तीनकुनेको घरमा आगो लगाउने एटीएफका कार्यकर्ताविरुद्ध कर्तव्य ज्यानको मुद्दा

२०८२ बैशाख १०

काठमाडौं बैशाख १०, गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
उनीहरूले आगो लगाउँदै गरेको भिडियोसहितका प्रमाण भेटिएपछि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरेर बयान लिने काम सुरु भएको हो ।
सोही घरमा पत्रकार सुरेश रजक पनि जलेको अवस्थामा मृत भेटिएका थिए ।
सोही घरमा आगजनी गरेको आरोपमा एटीएफ (अनवरत तत्पर फौज)का दुई कार्यकर्तालाई प्रहरीले ३१ चैतमा पक्राउ गरेको थियो ।
पक्राउ परेका रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाहीविरुद्ध कर्तव्य ज्यानको कसुरमा पनि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका एक अधिकृत बताउँछन् ।
उनीहरूले १५ चैतमा भएको प्रदर्शनमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगो लगाएका थिए ।
गौतम दुर्गा प्रसाईंको नेतृत्वको महाअभियाननै एटीएफका प्रवक्ता हुन् भने शाही सदस्य रहेको बताइएको छ । गौतम तीनकुनेमा भएको प्रदर्शनको बेला प्रसाईंको गाडीमा झुण्डिदै अघि बढेका थिए ।
शाहीले माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको देखिएको प्रहरीको भनाइ छ । अन्य ठाउँका तोडफोड र आगजनीमा पनि उनको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
यसका साथै राजावादी प्रदर्शनका जनकमाण्डर तोकिएका प्रसाईंविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
तीनकुने प्रदर्शनमा पक्राउ परेका मध्ये अहिले परिसरको हिरासतमा ६४ जना छन् ।
अहिलेसम्म पक्राउ परेका मध्ये ८५ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरुमध्ये २१ जनालाई भने हाजिरी जमानीम रिहा गरेर अनुसन्धान गरिएको छ । तर हाजिरी जमानीमा छाडिएकाहरुलाई मुद्दा भने चलाइने प्रहरीले बताएको छ ।
प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए ।
उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।
राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो ।
व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठूलो क्षति भयो । सवारी साधन जलाइए । प्रहरीको बन्दुक लुटियो ।

प्रतिक्रिया दिनुहोस्: