् । यसमा कुनै विवाद पनि छैन । मात्र उनीहरूले कति जिम्मेवारीबोध गर्छन् भन्ने मात्रै प्रश्न हो । विकसित मुलुकहरूले नै औद्योगिक क्रान्तिदेखि हालसम्म अत्यधिक कार्बन उत्सर्जन गर्दै आएका छन् । तर विडम्बना त्यसको प्रत्यक्ष ठुलो मार नेपालजस्ता कम कार्बन उत्सर्जक मुलुकहरू बन्न पुगेका छन् ।
नेपालको औसत कार्बन उत्सर्जन विश्वको तुलनामा अत्यन्तै न्यून छ। तर हिमाल पग्लिरहेको छ, वर्षाका स्वरूप फेरिँदैछ, डुंगा खेलेको खोलामा अहिले ढुंगा टलक्क देखिने स्थितिमा छ । यही कारण सगरमाथा संवादजस्ता मञ्चमा निम्न सवालमा आवाज उठाइनु जरुरी छ ।
१. जलवायु न्याय र फन्डिङको सवाल
नेपाल बन सम्पदाले भरिपूर्ण छ । आज हामी करिब ४२ प्रतिशत भूभाग वनले ढाकिएको राष्ट्र हौं, जसले विश्वकै लागि कार्वन सोस्ने काम गरिरहेको छ । हामीले बाघहरू जोगाएका छौं, जैविक विविधताको संरक्षण गरिरहेका छौं । तर हामीलाई जलवायु परिवर्तनको दण्ड किन ? ग्लोबल क्लाइमेट फन्ड, ओपेक र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूले नेपालजस्ता मुलुकका लागि विशेष फन्डिङको व्यवस्था गर्नुपर्छ । जसको माध्यमबाट क्षतिको भरपाईका लागि र नवीन पूर्वाधार निर्माणका लागि काम गर्न सहयोग उपलब्ध हुनुपर्छ ।
२. वैकल्पिक ऊर्जामा जोड
अहिले पनि नेपालमा लाखौँ लिटर डिजेल र पेट्रोल आयात भइरहेको छ, जसले वातावरण प्रदूषित मात्रै गरिरहेको छैन देशलाई आर्थिक भार पनि थपिरहेको छ । स्वच्छ ऊर्जाको सम्भावना प्रचुर हुँदाहुँदै पनि हामीले त्यसको अधिकतम प्रयोग गर्न सकेका छैनौँ। जलविद्युत्, सौर्य ऊर्जा, बायोग्यास जस्ता वातावरणमैत्री आयोजनामा लगानी बढाएर विस्तारै डिजेल र पेट्रोल जस्ता इन्धनको आयात घटाउनु आवश्यक छ । यो संक्रमणमा अन्तर्राष्ट्रिय प्रविधि र वित्तीय सहयोगको आवश्यकता छ ।
३. वायु ट्राफिक घटाऔं
नेपालमा त्रिभुवन विमानस्थलबाहेक पोखरा र भैरहवा क्षेत्रीय विमानस्थल पनि छन् । तर, त्रिभुवन विमानस्थलबाहेकका थप दुई विमानस्थल पूर्ण प्रयोगमा आउन नसक्दा वायु ट्राफिकका कारण त्रिभुवन विमानस्थलमा अवतरण हुने दैनिक थुप्रै जहाजहरूको ‘होल्डिङ’ हुने गर्छन् । हरेक जहाजले ५०० देखि ३,००० लिटरसम्म इन्धन एक घण्टामै जलाउने हुँदा त्यसले वातावरणलाई प्रदूषित गराउने बताइन्छ ।
यो केवल इन्धनको खपत होइन कार्बनको विस्फोट पनि हो। त्यसैले वायु ट्राफिक हुन नदिन वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगमा छिमेकी तथा साझेदार राष्ट्रहरूको सहयोग अपरिहार्य छ। जलवायु सन्तुलनमा यसको पनि भूमिका हुने भएकाले सगरमाथा संवादमा यसबारे गम्भीर छलफल हुनुपर्ने देखिन्छ ।
४. छिमेकी राष्ट्रहरूको उत्तरदायित्व
हाम्रो छिमेकी राष्ट्रहरू—विशेषतः भारत र चीन ठुला कार्बन उत्सर्जक हुन् । उनीहरूका कोइला प्लान्ट, औद्योगिक क्षेत्रलगायतले वृहत् कार्बन उत्सर्जन गरिरहेका छन् भने जसको धुवाँ हिमालतर्फ उडिरहेको छ। अध्ययनहरूले पनि हिमाल पग्लिनुको एउटा कारण ती क्षेत्रका कार्बन–ब्ल्याक सोसको असर हो। यो अवस्थामा छिमेकी राष्ट्रहरूले स्पष्ट प्रतिबद्धता जनाउँदै असर न्यूनीकरणका लागि भूमिका खेल्नुपर्छ ।
नेपालले जलवायु परिवर्तनविरुद्ध लड्न पहल गर्दै आएको पनि छ । यस्तो अवस्थामा सगरमाथा संवाद आफ्ना कुरा राख्न थप अवसर पनि हो । त्यसैले सगरमाथा संवादमा नेपाल एक स्पष्ट कार्ययोजनाको सुरुवात बन्न सक्नेगरी नेपाल प्रस्तुत हुनुपर्छ ।
नेपाल सरकारले ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो पटक सगरमाथा संवाद शुक्रबारदेखि यही जेठ ४ गतेसम्म आयोजना गरेको अवस्थामा विश्वव्यापी मुद्दामा देशको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकासको माध्यमबाट राष्ट्रिय आत्मविश्वास बढाउँदै नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न गर्न भूमिका लेख्न आवश्यक छ ।
साथसाथै जलवायुजन्य हानिनोक्सानी, विपद्, वायु प्रदूषणलगायत विश्वव्यापी सङ्कटले नेपालजस्ता अल्पविकसित, हिमाली देश र यहाँका नागरिक आक्रान्त भइरहेको परिस्थितिमा संवादले एउटा ठोस निचोड निकाल्न सकोस् । यही शुभकामना !
शर्मा गैरआवासीय नेपाली संघका अभियन्ता हुन्
प्रतिक्रिया दिनुहोस्: