
काठमाडौं बैशाख २५, भारत–पाकिस्तान तनाव लम्बिँदै गएकाले समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क राख्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार सचेत रहेको बताएको हो ।
यो पनिः भारत–पाकिस्तान सिमामा अध्ययनरत नेपाली विद्यार्थी भन्छन्– रातभर ब्ल्याकआउट हुन्छ, साइरन बजिरहन्छ ।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवम् नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ,’ मन्त्रालयले भनेको छ ।
मन्त्रालयले वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुद इस्लामावादस्थित दूतावासको सम्पर्क व्यक्ति रहेको पनि जानकारी दिएको छ ।
पहलगाम क्षेत्रमा आतंकवादीहरूले अन्धाधुन्ध आक्रमण गर्दा एक नेपालीसहित २६ जना मारिएको थिए । भारतले त्यसैको बदलास्वरूप आतंकवादीहरू रहने इलाकामा आक्रमण गरिरहेको छ । पाकिस्तानले त्यसको जबाफ दिइरहँदा दुवैतर्फ तनाव बढेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार सदनमा सरकारको ध्यानाकर्षण गराउँदै पाकिस्तानमा आफ्नो सम्पर्कमा आएका ८० जना नेपाली विद्यार्थीहरूलाई यथाशीघ्र उद्धार गर्न आग्रह गरेको थियो ।
पाकिस्तानको सीमा क्षेत्रमा रहेका भारतका नेपाली विद्यार्थीहरू पनि उद्धारको प्रतीक्षामा छन् ।
प्रतिक्रिया दिनुहोस्: