संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा

२०८२ जेष्ठ २२

काठमाडौं जेठ २१, संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा एक जना महिला सदस्य बबिना भट्टराई सहित १२ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तेज प्रसाद खरालले जानकारी दिएका छन् ।
संगीतकार लामाको अध्यक्षतामा भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् ।
अध्यक्ष लामाले आफु अध्यक्षमा सर्वसहमत चयनभए संगै आफ्ना कार्यकालमा सम्पन्न गर्ने निम्न ८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।
१. संस्थाको मुख्य रुपमा कोष अभिवृद्धि गर्ने, त्यसका लागि देउसी, भैलो कार्यक्रम, वार्षिक क्यालेण्डर प्रकाशन, साधारण सदस्यको संख्या थप्दै लगिने तथा साधारण सदस्यलाई आजीवन सदस्यमा रुपान्तरित गर्न प्रोत्साहित गरिने, कोष अभिवृद्धिको उद्देश्य राखि बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने, प्रायोजन मार्फत कोष निर्माणको कार्यलाई सफल बनाउने आदि ।
२. अक्षय कोष निर्माणको लागि सम्वन्धित दाताहरुको पहिचान गरि वातावरण निर्माण गरिदिने तथा उत्प्रेरित समेत गर्ने ।
३. वर्षमा कम्तिमा एक पटक कार्यक्रम आयोजना गरि अग्रज संगीत श्रष्टाहरुलाई सम्मान तथा अभिनन्दन गरिनेछ ।
४. संगीत कल्याणकारी कोषलाई अझ बढोत्तरी गर्दै संगीतकर्मीहरुको सामाजिक सुरक्षा केन्द्रित कार्यक्रमलाई अघि बढाइनेछ ।
५. संगीत रोयल्टी सम्वन्धि कार्यक्रम आयोजना गरि संगीतकर्मी सबैलाई हुने गरि सुुसुचित गरिनेछ।
६. आर्थिक पारदिर्शतिालाई मूलमन्त्र बनाई आर्थिक कारोवार विनियमावली निर्माण गरि चुस्त दुरुस्त कार्यान्वयन गरिनेछ ।
७. परेको बेला गरिने श्रष्टा सहयोगलाई विभेदरहित हुने गरिकन स्पष्ट नियमावली तयार गरि नियम भित्र बसि सहयोग गरिनेछ ।
८. नेपाली गीत, संगीतको श्रीवृद्धिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघ, संस्था सबै संग सम्भावित सहकार्यको विषय पहिचान गरि समन्वयात्मक कार्यक्रम सम्पन्न गर्ने ।
उनले आफ्नो कार्यकालमा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गर्दै आफ्नो कार्यकालमा रहेका पदाधिकारीहरुको सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
संस्थाको १३ सदस्यीय कार्यसमितिमा एक जना सदस्य नवगठित कार्य समितिले चयन गर्ने बरिष्ठ उपाध्यक्ष राजेश थापाले बताए । सर्वसम्मत वाह् जनाको कार्यसमितिमा संगीतकार बबिना भट्टराई एक मात्र महिला सदस्य निर्वाचित भएकी छिन् । संगीतकार भट्टराई विगत १६ वर्ष देखि गायनको साथसाथै संगीतकारको भूमिकामा समेत नेपाली गीत, संगीत, भक्ति संगीतमा सक्रिय रहेकी छिन् । बबिना भट्टराई नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी संगीतकर्मी हुन् । कार्यसमितिमा निर्विरोध निर्वाचित भए संगै आफ्नो पदीय जिम्मेवारी र दायित्वलाई गम्भीर भएर पूरा गर्ने उनले बताएकी छिन् ।
नवगठित कार्यसमितिलाई जेठ १८ गते एक कार्यक्रम आयोजना गरि पदभार हस्तान्तरण गर्ने निवर्तमान अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।
अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवम् संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।
विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, गायिका चौधरीले भन्नुभयो । उहाँका थुप्रै गीत श्रोता÷दर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका चौधरीले बताउनुभयो । थारु गीतमा जमेकी अनुले थुप्रै नेपालीका साथै हिन्दी गीत पनि गाउनुभएको छ ।
अनुले नेपाली चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाँले मह जोडी, धिरने शाक्य लगायतसँग अभिनय गर्नुभएको छ । कोरियोग्राफरमा पनि कुशल अनु हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित हुनुभएको छ । उहाँले हालै अवार्ड पनि पाउनुभएको थियो । अनुले निर्देशन र कोरियोग्राफमा वल्र्ड बुकअफ रेकर्ड पनि राख्नुभएको छ । उहाँले गीत प्लेनभित्र विमोचन र प्यारागलाइडिङमा बाट विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: