सरकारको औचित्य समाप्त भएको छ  : माओवादी केन्द्र

२०८२ बैशाख १०

बैशाख १० नेकपा (माओवादी केन्द्र)ले वर्तमान परिस्थिति र समसामयिक राजनीतिक परिवेशको सन्दर्भमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादीले समसामयिक परिस्थितिबारे सात बुँदामा धारणा सार्वजनिक गरेको हो । तीमध्ये चार बुँदामा सरकारको आलोचना उल्लेखित छ ।
माओवादीले सरकार प्राविधिक रूपमा अस्तित्वमा रहे पनि राजनीतिक रूपमा वैधानिकता गुमाइसकेको बताए ।
‘यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन। वर्तमान सत्तागठबन्धन अप्राकृक्तिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै अहिलेको दुई दलीय गठबन्धन सरकारले प्रचण्ड नेतृत्वको यसअघिको सरकारले गरेको भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र नभई सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गरेको आरोप लगाएको छ ।
’अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ । आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरुप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृँखला नै खडा गरेको छ । यो सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै विचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रिय हित विपरीत छन्,’ वज्ञप्तिमा भनिएको छ ।
माओवादीले शिक्षकहरू सडकमा भए पनि प्रधानमन्त्री उनीहरुको माग पूरा गर्नभन्दा उनीहरूलाई होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् ।
‘आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
माओवादीले लघुवित्त पीडित, सहकारी पीडितहरु, कर्मचारीहरु, चिकित्सकहरु लगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी उनीहरूका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्रले फागुन १२ गतेदेखि जारी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कपिलवस्तु पुगेको पनि जानकारी दिएको छ । अभियान दौरान हालसम्म १ करोड जनतासँग संवाद भएको माओवादीको दाबी छ ।
‘अभियानका क्रममा शहीद तथा बेपत्ता परिवारसँगको भेटघाट, सर्वपक्षीय अन्तरसंवाद, अन्तरक्रिया, कोणसभा, जनसभा लगायतका जनतासँग जोडिने कार्यक्रमहरू अभूतपूर्व रूपमा सफल भएका छन्,’ विज्ञप्तीमा भनिएको छ ।
अभियानका क्रममाः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका महत्वपूर्ण विषयहरुमा गहन अध्ययन, अनुसन्धान, अन्वेषण गरिएको माओवादीले जानकारी दिएको छ । किताबी दर्शन र जीवन दर्शनको बेजोड संयोजनले अभियान निकै प्रभावकारी भइरहेको छ ।
माओवादी केन्द्रले भारतको जम्मू–कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति हाम्रो पार्टी भत्र्सना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: