
यज्ञश्वर निरौला
महाकवि कालीदासले मेघलाई अनि मोतीराम भट्टले पिकलाई दूत बनाएर सन्देश पठाएको सन्दर्भ यहाँनेर जोडिन आउँछ। कालिदास र मोतीरामका दूतले प्रेमीप्रेमिकाको सन्देश वहन गरेका थिए । यस स्मृतिकाव्यमा अलि भिन्न सन्दर्भ आएको छ । दिवङ्गत पिता कतै बसिरहनुभएको छ भने उहाँको आत्माले परेवालाई दूत बनाएर आफूसमक्ष सन्देश पठाएको र आफूले पनि त्यही परेवाका साथ आफ्नो सन्देश बुबालाई पठाएको कविले उल्लेख गरेकी छन् ।
बुबाको बिदाइ :
आफूले जन्माई, हुर्काई, पालनपोषण गरी, पढाएर ज्ञानी बनाएकी छोरीलाई बिहे गरेर अर्काको हातमा सुम्पँदा जन्म दिने आमाबुबालाई एकातिर सन्तुष्टिबोध हुन्छ भने अर्कातिर ठुलो आघात परिरहेको हुन्छ। यस काव्यमा अर्को सन्दर्भ पनि जोडिएको छ । आफूलाई जन्माई, पालनपोषण गरी, हुर्काई, बढाई, पढाई, जान्नेबुझ्ने बनाएर योग्य वर चयन गरी जीवन सार्थक पारिदिने पितालाई यस धर्तीबाटै बिदा गर्नुपर्दाको पीडा संसारका कुनै पनि वेदना र आघातसित तुलनीय हुन सक्दैनन् । यस वज्रपातले कविको मन असह्य पीडाले आक्रान्त देखिन्छ । उनले भनेकी छन् ः
हे बाबा ! म बिदा भए पनि यहाँ भेट्थ्यौँ मिलाई घडी सोध्थ्यौँ बात गरी सदैव कसरी बित्दो छ है दैनिकी ?
उल्टो भो सब बात आज कसरी लाग्दो छ चिन्ता अति छोरी प्रीति अधैर्य छे मन दुखी बाबा बिदाई गरी ।।
छोरी बिदाइ गर्दाको सन्दर्भ राखेर कविताकाव्य अरूले पनि रचना गरेका छन् । आमाको स्मरणमा धेरै शोककाव्य रचना भएका छन् तर
जन्म दिने पितालाई धर्तीबाटै बिदाइ गर्दा आइपर्ने आघातलाई लिएर काव्य रचना गर्ने नेपाली कविहरूमा प्रीति नै पहिलो हुन् कि भन्ने यस लेखकको ठम्याइ रहेको छ ।
पुर्खाको बिँडो प्रीतिको कर्म :
गुल्मी जिल्लाको अमरपुरमा आदिपुर्खा उदयका सन्तान सुदय, सुदयका कुलमा जन्मेका शशिधरबाट तिसौं पुस्तामा जन्मेका रश्मिराज अर्यालका कुलमा कुलमा बत्तिसौँ पुस्तामा विष्णुराजको जन्म भएको अर्याल वंशावलीमा उल्लेख छ । अर्यालको आत्रेय गोत्र हुने भएकाले यस वंशमा अर्याल थर नलेखी अत्रि ऋषिका सन्तानका रूपमा आत्रेय गोत्र चलेकाले यस वंशमा नामका अन्तमा आत्रेय लेख्ने गरेका छन् । यस कुलमा संस्कृत वाङ्मयका धुरन्धर विद्वान् थिए। यस कुलका पुर्खा वेद, वेदाङ्ग, उपनिषद्, पुराण, उपपुराण, ज्योतिष, व्याकरण, साहित्य आदि अनेक विधाका ज्ञाता रहेका देखिन्छन् । यस्तो विद्वत् कुलको तेत्तिसौ पुस्तामा जन्मेकी प्रीति पनि संस्कृत वाङ्मयकी कुशल ज्ञाता हुन्। उनले यस काव्यमा आफ्ना कुलको विद्वत्तासित आफूलाई यसरी जोडेकी छन् ः पुर्खा हाम्रा यस कुलमहाँ ज्योतिषै थे नि ज्ञानी प्रीति तैंले पनि अब यहाँ ज्योतिषै पढ् न नानी । आज्ञा मानी म पनि उसरी पढ्न थालेँ बुझेर पढ्दै गर्दा रस पसिगयो भुल्न थालेँ खुलेर ।।
पुर्खाले ज्योतिष विद्या अध्ययन गरेका हुनाले तिनै पुर्खाको इज्जत राख्न ज्योतिष विद्या आर्जन गर्नुपर्ने पिताका वचन शिरोपर गरी कवि प्रीतिले पुर्खाको बिँडो थामेको देखिन्छ। विद्या आर्जन गर्ने अनि समाजका लागि केही काम गर्न नसक्नेको विद्या खिइँदै जान्छ र अन्तमा त्यस्ता व्यक्ति समाजबाट विलीन भएर जान्छन् । तिनको नामनिसाना नै रहँदैन । कवि प्रीति विद्या आर्जन गरेपछि पनि आफूले आर्जन गरेको विद्या निकम्मा भएर जाने हो कि भन्ने कुरामा निकै सचेत देखिन्छिन् । उनले काव्यमा भनेकी छन् ः
लौ है बाबा भन अब म के कस्तरी नाम राखूँ मेरो पित्री ऋण म कसरी के गरी तिर्न थालूँ ? को खुस् होला अघिअघि सरी मार्गमा बढ्न खोज्दा
कस्ले भन्ला उठ ल अब हे प्रीति ! छोरी म लोट्दा ।।
कवि पितृऋण तिर्न नसकिने पो हो कि भन्ने चिन्तामा परेकी छन्। विद्वान् पिताकी विदुषी छोरी प्रीतिले यो स्मृतिकाव्य रचना गरेर अनि पिताले देखाएको सन्मार्गमा हिँडेर पितृऋण तिरिरहेकी छन् तर अझ उच्च स्थानमा पुग्न सिँढी उक्लँदै जाँदा कतै चिप्लिएर लडेमा उठ छोरी भन्दै हौसला दिने पिता सधैंका लागि आफूबाट टाढा हुँदा उनी अत्यन्त चिन्तित देखिएकी छन् ।
कविता महिमा :
’लेख्छु म भाव भरी कविता’ शीर्षकमा कवि प्रीतिले कविताको महिमा गान गरेकी छन् साथै अरू कवितामा उनले कविताप्रतिको आफ्नो धारणा पनि व्यक्त गरेकी छन् । कविता रचनामा नै आफूलाई लीन गराउन उद्यत रहेकी कवि प्रीतिले कविताको आह्वान गर्दै भावले भरिपूर्ण भएका कविता लेख्न पाइरहियोस् र नदीको पानी सलल्ल बगेझैं कविता आइरहोस् अनि सजिलै काव्य पूरा गर्न सकियोस् भन्ने भाव व्यक्त गरेकी छन् ।
के भनु ! के गरुँ ! के कसरी ! अब सिर्जन थालेँ म खै कविता लुक्छ कता अनि झुक्छ कता मन चञ्चल बन्दछ भुल्छ कता डम्डम डम्डम गर्दछ नाद अहो ! मनको डमरू कविता तप्तप तप्तप अश्रु झरी मनको नचुहे कसरी कविता ?? कविता अत्यन्तै सुन्दर र मनमोहिनी भएकाले भावको गहिराइमा पुगी सच्चिदानन्दस्वरूपलाई आत्मसात् गर्न सक्ने क्षमता नभएको हुँदा र कविता लेख्न भाव नआउने शब्द नआउने हुनाले भाव, शब्द, लय, विम्ब, अलङ्कार, रस आदि सबै आओस् भन्ने कविको आशय
अभिव्यक्त भएको छ। यस काव्यमा कविताप्रति कविको धारणा यसरी व्यक्त भएको छ :
स्वार्थै लिप्सा यदि छ रचना चाहना ती गरिन्नन् सर्वव्यापी जनमन छुने भाव मात्रै पढिन्छन् । यावत् बुझ्दै मनमन गुनी लेखिए काव्य खुल्छन्
आफैँ खोज्दै सहज मनले पाठकै मुग्ध हुन्छन् ।
स्वार्थमा अल्झिरहने व्यक्तिले साहित्य सिर्जना गर्न सक्दैन र कविता रचना गर्न पनि सक्दैन । जसको मन मस्तिष्क र हृदय स्वच्छ छ त्यसले मात्र कविता सिर्जना गर्न सक्ने हुँदा आफूमा कुनै स्वार्थ नभएकाले यो काव्य रचना गर्न सकेको भाव उक्त श्लोकमा अभिव्यक्त भएको छ । छन्दप्रति मोह
कवि प्रीति छन्दमा कविता लेख्न, छन्दमा खेल्न र छन्दमै रमाउन चाहन्छिन् । छन्दमा कविता लेख्न प्रेरणा दिने उनकै पिता रहेको कविले स्वीकार गरेकी छन् र भनेकी छन् ।
जे छ मेरो सबै देन तिम्रै त हो
लेखनी चल्नमा सीख तिम्रै थियो । छन्दमा लेखेँला चाहना पो थियो शोकमा भुल्न खोज्दा त लौ आँटियो ।
लौ नयाँ भावमा छन्दकै साथमा छन्दको मातमा चल्न थालेँ म ता ।
ज्ञानभन्दा ठुलो छैन संसारमा
चित्तले त्यै गुनी ज्ञानकै मार्गमा ।।
यी कवितांश स्रग्विणी छन्दमा रचना गरिएका छन् । उनले यस काव्यमा अनुष्टुप, मदिरा, शार्दूलविक्रीडित, स्रग्विणी, भुजङ्गप्रयात, शिखरिणी, वितान, मन्दाक्रान्ता, वियोगिनी, असारे लोकछन्द, पञ्चचामर, स्रग्धरा र मञ्जुभाषिणी गरी चौधओटा छन्द प्रयोग गरेकी छन् । यस काव्यमा यति धेरै छन्द प्रयोग गर्नु कवि प्रीतिको छन्दप्रतिको मोह प्रस्ट भएको छ ।
सूक्तिमयता :
सूक्तिमयता काव्यमा हुनुपर्ने महत्वपूर्ण गुण हो । जुन काव्यमा सूक्ति प्रयोग भएका छन् त्यो काव्य उत्कृष्ट बन्दछ । काव्यकार प्रीतिले काव्यमा धेरै सूक्ति प्रयोग गरेकी छन्। केही नमुना हेरौं ः
जसो जे परेमा नि आफैँ छ खट्ने
मुखैसाथ कामै हुने थोर गर्ने ।
बुझी यो कुरा ।
लौ तिमी काम गर्न
ससाना कुरामा नअल्झेर बस्नू ।।
बढाएर पाउ तिमी सुस्त सुस्त नडग्नू कतै लर्खराएर अन्त ।
म आफू सधैँ मार्गमा लक्ष्य भेदूँ
भनेरै तिमी लाग बाटो नछोड्नू ।।
सूक्तिले नै काव्यलाई पढूँ पढूँ लाग्छ र सूक्तिमय काव्य पाठकका लागि पठनीय हुन्छन् । कवि प्रीतिको प्रयोग गरेका सूक्तिकै कारण यो
काव्य पठनीय बनेको छ ।
निष्कर्ष :
सत्ताइस ओटा विभिन्न शीर्षक दिएर कवि प्रीतिले रचना गरेको यस स्मृतिकाव्यमा कविका पिता लाटोसाथीको स्मरण गर्दै पिताले आफूमाथि गरेको स्नेह, पढाइ, लेखाइ उत्साहमय जीवन निर्माणका लागि गरेको ड्डउत्प्रेरणाकै कारण पिताको देहावसान भएको यतिका वर्ष पनि आफूले काव्य सिर्जना गर्न सकेको उनको भाव यस काव्यमा अभिव्यक्त भएको छ । कवि प्रीतिको यस काव्यमा रहेको कविताको शैलीलाई तोप चराको गुँड बनाउने शैलीसित तुलना गर्न सकिन्छ । सुकेपछि हावाले उडाएर लैजाने अथवा कुहेपछि माटामै विलीन हुने घाँसपरालका त्यान्द्रा र ससाना लहरा भेला पारेर तोप चराले गुँड बनाउँछ तैपनि त्यो सिङ्गो र पूर्ण हुन्छ । यस काव्यमा कविले आफ्ना पिताको जीवनशैली रूपको विकीर्ण अवस्थामा पुगेको थियो, काव्यभित्रका कविता पनि जुन त्यस्तै प्रकारले विचार र भाव छरपस्ट बनाएर रचिएका छन् तैपनि यो सङ्ग्रह आफैमा परिपूर्ण छ । कवि प्रीति आफू बन्द बनेर हृदयको न्यानो भावनाले भविष्य कोरल्न चाहन्छिन् लहाँचे चराको पोथीजस्तै । कुनै रूखको टोड्कामा फूल पारेर बच्चा कोरलेपछि भाले लहाँचेले त्यस टोड्कामा सानो प्वाल राखेर हिलाले टालिदिन्छ र त्यसै प्वालबाट पोथी र बच्चालाई चारो खुवाउँछ ।
चारो खोज्न गएको भाले व्याधाको वाणले मारिनसक्छ । पोथी र बच्चाको भविष्य त्यसै कुहिनसक्छ । तैपनि कवि प्रीति आफ्नै मनको गुप्ततम कक्षमा कविता कोरलेर भविष्यलाई हुर्काउन उद्यत रहेकी छन् । उनले कोरलेका कविता बाहिरी संसारमा आउँछन् । उनी कतै हराइन् भने पनि कोरलिएका कविताका माध्यमबाट अमृतोन्मुख अवस्थामा पुग्न सक्छिन् । विचार र भावनालाई समाहित गर्दै जीवन शैलीको खोजीजस्तो कालिक चेतना रहेको आजको मान्छेमा अन्तद्र्वन्द्व, अस्तित्वबोध, जीवनप्रतिको नाङ्गो व्यङ्ग्य, यथार्थभित्र अझ गहिरो यथार्थ खोज्ने वर्तमान नेपाली कविताका प्रवृत्तिगत दृष्टिकोण अभिव्यक्त हुनु यस काव्यमा प्रस्तुत भएको सबल पक्ष हो ।
लाटोसाथी कवि प्रीति आत्रेय ज्ञवालीको संवेदना एवम् असह्य पीडाबाट अभिव्यक्त भएको काव्य हो । जीवनमूल्यको उत्थान र सामाजिक कल्याण उनका काव्यको मूल प्रयोजन रहेको देखिन्छ । आचार्य वामनले भनेजस्तो कवि प्रीतिमा पनि काव्यरचनाका दृष्ट र अदृष्ट दुई पक्ष देखिन्छन् ।
अर्थ र काम प्राप्तिमा उद्यत रहेको हुन्छ । काव्य रचनाका माध्यमबाट कविहरू आफूमा रहेको अर्थ र काम प्राप्तिको भावनालाई निरुत्साहन गर्दै धर्म र मोक्षको बाटोतर्फ उन्मुख रहेका हुन्छन् । कविको काव्यरचनाको यो प्रयोजन दृष्ट प्रयोजनअन्तर्गत पर्दछ । काव्यरचनाबाट कविले कीर्ति प्राप्त गरेको हुन्छ। यो अदृष्ट प्रयोजन हो । कवि प्रीति यिनै दृष्ट प्रयोजन परिपूर्ति गर्दै यसै प्रयोजनका माध्यमबाट अदृष्ट प्रयोजन अर्थात् कीर्ति प्राप्तितर्फको यात्रामा लागेकी छन् । वास्तवमा यस स्मृतिकाव्यमा जीवनको अमूल्य पक्ष अभिव्यक्त भएको छ । यो कृति प्रीतिपुष्प भएर आएको छ, सधैँ फुलिरहोस् ।
२०८१÷१२÷२७
लोकन्थली, भक्तपुर
प्रतिक्रिया दिनुहोस्: